Tuesday, April 21, 2015

काठमाडौं संसारको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य

काठमाडौ, ११ चैत–
गत शुक्रबार सम्पन्न प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरको कार्यक्रममा सहभागी भएका अर्थमन्त्री डा.रामशरण महतले पनि काठमाडौं दक्षिण एशियाको उत्कृष्ट पर्यटकीय राजधानी भएको दाबी गर्दै थिए । ट्रिप एडभाइजरको सूचीले काठमाडौं दक्षिण एशियाको मात्र नभई विश्वकै पर्यटकीय केन्द्र भएको पुष्टी गरेको छ । पर्यटकले काठमाडौंलाई एतिहासिक स्थलहरु, पुराना मठ, मन्दिर, कला संस्कृतिले भरिपूर्ण चारैतिर अग्ला डाँडाले घेरिएको सुन्दर उपत्यकाका रुपमा चित्रण गरेका छन् । काठमाडौं सांस्कृतिक रुपमा पनि विश्वकै धनी शहर हो । यसैगरि, पुरानो शहर काठमाडौंलाई मन्दिरै मन्दिर भएको शहरका रुपमा पनि चिनिन्छ ।
ट्रिप एडभाइजरले विश्वसम्पदा सूचीमा परेका ठाउँहरुको अवलोकन, स्थानीय बजारमा पैदल यात्रा तथा नजिकका डाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न पाउनु यहाँको विशेषताका रुपमा पनि थप उल्लेख गरेको छ । काठमाडौंको स्वयम्भूनाथ, पशुपति, बौद्धनाथ, बसन्तपुर दरवार संरक्षण क्षेत्र, पाटन दरबार संरक्षण क्षेत्र र भक्तपुर दरबार संरक्षण क्षेत्र लगायतका विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको पदयात्रा भ्रमण निकै रोमाञ्चक हुने बताइएको छ ।
ट्रिप एडभाइजरले यहाँको हस्तकला तथा मुर्तिकलाको बारेमा पनि उत्तिकै बयान गरेको छ । यहाँको हस्तकला विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । काठमाडौंको मौसम समेत पर्यटकमैत्री रहेको  बताईएको छ ।  न चिसो, न तातो यहाँको जस्तो मौसम विश्वका विरलै शहरमा पाइने उसको दावी छ । काठमाडौं आसपासको क्षेत्रमा पदयात्रा, हाइकिङ, साइट सिन, क्यानोनिङ, रक क्लाइम्बिङ, माउन्टेन लाइट, प्याराग्लाइडिङ लगायतका गतिविधिमा रमाउन पाइने ट्रिप एडभाइजरले आफ्नो साइटमा राम्रोसँग वर्णन गरेको छ ।
ट्रिप एडभाइजरले छनोट गरेको उत्कृष्ट गन्तव्य एवं पर्यटकको पहिलो रोजाइमा मोराक्कोको मराकेच शहर पर्न सफल भएको छ । यसैगरि, २५औं उत्कृष्ट गन्तव्यमा अष्ट्रेलियाको राजधानी सिड्नी परेको छ । त्यसैगरि, एशियाका उत्कृष्ट गन्तव्यका रुपमा चिनिएको थाइल्यान्ड १८ औं नम्बरमा र हङकङ २३ औं नम्बरमा परेको छ ।

विश्वभर भ्रमण गरेका पर्यटकहरुको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गर्दछ । सो ट्रिप एडभाइजरका अनुसार विश्वका लाखौं पर्यटकले काठमाडौंलाई उत्कृष्ट गन्तव्यका रुपमा औंल्याउँदै भ्रमणका लागि सिफारिस समेत गरेका छन् । ऐतिहासिक, धार्मिक, सांस्कृति लगायत विभिन्न पक्षबाट अग्रस्थानमा रहेको काठमाडौंले पर्यटकको मन जित्न सफल भएको छ ।
– नेपालको राजधानी काठमाण्डौ संसारका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा परेको छ । प्रख्यात ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले सार्वजनिक गरेको विश्वभरका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौंलाई १९ औं नम्बरमा परेको हो ।

No comments:

Post a Comment