Friday, June 17, 2011

रगत पिउनेहरुको मेला




मधुजंग पाण्डे
मुस्ताङ १७ बैशाख
जिउँदो पशुको आलो रगत । त्यसलाई तत्तातै पिउनु । यो कती स्वभाविक हो । त्यो आफैंमा बहसको विषय हुन सक्छ । तर यतिबेला मुस्ताङमा पशुको आलो रगत पिउने मौसम सुरु भएको छ । यो खबर धेरैका लागि अपत्यारिलो लाग्न सक्छ । हो जिउँदो पशुको रगत पिउन पाँच घन्टा लाइनमा बसेको दृश्य यसपटक मुस्ताङमा देख्न पाइयो । हिमालपारिको जिल्ला मुस्ताङको कोबाङ गाविस- १ बोक्सीखोलामा यो साता मानिसहरुको भीड लागेको थियो । त्यो भीड चौंरीको रगत पिउनकै लागि त्यहाँ जम्मा भएको थियो । मुस्ताङको धार्मिक पर्यटकीय गन्तव्यस्थल मुक्तिनाथ मन्दिर पुग्ने स्थलगत मार्गमा बोक्सीखोला पर्छ । जहाँ कैयौं वर्ष्रदेखि परम्परागत यो मौसममा मानिसहरु भेला हुन्छन् । जिउँदो चौंरीको आलो रगत गिलासमा जम्मा गरेर उनीहरु पालैपालोसँग पिउने गर्छन् ।
वैशाख सुरुबाट सो ठाउँमा जिउँदो चौंरीको ज्यानबाट निकालिएको आलो रगत खान मान्छेहरुको ठूलो भीड लागेको छ । स-साना बालबालिकादेखि करिब ९० वर्ष टेकेका मानिसहरुसमेत यस मेलामा रगत खान तँछाड र मछाड गरिरहेका छन् । रगत पिउनुको पछाडि पनि गजबकै कारण रहेछ । मुस्ताङ र आसपासका विभिन्न जिल्लावासीहरुको रोग जब चिकित्सकले समेत निको पार्न सक्दैन यस्तो बेलामा चौंरीको आलो रगत पिएमा रोग निको हुने भन्ने उनीहरुको धारणा रहेछ । ुआ-आफ्ना शरीरमा लागेको रोग डाक्टरले निको पार्न नसकेपछि आलो रगत पिउन आएको हुँु म्याग्दी बेनीका त्यहाँ पुगेका ५३ वर्षीय शिरबहादुर गर्भुजापुनले राजधानीसँग भने । आफू दम र ग्याँस्ट्रिकको रोगबाट ग्रसित रहेको पनि उनले जानकारी गराए ।
शिरबहादुरजस्तै थुप्रै रोगीहरु त्यहाँ देख्न पाइयो । चौंरीको आलो रगत पिउनका लागि स्थानीयवासीबाहेक रुकुम रोल्पाका बासिन्दासमेत आएका थिए ।सबैजनाले आ-आफ्ना शरीरमा लागेको रोग निको हुन्छ भन्ने जानकारी पाएपछि रोग निको भइहाल्छ कि भनेर आएको बताए । केही व्यक्ति भने आफूहरु परापूर्व कालदेखि चलेको यो प्रथा धान्न त्यहाँ पुगेका रहेछन् ।
त्यहाँ चौंरीको आलो रगत संकलन गर्ने शैली पनि निकै असहज लाग्थ्यो । रगत जम्मा गर्नका लागि जिउँदो चौंरीको घाँटीको मुख्य नशामा धारिलो हतियारले काटिन्थ्यो । नशाबाट धारा प्रवाह छुटेको रगतलाई उनीहरुले क्रमशः गिलासमा थापेर ग्राहकलाई दिँदारहेछन् ।
चौंरीको आलो रगत पिउने मेलाको आयोजना धौलागिरि चौंरीपालक समूहले गरेको हो । त्यहाँ दैनिक एक हजारजना बिरामीले काँचो रगत पिउने गरेको सो समूहका अध्यक्ष लालप्रसाद गौचनले बताए । ुयो मेला ५ वैशाखमा सुरु भएर १७ वैशाखमा समापन हुन्छ । रगत पिउनेहरुको संख्या वृद्धि भएमा मेलाको समय अझ बढाउँछौंु उनले भने ।
