Saturday, March 3, 2012

चार महिनाअघि जहाजबाट हराएको पाङग्रा दिल्लीमा भेटियो, निगमको सामान हराउने काण्ड थप रहस्यमय

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,१८ फागुन
चार महिनाअघि नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा सञ्चालित बोइङ ७५७ नाइनएन एसीबी जहाजबाट हराएको पाङग्रा दिल्ली विमानस्थलमा फेला परेको छ । गत २२ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको करोडौ रुपैयाँ पर्ने जहाजको पाङग्रा भारतको दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनल कक्षमा त्यसै फालिएको बेवारिसे अवस्थामा फेला परेको निगमले जनाएको छ ।
निगमका प्रवक्ता एवं नायव महाप्रवन्धक राजुबहादुर केसीले दिल्लीमा भेटिएको पाङग्रा एयर इण्डियाको दिल्ली–काठमाडौ २१५ उडानबाट बिहीबार दिउसो ३ बजे काठमाडौ ल्याईपु¥एको बताए । उनले विगत चार महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको जहाजको पाङग्रा दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनल कक्षको पार्किङ नम्बर ३१ मा फेला परेको बताए । उनले एयर इन्डियाका अधिकारीले सो पाङग्राहरु फेला परेको सूचना गरे पछि निगमको दिल्लीस्थित एयरपोर्ट मेनेजर स्नेहा गौरले काठमाडौं स्थित केन्द्रीय कार्यालयमा फेला परेको जानकारी गराए लगत्तै सबै प्रक्रिया पुरा गरि भेट्टिएको पाङग्रा ल्याइपु¥याएको बताए ।
काठमाडौ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको पाङग्रा कसरी त्यहाँ पुग्यो र हराएको ४ महिनापछि फेला पर्नुको कारणवारे अहिलेसम्म जानकारी भइनसकेको बताउँदै उनले अब थप अनुसन्धान हुने बताए ।
निगमकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयका प्रमुख प्रदीप कार्कीले लामो समयदेखि निगमको जहाज पुग्ने सबै ठाउँमा खोज्दापनि फेला नपरेको पाङग्रा अहिले दिल्ली विमानस्थलमा बेवारीसे अवस्थामा भेटिनु थप रहस्यमय भएको बताए । उनले यसले निगमको जहाजबाट पटक पटक बहुमुल्य उपकरण हराएको काण्डलाई थप रहस्यमय बनाएको बताए । 
यसअघि गत २२ कात्तिकमा हराएको पाङग्रा मुलुकको भएभरका सबै संयन्त्र लगाएर खोजविन गर्दा पनि भेट्टाउन सकिएको थिएन । निगमका कार्यकारी अध्यक्ष मनरुप शाहीले भएभरका सम्बद्ध सबै निकायसँग स्पष्टिकरण लिई खोजी गर्दा पनि फेला पार्न मुस्कील भएको बताउँदै आएका थिए ।
पाङग्रा हराउनुअघि २०११ फेब्रुअरीमा क्वालाम्पुर–काठमाडौँ–हङकङ उडान गर्दा निगमको ९एनएसिए जहाजबाट फलावेय किटबक्स हराएको थियो । तीन फिट लम्बाई चौडाई र उचाई रहेको करिब २सय  केजीको सो किटबक्स विमानस्थलजस्तो सुरक्षित एवं संवेदनसिल स्थानबाट कसरी हरायो भन्ने विषयले मुलुक तताएको थियो । जहाजबाट ती सामान हराएका बेला कुन–कुन व्यक्तिहरु काममा थिए उनीहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा सबैले चासो दिएका  थिए । सार्वजनिक लेखा समितिले निगमको लापर्वाहीका कारण हराएको पm्लाईवेय किटबक्स, पाङग्रा र ल्यान्डिङ गेयर कहाँ कस्तो अवस्थामा रहेका छन्, त्यसका  दोषीहरु कहाँ कस्तो अवस्थामा छन् भन्ने विषयमा जानकारी दिन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । पाङग्रापछि निगमभित्र मुसा पसेको कान्डले विमानस्थलजस्तो सुरक्षित एवं संवेदनसिल स्थानबाट कसरी जहाजबाटै पाङग्रा लगायतका महुमुल्य सामान हरायो भन्ने विषयले निकै चर्चा पाएको थियो ।
२०६७ साल फागुनको पहिलो साता निगमको अन्तर्राष्ट्रिय उडान भर्ने एक जहाजबाट ४ करोड ५० लाख रुपैयाँबराबरको फ्लाई अवे किटबक्स र पाङग्रा लगायतका सामान एकपछि अर्काे गर्दै हराउने क्रमले तीव्रता पाएपछि सत्य–तथ्य पत्ता लगाई कारबाहीका लागि सिफारिस गर्न महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटीको संयोजकत्वमा सरकारले गत १८ मंसिरमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
सो समितिलाई फ्लाई अवे किटबक्स, पाङग्रा र ल्यान्डिङ गेयर हराएको, मुसा पसेको र नक्कली कर्मचारी नियुक्तिलगायतका विषयमा छानबिन गर्नसमेत जिम्मेवारी दिइएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक कमलसिंह बम, हवाईविज्ञ एवं माउन्टेन होलिकोप्टरका कुमारप्रसाद चालिसे र पर्यटन मन्त्रालयका उपसचिव हरि खड्का सदस्य रहेको सो समितिलाई छानबिन गरी प्रतिवेदन तयार गर्न १५ दिनको समय दिएकोमा उसले ५१ दिनपछि गत १५ माघमा निगमको सामान चोरी कान्डमा लोडरदेखि निर्देशकसम्म २६ जना दोषी रहेको ठहर गर्दै कारबाहीकालागि पर्यटन मन्त्रालयमा सिफारिस गरेको थियो ।
चोरीमा संलग्न २६ जनाको नाम किटान गरि सो समितिले सरकारलाई बुझाएको ७४ पृष्ठको प्रतिवेदनमा दिल्ली विमानस्थलका प्रवन्धकको नाम भने समेटिएको थिएन । अहिले जहाजको पाङग्रा भेटिएपछि अब समितिले बुझाएको प्रतिवेदनमाथी नै अम्भिर प्रश्न उब्जिएको छ ।

No comments:

Post a Comment