Thursday, June 3, 2021

 नियमित अन्तर्राष्ट्रिय उडान खुल्यो  ,

बिहीबारदेखि उडान थाल्न पाँच वायुसेवालाई स्वीकृति 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं 


सरकारले गत एकमहिनादेखि बन्द गराएको अन्तर्राष्ट्रिय नियमित उडान आगामी बिहीबारबाट पुनः सुरुचारु गर्ने भएको छ । सरकारले यस अघि १३ जेठमै तीन मुलुकमा अन्तर्राष्ट्रिय नियमित उडान मंगलबारदेखि नै खुलाउने निर्णय गरेपनि कार्यान्यन भने ढिलाइ गरेको  थियो । हाल भारतमा नियमित उडान भइरहेकोले निषेधाज्ञापछि दुई मुलुकमा मात्रै नियमित उडान खुलेको हो । 

सरकारले निर्णय कार्यान्वयनमा ढिलाइ गरेकै कारण हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्तिमा २३ जेठबाट मात्रै नियमित उडान खुला गर्ने भनेपनि सम्बन्धित वायुसेवासँग मागेको तालिका अनुसार त्यो भन्दा अगाडि नै इन्छुक हुँदा आगामी बिहीबारदेखि नै सुरु हुने भएको छ । सरकारको निर्णय अनुसार प्राधिकरणले यहि जुन एक महिनालाई लागू हुने गरी तीन वायुसेवाको उडान तालिका स्वीकृत गर्दै नियमित उडान खुलाउने निर्णय गरेको हो । यस्तो उडान अनुसार बिहीबारबाट टर्की र आगामी २४ जेठबाट कतारमा नियमित उडान सुरु हुने छ ।

प्राधिकरणका अनुसार टर्कीको वायुसेवा कम्पनी टर्किस एयरले बिहीबारदेखि उडान भर्नेगरी तालिका स्वीकृत गराएको छ । प्राधिकरणबाट उडान तालिका स्वीकृतसँगै टर्किस एयर बिहीबार विहान ११ः१५ बजे काठमाडौं आउने र सोही दिने बेलुका ९ः५ बजे फर्किने छ । नेपालबाट कतारको लागि नियमित उडान नेपाल वायुसेवा निगमले आगामी सोमबार गर्ने छ । आगामी सोमबार निगमले राती १० बजे उडान भर्ने र भोलिपल्ट विहान ९ बजे काठमाडौं फर्कने तालिका स्वीकृत गराएको छ । यसैगरि, कतार एयरवेजले पनि सोमबार विहान ९ः१० बजे काठमाडौं आइपुग्ने र सोही दिन राती ११ः०५ मा फर्कने गरी उडान तालिका स्वीकृत गराएको छ ।

सरकारले शनिबार र आइतबार बाहेक सातामा ५ दिन आउने र जानेगरी दुईटा अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान भर्न स्वीकृति दिएको छ । टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् । नयाँ तालिका अनुसार अब हरेक बिहिबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ ।

दोहा हुँदै मध्यपूर्वी मुलुक लगायत अन्य मुलुकहरुमा जानको लागि सोमबार बिहान कतारले र राति निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने छ । अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान १८ जेठ १८ देखि आगामी १६ असारसम्मकालागि खुला गरिएको छ । थप नियमित उडानको थपघट भने महामारीको अवस्थालाई हेरेर विस्तारै निणर्य हुने प्राधिकरणले जनाएको छ ।

नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा एयर इन्डियाको भने सातामा एकएक वटा उडान नियमित नै रहेको छ । नेपाल र भारतबीच भएको एयर बबल ट्रान्सपोर्ट एग्रिमेन्ट अनुसार भएको यस्तो उडान विगत एक महिनादेखिको निषेधाज्ञा र अरु अन्तर्राष्ट्रिय उडान बन्दका बीचमा पनि सातामा एकएक उडान सुचारु छ । यस्तो उडान वापत निगमले हरेक बुधबार र एयर इन्डियाले हरेक शुक्रबार उडान गरिरहेको छ । वायुसेवा निगमले भारतमा गर्ने उडान बुधबार दिनको ३ः४५ मा जाने र सोही दिन राती ११ः०५ मा फर्कने गरेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सरकारले उडान खुला गरेको जानकारी दिएपछि सम्बन्धित मुलुकका वायुसेवाबाट उडान तालिका माग गरेको बताए । सो तालिका अनुसार टर्कीस एयर बिहीबारदेखि नै आउन तयार भएकाले सोही दिनदेखि नियमित उडान सुरु हुने उनले जानकारी दिए । प्राधिरणले मंगलबार एक महिनालाई लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको र सोही अनुसार हालसम्म उडान गर्न इच्छुक वायुसेवाको तालिका पनि सार्वजनिक गरेको उनले जानकारी दिए । 

सरकारले गत १३ जेठमा गरकोे निर्णय अनुसार चीनको पनि उडान खोल्ने निर्णय भएको थियो । सो निर्णय अनुसार चिनियाँ वायुसेवासँग उडान तालिका माग गरेको भएपनि उसले हालसम्म तालिका पेश नगरेकोले चीन गन्तव्यमा हुने उडान अझै अन्योल नै छ ।चीनले उडान भर्न इच्छुक हुनुपर्ने र सोही अनुसार तालिका पेश गर्नुपर्ने भएपनि हालसम्म आइनपुगेको प्राधिकरणले जनाएको छ । यि बाहेक अन्य मुलुकको हकमा भने सरकारले गर्ने निर्णयपछि मात्रै प्राधिकरणले त्यसलाई कार्यान्वयन गराउने बताएको छ ।

नियमित उडान नभएका मुलुकमा आकस्मिक कार्गो उडान भने हुने छ । चार्टर्ड उडान प्राधिकरणको अनुमतिमा हुने छ भने नियमित उडान भने सरकारी निर्णयबाट मात्रै हुने छ । यसअघि प्राधिकरणले २३ जेठदेखि मात्रै उडान भर्ने भनेपछि सम्बन्धित वायुसेवाको इच्छामा छिटो उडान सञ्चालन गर्न सकिएको बताईएको छ । 

सरकारले चीनको लागि पनि उडान अनुमति दिएपनि चीनका कुनै एयरलाइन्सले उडानमा रुचि देखाएका छैनन् । चीनतर्फ कुनै वायुसेवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने प्राधिकरणले जनाएको छ । यसैगरि, सरकारले सोमबार विदेशबाट आउने नेपाली र विदेशी नागरिकको हकमा मापदण्ड सार्वजनिक गरेको छ । जसअनुसार उनीहरु अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । नियम नमान्नेलाई ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश’ मा उल्लेख भएको नियम अनुसार जरिवाना तथा संजाय हुने भनिएको छ ।


No comments:

Post a Comment