Friday, March 30, 2012

काठमाडौंमा मेट्रो रेल


काठमाडौं,१७ चैत- मेट्रो रेल चढेर सातदोबाटोबाट सहिदगेट हुँदै नारायणगोपाल चोक पुग्नु अहिलेलाई सपनैजस्तो लाग्ला तर केही वर्षभित्रै राजधानीमा यातायातको यो अत्याधुनिक साधन आइपुग्यो भने अचम्म मान्नु पर्दैन।
सुस्तै गतिमा सही, नेपालको रेल विभागले काठमाडौंमा मेट्रो योजनाको काम अघि बढाउँदै छ।
जमलमा मुख्य स्टेसन रहने प्रस्तावित मेट्रोमा पाँच लाइन हुनेछन् जसको जम्मा दुरी ६६.१ किलोमिटर हुनेछ। प्रतिघन्टा १ सय ६० किलोमिटर दरले हुँइकिने मेट्रोमा सातदोबाटोबाट नारायणगोपाल चोकको झन्डै १० किलोमिटर दुरी छिचोल्न मुस्किलले १५ मिनेट लाग्नेछ। उपत्यकाका पाँच मेट्रो लाइनमा ३२ स्टेसन रहनेछन्। पहिलो लाइन १८ स्टेसनको हुनेछ जुन कलंकीबाट महाराजगन्ज, सातदोबाटो हुँदै कलंकीमै टुंगिनेछ। दोस्रो लाइन पाँच स्टेसनसहित बल्खु हुँदै चाबहिलसम्म पुग्नेछ। सात स्टेसन रहने तेस्रो लाइन कोटेश्वरबाट जमल हुँदै गोंगबु पुग्नेछ।
नौ स्टेसनसहितको चौथो लाइन सातदोबाटोबाट सहिदगेट, नारायणहिटी हुँदै नारायणगोपाल चोक पुग्नेछ। पाँचौं लाइन छ स्टेसनको हुनेछ जुन कलंकीबाट कालिमाटी, डिल्लीबजार हुँदै सिनामंगल पुग्ने छ। प्रतिवेदनअनुसार यी सबै रुटको ट्रान्जिट प्वाइन्ट कलंकी, सहिदगेट, जमल, चाबहिल, तीनकुने, नारायणगोपाल चोक, सिनामंगल, बल्खु लगायत रहनेछन्।
सरकारले काठमाडौं उपत्यकामा निर्माणमा गरिने 'मेट्रो रेल' को प्रारम्भिक नक्सा अनुमोदन गर्दै पूर्ण सम्भाव्यता अध्ययन अघि बढाउन स्वीकृति दिएको छ।
उपत्यकाको बढ्दो सवारी चाप कम गर्न एकैचोटि धेरै यात्रु ओहोरदोहोर गर्न मिल्ने (मास र्‍यापिड ट्रान्जिट) मेट्रो रेल निर्माण प्रक्रिया सुरु भएको हो। करिब दुई महिना अध्ययन गरेर तयार पारिएको नक्सा भौतिक योजना तथा निर्माण मन्त्रालयले बिहीबार सार्वजनिक गर्‍यो। कोरियाको चुङसुङ इन्जिनियरिङ, कोरिया रेलवे नेटवर्क अथोरिटी तथा नेपालका तर्फबाट इएमआइसी तथा बिडिए नेपालले परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो। अध्ययनकर्ताहरूले प्रारम्भिक नक्साबमोजिम आउँदो डिसेम्बरसम्म पूर्ण सम्भाव्यता प्रतिवेदन बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ।
'मेट्रो रेल निर्माण गर्न विभिन्न निर्माणकर्ताहरू इच्छुक छन्, त्यसैले विस्तृत अध्ययनमा जाने सोच बनाएका छौं,' भौतिक योजना तथा निर्माण सचिव तुलसीप्रसाद सिटौलाले बिहीबार पत्रकार सम्मेलनमा भने, 'त्यसपछि मात्र यो परियोजना कसरी अगाडि बढाउन सकिन्छ भन्ने तय हुन्छ।'
'यो प्रारम्भिक ढाँचा मात्र हो, पूर्ण सम्भाव्यता अध्ययनपछि यसमा धेरै फेरबदल हुनसक्छ,' सचिव सिटौलाले भने। यसको निर्माण बजेट लगायत विषयमा विभिन्न निर्माणकर्ता एजेन्सीसँग छलफल चलिरहेको उनले बताए।
विकसित सहरहरूमा जस्तो काठमाडौं उपत्यकामा जमिनमुनि मेट्रो लाइन बनाउँदा महँगो पर्ने हुँदा अबको विस्तृत अध्ययनमा जमिन माथिबाट लग्नेबारे अध्ययन गर्न उनले सुझाएका छन्।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० लाख जनसंख्या भएको ठाउँमा एउटा 'मास ट्राजिन्ट'को व्यवस्था गरिनुपर्नेमा काठमाडौं उपत्यकामा १७ लाख जनसंख्या पुगिसक्दा पनि हुन नसकेको उनले औंल्याए।
भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले उपत्यकाको बढ्दो जनसंख्यामा सडक विस्तारबाट मात्र यातायात सहज गराउन नसकिने बताए। 'मेट्रो रेलजस्तो मास ट्रान्जिट परियोजनालाई विशेष महŒव दिनु जरुरी छ,' उनले भने।
नेपालले सन् २००६ मा ट्रान्स एसियन हाइवेमा हस्ताक्षर गरेस"गै नेपालको रेलवे भारत र चीन जोड्ने माध्यम बन्नसक्ने उल्लेख गर्दै त्रिपाठीले भने, 'नेपालले भित्री भागमा मात्र नभएर सहरीकरणकै लागि पनि मेट्रो रेल लगायत आन्तरिक रेल विकास गर्नु जरुरी छ।'
यसैबीच रेल विभागले बिहीबारै मेची-महाकाली रेलवेमा पर्ने सिमरा-वीरगन्ज लिंकअन्तर्गत सिमरा-बर्दिवास सेक्सनको १ सय २ किलोमिटर लामो रेल मार्गको विस्तृत अध्ययन र विद्युतीय रेलमार्गको डिजाइन सार्वजनिक गरेको छ।
एक सय ६० किलोमिटर प्रतिघन्टा दरले कुद्नसक्ने उक्त रेल सिमरा, मनहर्वा, चोचा, मंगलपुर, नवलपुर, बेलगाछी हुँदै बर्दिवाससम्म चल्ने प्रतिवेदनले देखाएको छ।

No comments:

Post a Comment