Wednesday, June 23, 2021

 वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

महासंघलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता

,
facebook-white sharing button Share
twitter-white sharing button Tweet
pinterest-white sharing button Pin
sharethis-white sharing button Share

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा सामान्य किसान परिवारमा जन्मिएका उनले अहिलेको यो सफलताका लागि पनि निकै आरोह अवरोह पार गर्नुपरेको थियो । 


उनको बाल्यकाल निकै पीडादायी र दुःखद थियो । बाल्यकालमै बाबुको मृत्यु भएपछि आमा र भाइबहिनीलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता उनमा थपिएको थियो । १६ वर्षमै आफ्नो खुसीमाथि पारिवारिक ग्रहण लागेपछि उनले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिबद्वताकै बलमा जिन्दगीमा पूर्णमास ल्याए ।

सोही बेलादेखि निरन्तर सफलताको शिखरतर्फ अघि बढेका उनले आफूलाई नेपालको सफल व्यवसायीको सूचीमा पार्न निकै मेहनत गरेका थिए । जीवनमा सोचेजस्तो केही नहुँदो रहेछ भन्ने बुझेका ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएपछि भने, ‘योजनाबद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भने चाहिँ नसोचिएको सफलता पनि हात लाग्दो रहेछ ।’


महासंघको वरिष्ठ उपाध्यक्ष जित्नका लागि मिलेको यो सफलतासँगै अहिले आईएमई ग्रुपको अध्यक्षको जिम्मेवारीसहित काठमाडौं पानीपोखरीस्थित आफ्नो कार्यालयमा व्यस्त दैनिकी गुजारिरहेका ढकालले जीवनमा योजनाबद्ध सोच र आँटका साथ निरन्तर मेहनत गरिरहे । अहिले मुलुककै प्रतिष्ठित व्यावसायिक घरानाका रूपमा परिचित ढकालको केही साइनो अधिकांश नेपालीका घरपरिवारसँग पनि जोडिएको छ । त्यो साइनो हो आईएमई रेमिट्यान्स । हाल उनको यस रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।

आईएमई ग्रुपका संस्थापक अध्यक्ष ढकाल नेउवा महासंघमा सदस्य, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन् । आइतबारदेखि नेतृत्व सम्हालेका शेखर गोल्छापछि आगामी २०औं अध्यक्ष ढकाल नै हुनेछन् ।

निरन्तर सफलताको शिखर चुमिरहेका ढकाल बैंकिङ, अटोमोबाइल्स र होटल एवं पर्यटन व्यवसाय, चन्द्रागिरी हिल्स लिमिटेडलगायत विभिन्न कम्पनी चलाउँदै देशको उद्योग वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि लबिङ पनि गर्दै आएका सफल व्यवसायी हुन् ।

घर परिवारको खुसीका लागि अघि बढेका व्यक्ति
निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्, चन्द्रप्रसाद ढकाल । उनको बाल्यकाल आम गाउँले बालबालिकाको जस्तै रह्यो । दैनिकजसो धुलोहिलो, दाउरा–घाँस, मेलापात जीविकोपार्जनको माध्यम थियो । त्यस्तो परिस्थितिमा घरपरिवारको मूल खाँबो टुटेपछि १६ वर्षका जेठो छोराले काँध थाप्नुपर्ने भयो ।

त्यो बेला उनी कर्तव्य पूरा गर्ने अठोटबाहेक अरू केही गर्न सक्दैनथे । उनी त्यो विकल्परहित दायित्व पूरा गर्ने कोसिसमा लागे । बुबाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए । तर विचलित भएनन् । निरन्तर परिश्रम गरिरहे । त्यसबेला एक मात्र ध्याउन्न थियो, आमा र भाइबहिनीलाई अभावबाट टाढा राख्नू । उनको त्यो मेहनत अहिले राष्ट्रिय समृद्धिका अनेक प्रयासमा जोडिन आइपुगेको छ ।

‘म यहाँ आइपुग्न हिँडेको थिइनँ । त्यतिबेला मेरा भाइबहिनीलाई कसरी पढाउने, समस्याबाट कसरी जोगाउने भन्नेमा केन्द्रित थिएँ,’ विगतका दिन सम्झँदै ढकालले भने, ‘मेरो जम्माजम्मी एउटै उद्देश्य थियो, आमा र भाइबहिनीलाई कसरी खुसीले पाल्ने ? त्यसैका लागि म काठमाडौंतिर हान्निएको थिएँ ।’

