Thursday, June 3, 2021

 हवाई यात्रुकालागि क्वारेन्टिन होटल तोकियो ,

७ वटा पाँचतारेसहित ७८ होटल सूचीकरणमा 

मधुजंग पाण्डे÷राजधानी 

काठमाडौं


विदेशबाट आएका हवाई यात्रुहरुकालागि सरकारले ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नफैलियोस भन्ने उद्देश्यले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने हवाई यात्रुकालागि क्वारेन्टिन होटल तोकेको हो । 

सरकारले गत एकमहिनादेखि बन्द गराएको अन्तर्राष्ट्रिय नियमित उडान आगामी बिहीबारबाट पुनः सुरुचारु गर्ने  निणर्य गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पर्यटन विभागले क्वारेन्टिन बस्नेहरुकालागि पाँचतारेदेखि विभिन्न स्तरका होटलहरुको नाम सूची सहित सार्वजनिक गरि न्यूनतम मापदण्ड तोकेको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले  हाल न्युनतम कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा रुचिकरणमा राखेको बताए ।  आगामी ३१ जेठसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञा जारि राखेको सरकारले मलेसिया र खाडी राष्ट्रमा वैदेशिक रोजगारीमा गएर स्वदेश फर्कने नेपाली कामदारलाई भने ५ दिन र अन्य अवस्थामा फर्कने हवाई यात्रुलाई अनिवार्य  १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने मापदण्ड बनाएको छ ।

सोही मापदण्ड अनुसार पर्यटन विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई हवाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका ८ होटलमा अन्य ७० वटा नयाँ थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो । 

अहिले सरकारले बाक्लो बस्ती भएका क्षेत्र ठमेल, सुन्धारा, कलंकीका होटलहरुलाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ । सरकारले  नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्दै पहिलो चरणमा काठमाडौबाट टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याउने निणर्य गरिसकेको छ । 

विभागले सबैभन्दा बढी पैसा तिरेर बस्नेहरुकालागि काठमाडौंको सांग्रिला, होटल, ¥याडिसन होटल , याक एण्ड यती होटल , हयात रिजेन्सी होटल , सोल्टी होटल , अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई क्वारेन्टिन तोकेको छ । हाल यी होटल सञ्चालकहरुले २५ भन्दा बढी कोठा क्वारेन्टिन बनाउन सहमत भएका छन् । 

यसैगरि, चारतारे स्तरका होटलमा बस्न चाँहनेहरुकालागि  शंकर होटल र होटल हिमालय समेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । त्यसैगरि, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा हवाई यात्रुले क्वारेन्टिन बस्न पाउने छन् ।

यी होटलहरु बाहेक अन्य पर्यटकीयस्तरका ५१ होटल र दुई रिसोर्टलाई पनि सरकारले होटल क्वारेन्टिन सूचीमा समावेश गरेको छ । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्टलाई समावेश गरिएको विभागले जनाएको छ । त्यसैगरि, पर्यटकस्तरीय होटलमा धुलिखेल लज रिसोर्टलाई पनि सूचिमा राखिएको छ ।

क्वारेन्टिन होटलको रुपमा बुधबार सूचीकृत विभिन्न होटलहरु मध्ये तारे होटलहरुले आफैं शुल्क निर्धारण गर्ने छन भने अन्यहोटलहरुमा बस्नेहरुकालागि यसअघि नै प्रतिव्यक्ति बढीमा ३ हजार रुपैयाँ शुल्क तोकिएको विभागले जनाएको छ । विभागका अनुसार क्वारेन्टिन बसेवापत लिने शुल्क अहिलेसम्म सरकारले तारे होटलकालागि तोकेको छैन । तारे होटल स्वयंले मूल्य तोक्न सक्ने भनिएको छ । तर, पर्यटकीयस्तरका अन्य होटलहरुको भने दैनिक शुल्क प्रति व्यक्ति ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । पर्यटकीयस्तरका होटलहरुमा बस्ने हवाई यात्रुले सोही शुल्कभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत समावेश गरिएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक तामाङका अनुसार यसरी क्वारेन्टिन तोकिएको होटलहरुमा अनिर्वाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्ने । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने शर्त सहित स्वीकृति दिईएको हो । 

यस्तो होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्ने । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

यसैगरि, क्वारेन्टिन तोकिएका होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्ने । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश–२०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी कडा नियम बनाइएको विभागले जनाएको छ । 

क्वारेन्टिन होटलमा आउनेहरुकालागि सहज हवाई यात्राको सेवा दिन  नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै विभिन्न ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान भर्न स्वीकृति दिएको छ । 

तारे होटलको शुल्क आपसी सहमतिमा 

तारे होटलको शुल्क भने सम्बन्धित होटलले आपसी सहमतिमा तोक्ने होटल संघ नेपाल (हान) ले जनाएको छ । अन्य पर्यटकीयस्तरका होटलमा मजदुरीबाट फर्केका नेपाली राख्न प्रयोग गरिने र तारे होटल भने विदेशीलाई राख्न प्रयोग हुने हानले जनाएको छ । पैसा तिर्न सक्छु भन्ने नेपाली पनि स्वच्छाले पाँचतारेसम्म पनि बस्न पाउने छन । खाडी मुलुकबाट आउने नेपालीले महंगो शुल्क तिर्न सक्दैनन भने उनीहरूलाई सस्तो होटलमै राखिने हानको भनाइ छ । पैसा तिर्न सक्ने र तीनतारे भन्दा माथि बस्न चाहने नेपाली पनि रहेको र उनीहरूबाट बुकिङकालागि धमाधम माग आएको हानले जनाएको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले विदेशी नागरिकलाई तीनतारे माथि राख्ने र स्वदेशीलाई भने पर्यटकीयस्तरमा राख्ने गरी क्वारेन्टिन होटल तय भएको बताए । यस अघि भारतबाट एयर बबलमा आउनेले पनि महंगा होटल खोजेकाले अहिले नयाँ होटलहरू थप गरिएको जानकारी गराउँदै शाहले अन्य होटलले भने प्याकेज दिएका र हाल होटल खाली भएको समयमा महंगो नलिइ आकर्षक प्याकेजमा सस्तो सेवा नै दिने दावी गरे । 


No comments:

Post a Comment