जिउँदो चौंरीगाईको घाँटीको नशा काटेर पानीको धारोजसरी निकालिएको आलो रगत प्रतिगिलास ७० रुपैयाँका दरले बिक्री हुने गरेको छ । यस मेला यहाँको परम्परागत मेला भएको अधिकांश जानाकारहरुको भनाइ छ । आलो रगत खान मुस्ताङकै कोबाङ गाविस-३ नार्फुबाट आएका ७५ वर्षीया वृद्ध ओमप्रसाद गौचनले एउटा जिउँदो चौंरीबाट ४० गिलाससम्म रगत झिक्न सकिने बताए । चौंरीको रगत झिक्ने मेलामा सहभागी हुन लेते गाविसबाट चौंरी लिएर कुवाखोला झरेका चौंरीधनी लक्ष्मण गौचनले चौंरीको ज्यानअनुसार सानोबाट १५ मध्यमखालकोबाट २५ र ठूलोबाट ३५ गिलाससम्म रगत झिक्दै आएको बताए । उनका अनुसार एउटा जिउँदो चौंरी २० हजारदेखि ३५ हजार रुपैयाँसम्ममा खरिद विक्री हुने गर्दछ । चौंरीको घाँटीको नशाबाट रगत निकालिएपछि त्यो घाउलाई चौंरीकै गोबर र गहुँतको लेप बनाएर टालिँदोरहेछ ।
मुस्ताङको सदरमुकाम जोमसोमदेखि मार्फा गाउँ हुँदै म्याग्दीको बेनी आइपुग्ने डकको बीच खण्डमा त्यो मेला लागेको छ । मेलामा ५ वैशाखदेखि दैनिक हजारौं बिरामीको भीड लाग्ने क्रम जारी छ । त्यहाँ दैनिक ५० वटाभन्दा बढी जिउँदा चौंरीको शरीरबाट आलो रगत झिकेर रोगीलाई खुवाउने गरिएको छ ।
त्यहाँको चौंरीले हिमाली क्षेत्रमा पाइने यासा्रगुम्बा पाँचऔंले जटामसी निरमसीलगायत बहुउपयोगी जडीबुटी खाएका हुन्छन् । सोही कारण चौंरीको आलो रगत पिउनाले मानवशरीरमा भएका दीर्घ रोगहरु क्यान्सर ग्याँस्ट्रिक चर्मरोग यौन दुर्बलता तथा चिसोका कारण लाग्ने विभिन्न रोगहरु स्वतः निर्मूल हुने सम्बन्धित बिरामीहरुको विश्वास छ । सोही कारण रगत पिउनेको बसे्रनि त्यहाँ भीड लाग्ने गरेको स्थानीयवासीहरुले बताए । बागलुङका दीपक शेरचन पनि आफ्नो ग्याँस्ट्रिक समस्या समाधान हुने र शरीर मोटो हुने विश्वासले रगत पिउन त्यहाँ पुगेका रहेछन् । ुग्याँस्ट्रिक बिग्रेर अल्सर भएको थियो । गत वर्ष रगत पिउँदा रोग निदान भएकाले यसपटक फेरि आएको हुँ शेरचनले भने ।
धौलागिरि चौंरीपालक समूहका अध्यक्ष लालप्रसाद गौचनका अनुसार यो मेला विगत ३५ वर्षदेखि लाग्दै आएको छ । हरेक वर्ष वैशाख र साउन महिनाको पहिलो सातादेखि यो मेला आयोजाना गरिँदै आएको उनले बताए । गौचनका अनुसार चौंरीपालक कृषक समूहद्वारा साचालन गरिँदै आएको यस्तो मेलामा रगत झिकेका चौंरीको १० वर्ष आयु रहोस् भन्ने कामना गरिन्छ । ुयसरी रगत झिकेका चौंरी ८ देखि १० वर्षसम्म बाँच्ने गर्छन् । यसलाई हामीले चौंरीद्वारा मानिसका लागि रक्तदानको प्रकि्रयाका रुपमा लिने गरेका छौंु अध्यक्ष गौचनले भने । उनका अनुसार हरेक वर्ष मुस्ताङको कुवाखोलालगायत अन्य भागमा पनि यस्तो मेला लाग्ने गर्छ ।
मेलामा जिउँदै चौंरीको आलो रगत खान जिल्लाका विभिन्न भेगबाट आउनेहरुलगायत म्याग्दी बागलुङ पर्वत कास्की हुम्ला जुम्ला कालीकोट डोल्पा धादिङ सोलुखुम्बु चितवन र राजधानीलगायतका ठाउँबाट आउने बिरामीहरुको ओइरो लागेको छ । सो समितिले रक्तचापका रोगीले भने आलो रगत खान नहुने जानकारी गराउँदै आएको छ । यदि कसैले खाएमा त्यो व्यक्तिलाई रक्तचाप वृद्धि भएर ज्यान जानसक्ने पनि उनीहरुले जानकारी गराए ।
रमाइलो प्रसंग के भने मेलामा ल्याइएका चौंरीको रक्तपरीक्षण गरिँदैन । चौंरीको आलो रगत सिधै खाँदा मानवशरीरमा पशुजन्य रोग सर्न सक्छ । जसका कारण रगत पिउने मानिसलाई सम्बन्धित चौंरीको रोग सर्न सक्छ । यसतर्फ भने रगत पिउनेहरुलाई चासो छैन । मेला आयोजक समितिका सदस्यहरुले पनि स्वस्थ चौंरीको आलो रगत भन्दै रगत पियाउने व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

No comments:

Post a Comment