Thursday, June 3, 2021

 सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोरोना भए उपचार खर्च पाइने 

मृतकका आश्रित परिवारलाई विविध सुविधा

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं


योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना मात्र नभएर अन्य विरामीले पनि औषधि उपचार खर्च पाउने कोषले जनाएको छ । यसैगरी, सूचीकृत श्रमिकको कोरोनाकै कारण मृत्यु भए मृतकका आश्रित परिवारले सुविधा पाउने कोषले जनाएको छ । 

कोषका प्रवक्ता विवेक पन्थीले यस्तो जानकारी गराएका हुन् । उनले कोरोना मात्र नभएर अन्य कारण मृत्यु वरण गरेका श्रमिकको आश्रित परिवारले यस्तो सुविधा पाउने सुविधा सामाजिक सुरक्षा कोषले उपलब्ध गराउँदै आएको बताए । 

कोषले अघि सारेका योजनामा पर्ने सबै सेवा सुविधा सूचीकृत कोरोना संक्रमित श्रमिकले पाउने भएकाले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने बताउँदै कोषका प्रवक्ता पन्थीले भने, ‘कोरोना कै कारण श्रमिकको मृत्यु भएमा मृतकको परिवार सुविधा योजनाअन्तर्गतको सुविधा उसको आश्रित परिवारले पाउनेछ ।’

त्यसमा कोषले आश्रित परिवार योजनाअन्तर्गत समावेश गरेका विविध सुविधा उपलब्ध हुने उनले जानकारी दिए । कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । कोरोना संक्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइराखेको कोषले जनाएको छ ।

सूचीकृत भई नियमित योगदान गरिरहेका श्रमिकले कोरोना भएर घरैमा उपचार गराएको अवस्थामा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी गर्न पाउँछन् । अस्पताल भर्ना भई उपचार गरे वार्षिक १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने कोषले जनाएको छ । 

यस्तोे सुविधा पाउन श्रमिकले कोषमा योगदान गर्न सुरु गरेको तीन महिना पूरा भएको हुनुपर्ने प्रावधान छ । यसैगरी, यो सुविधा योगदान गर्न छाडेको तीन महिना नकटेसम्म लागू हुनेछ । कोरोना संक्रमणकै कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भए खाइपाइ आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरण स्वरूप प्रदान गरिनेछ । मृतक योगदानकर्ताका छोराछोरीको हकमा उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिक वृत्ति भरणका रूपमा दिने प्रावधान रहेको छ । यदि एकभन्दा बढी सन्तान भएमा सोही रकम आश्रित परिवारलाई टाउको गनेर दामासाहीले बाँड्ने व्यवस्था छ ।

यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने यस्तो उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिक वृत्तिभरणबापतको सुविधा प्राप्त गर्ने कोषले जनाएको छ ।

यदि मृतक योगदानकर्ता अविवाहित भए उसको आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्य सरकारी क्षेत्रबाट माथि कोषबाट पाउनेभन्दा बढी सुविधा पाउने भए यो सुविधा नपाउने कोषले स्पष्ट पारेको छ । 

यसैगरी, मृतक योगदानकर्ताको हकवालाले अन्तिम संस्कार (काजकिरिया) खर्चबापत २५ हजार रुपैयाँ पाउने व्यवस्था छ । मृतकका हकवालाले यस्तो रकम एकमुष्ठ पाउने कोषले जनाएको छ ।

यसैगरी, कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएको खण्डमा भने उसको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल योगदान रकम एकमुष्ठ प्रदान गरिनेछ । यस्तो सुविधा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को दोस्रो संसोधनमा पनि स्पष्ट उल्लेख गरिएको छ । सोही कार्यविधिअनुसार कोषले यस्तो सुविधा दिने सो कोषले जनाएको छ । 

‘२०७५ सालको ११ मंसिरबाट राष्ट्रिय अभियानको रूपमा सुरू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्र्तगतको सामाजिक सुरक्षा कोषमा अहिलेसम्म कुल १३ हजार ७ सय ८३ वटा रोजगारदाता सूचीकृत भएका छन् । सो संख्या मुलुकभरका सातवटै प्रदेशमा रहेका विभिन्न संस्था र प्रतिष्ठान भएको कोषले जनाएको छ । यसैगरी, हालसम्म  मुलुकभर गरी कुल २ लाख ३ सय ७६ जना योगदानकर्ता श्रमिक सूचीकृत छन् । आवश्यक सबै प्रक्रिया पु¥याएर सूचीकृत भएकामध्ये हालसम्म २ हजार १ सय ६ जना योगदानकर्ता श्रमिक लाभान्वित भएका छन् । 

हालसम्म कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायत विभिन्न सेवा सुविधाअन्तर्गत कुल ७ करोड २९ लाख रुपैयाँ दबी भुक्तानी गरिसकेको बताएको छ । अहिलेसम्म कुल ५ अर्ब ३१ करोड रुपैयाँ योगदान रकम जम्मा भएको मध्ये ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । 

सामाजिक सुरक्षा योजनालाई थप आकर्षित बनाउन अघि बढेको सरकारले यस्तो सेवासँगै हाल योगदानकर्तालाई विभिन्न सुविधा थप गरेको छ । भर्खरै मन्त्रिपरिषद्को बैठकले संशोधित सामाजिक सुरक्षा कोष लगानी कार्यविधि स्वीकृत गरेपछि योगदानकर्ताले पाउने सुविधा अझै थपिएको छ । संशोधित कार्यविधिअनुसार अहिले योगदानकर्ताले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको भन्दा अझ राम्रो विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कर्जा लिन पाउनेछन् । यस्तो सेवामा सहभागी हुने योगदानकर्ताले कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने कोषले जनाएको छ । 

हालसम्म कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायत विभिन्न सेवा सुविधाअन्तर्गत कुल ७ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ 


No comments:

Post a Comment