त्यसबेला काठमाडौंमा कमाइका लागि कामसँगै पढाइलाई अघि बढाउन खोज्दा निकै कठिनाइ हुन्थ्यो । काठमाडांै आएपछि ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा पहिलो जागिर खाए । सो समय घरमा खर्च पठाउँदै पढाइलाई पनि जसोतसो अघि बढाए । हातमा एसएलसी पास भएको मार्कसिट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाले ।

वाणिज्य बैंकमा करिब चार वर्ष काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने आँट गरे । २०४८ सालतिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसायमा हात हाले । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसकेका थिए । व्यवसाय विस्तारको क्रममा त्यतिबेला करिब १२-१३ लाख रुपैयाँ आवश्यक परेपछि उनले आफू कार्यरत बैंकमै ऋणका लागि आवेदन दिए ।

बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले उनलाई ऋण नदिने भए । जागिर खाइरहेका व्यक्तिलाई यस्तो ऋण दिन नसक्ने भन्दै ती हाकिमले ऋण दिन नमानेपछि उनले आफ्नो हाकिमकै अगाडि राजीनामा लेखेर सोही बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरे । ढकाल अहिले ग्लोबल आईएमई बैंकका अध्यक्ष छन् । हाल त्यो क्षण सम्झँदा ढकाललाई आफूले सही निर्णय गरेको भन्ने लाग्छ । त्यो बेलाको निर्णय आफ्ना लागि निकै जोखिमयुक्त थियो भन्दै उनले अहिलेको यो सफलतामा त्यो निर्णय एकदमै राम्रो गरेको बताए ।

अहिले नेपाल भित्रिने वार्षिक २ खर्ब बढी रेमिट्यान्समध्ये करिब ३० प्रतिशत आईएमईबाट आउँछ

त्यतिबेला कार्गो व्यवसायमा उनले भाइ रामु ढकाललाई साथ लिएका थिए । त्यसपछि ढकाल विदेशमा श्रम बेच्न पनि गए । ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाको रेमिट्यान्स भिœयाउने एउटा प्रमुख कम्पनी आईएमई रेमिट्यान्सका सञ्चालक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा थिए ।

उनले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहन्थे, भिसा पनि पाए । एक जना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उनले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाए ।

उनले १० महिना जापानको एउटा छापाखानामा काम गरे । त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा उनले केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसकेका थिए । अब रामु जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किए । त्यतिबेला नेपालीले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुन्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो र आईएमई रेमिट्यान्स कम्पनी खोले ।

आईएमईको व्यावसायिक सफलता
सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुन्डीकै कारण कामदार ठगिने घटना बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो । ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही वर्ष । उनीसँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो ।

त्यो एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो । उनले त्यही अनुभवका आधारमा ‘इन्टरनेसनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । त्यतिबेला डा. तिलक रावल गभर्नर रहेको नेपाल राष्ट्र बैंकले ढकालको प्रस्ताव सहजै स्वीकार ग¥यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो ।

त्यतिबेला मलेसियाको केन्द्रीय बैंकबाट पनि स्वीकृति लिएर मलेसियाका ४–५ ठाउँबाट सेवा सुरु गरेका ढकालले नेपालमा काठमाडौं, पोखरालगायतका मुख्य सहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरेका थिए । सो समय विदेशमा रहेका नेपालीलाई आईएमईबारे बुझाउन निकै मेहनत गर्नुपरेको उनी बताउँछन् ।

सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ‘ब्रान्डिङ’ ग¥यो । विदेश जाने नेपालीको संख्यासँगै आईएमईको सेवा र विश्वसनीयता विस्तार भएको उनको भनाइ छ । सो समय मलेसिया सरकारले आईएमईलाई यति विश्वास ग¥यो कि नेपाल पैसा पठाउन पाँच वर्षसम्म अरू कम्पनीलाई लाइसेन्स नै दिएन । त्यही कारण पनि मलेसियामा व्यवसाय फैलाउन आईएमई बाध्य भएको उनले जानकारी गराए ।

अहिले उनको आईएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने उत्कृष्ट कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायवाची नै बनेको कुनै बैंक या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले ‘पैसा आईएमई गरिदिनुस्’ भन्ने गरेको अवस्थाले देखाउँछ । नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैंक पुग्नेले समेत ‘आईएमईको लाइसेन्स पाऊँ’ भन्ने अवस्था बनेको ढकाल बताउँछन् ।

यसरी ढकाल दाजुभाइको अगुवाइमा नेपालमा मनी ट्रान्सफर विश्वासिलो व्यवसाय त बन्यो नै अनौपचारिक माध्यमबाट रकम भित्रिने क्रम पनि लगभग बन्दको अवस्थामा पुगेको छ । आईएमईले मलेसियामा करिब ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । अहिले नेपाल भित्रिने वार्षिक २ खर्ब बढी रेमिट्यान्समध्ये करिब ३० प्रतिशत आईएमईबाट आउँछ ।

आईएमईको सफलतापछि चन्द्रले फाइनान्स कम्पनीमा पनि हात हाले । त्यसको सीमितता बुझेपछि वाणिज्य बैंकसँग मर्ज गराए । हाल उनी अध्यक्ष रहेका ग्लोबल आईएमई बैंक देशकै धेरै चुक्ता पुँजी भएको र राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकका रूपमा परिचित छ । सहजै चुक्ता पुँजी ८ अर्ब पु-याएको यो ग्लोबल आईएमई बैंकले जनता बैंकसँग बिग मर्जर गरेको छ ।

अहिले चन्द्रको मात्र नभएर उनका काकाहरूसमेतको लगानी मुलुकको पर्यटन, ऊर्जा, अटोमोबाइल्स, केबलकारलगायतका क्षेत्रमा पनि छ । ढकालकै नेतृत्वमा चन्द्रागिरी डाँडामा केवलकार सञ्चालित छ । जसका कारण अहिले चन्द्रागिरी राजधानीको पर्यटकीय हब भएको छ । अझै उनले उत्पादनमूलक उद्योग क्षेत्रमा लगानी बिस्तार गर्ने योजना बनाएका छन् ।

आईएमई ग्रुपका अध्यक्ष ढकालले हाल ग्लोबल आईएमई बैंक, आईएमई जनरल इन्स्योरेन्स, आईएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आईएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आईएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजनलगायतका डेढ दर्जनभन्दा बढी व्यावसायिक संस्थाको नेतृत्व सम्हालिरहेका छन् । सोही कारण उनलाई सरकारले महŒवपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान समेत प्रदान गरिसकेको छ ।

ढकालको काँधमा निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी
महासंघमा वरिष्ठ उपाध्यक्षको जितसँगै अब ढकालको काँधमा निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी पनि थपिएको छ । अब महासंघ एक ढिक्का भएर निजी क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनको दाबी छ । महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आईएमई बैंक देशकै धेरै चुक्ता पुँजी भएको र राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकका रूपमा परिचित छ

उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘यस निर्वाचनमा पराजित भए पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ ढकालले भने । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले यसपालि १ वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्यसहित कुल ६४ पदका लागि १ सय २७ जना व्यवसायी चुनावी मैदानमा उत्रिएका थिए ।

महासंघको शनिबार सम्पन्न ५४औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट ढकाल भारी मतका साथ विजयी भएका हुन् । ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए । ३० प्रतिशत मत भार रहेको एसेसिएटमा ढकालले ५२२ मत ल्याएका थिए भने प्रधानले जम्मा ३७५ मत ल्याएका थिए ।

२० प्रतिशत मत भार रहेको वस्तुगततर्फ ढकालले ५९ मत ल्याएका थिए भने प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत ल्याएका थिए भने प्रधानले ५३ मत ल्याएका थिए ।

यसैगरी, ढकालले वस्तुगततर्फ १२.०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४.७६ प्रतिशत, एसोसिएटतर्फ १७.४६ प्रतिशत मतसहित कुल ५४.२६ प्रतिशत मत ल्याएका थिए । उनको प्रतिस्पर्धी प्रधानले जम्मा ४५.७४ प्रतिशत मात्रै मत ल्याएका थिए । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान समुहकै दिनेश श्रेष्ठ र एसोसिएटतर्फ ढकाल समूहका रामचन्द्र संघई विजयी भएका छन् ।

महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै शपथ ग्रहरण गरेका छन् । महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित सबैलाई शपथ ग्रहण गराएकी हुन् । सुरुमा निवर्तमान अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी र सदस्यहरूलाई शपथ गराएका थिए ।

No comments:

Post a Comment