Friday, April 19, 2013

बसन्तपुरसँगै धरहरा जानुपर्ने बाध्यकारी व्यवस्था हटाउन माग
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ४ बैशाख 
पर्यटकीय गन्तब्यस्थत बसन्तपुर दरबार संरक्षण क्षेत्र पुग्ने पर्यटकका लागि अबदेखि अनिवार्य धरहरा जानुपर्ने बाध्यकारी व्यवस्थाप्रति पर्यटन व्यवसायीहरुले विरोध गरेका छन । उनीहरुले ठेकेदार कम्पनी साइडवाकर्स प्रालिले २० वर्षका लागि ठेक्कामा लिएको काठमाडौको सुन्धारास्थित भिमसेन स्तम्भ (धरहरा) मा जानुपर्ने वाध्यकारी व्यवस्थाको विरोध गरेका हुन् ।  धरहरा जान लाग्ने २ सय ५० रुपैयाको टिकट शुल्क आगामी १८ वैशाखदेखि बसन्तपुर दरवार संरक्षण क्षेत्रको एउटै प्रवेश शुल्कमा जोडेर लिने काठमाडौ महानगरपालिकाले गरेको निर्णय एकदमै त्रुटीपूर्ण भएको भन्दै विरोध गरेका हुन् ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ( नाट्ट) का महासचिव अच्चुत गुरागाइँले महानगरपालिकाले गरेको सो निर्णय समग्र रुपमा मुलुक, व्यवसायी र पर्यटकको हितमा नभएर निजी कम्पनी साइडवाकर्सलाई मात्र फाइदा हुनेगरि भएको भन्दै व्यवसायीले विरोध गरेको बताए । बसन्तपुर दरवार संरक्षण क्षेत्रमा हाल वार्षिक करिब सवा एक लाख भन्दा बढी पर्यटक घुम्न आउने गरेको जानकारी दिँदै उनले ति पर्यटकलाई अब धरहरा चढ्न अनिवार्य गर्दा त्यसको प्रत्यक्ष फाइदा निजी कम्पनीलाई मात्र हुने भन्दै आफुहरुले सो निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेको बताए ।  
नाट्टाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठलाई भेटेर सो निर्णयको विरोध गरेका थिए ।  उनले अहिले काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी केदारबहादुर अधिकारीसँग भेटेर आफुहरुले बसन्तुर घुम्ने पर्यटकले तिनुपर्ने शुल्क बृद्धिप्रति गम्भिर आपत्ति जनाएको पनि बताए ।
उनले महानगरपालीको सो निर्णय तत्काल फिर्ता नभए आफुहरुले बसन्तपुर दरबार संरक्षण क्षेत्रको टुर प्याकेज नबेच्न सम्बन्धीत टुर अपरेटरलाई निर्देशन दिई त्यस क्षेत्रमा पर्यटक नलैजाने निणर्य गर्न व्यवसायी बाध्य हुने चेतावनी समेत दिए ।
यसअघि काठमाडौं महानगरपालिकाले हनुमानढोका दरवार संरक्षण क्षेत्र र हनुमानढोका दरवार संग्रहालय विकास समितिमा घुम्न प्रवेश शुल्क वापत प्रति व्यक्ति ७ सय ५० रुपैया लिने गर्दै आएको थियो । अव धरहराको २ सय ५० रुपैया पनि जोडिएर प्रति व्यत्ति एक हजार रुपैयाँ हुने भएको छ ।  मुलुककै पुरानो एतिहासिक धरोहर सुन्धारा स्थित धरहरा क्षेत्रलाई थप व्यवस्थित बनाएर संसारभर पहिचान दिलाउन २०५५ सालमा सो क्षेत्र व्यवस्थापनको जिम्मा निजी ठेकेदार कम्पनी साईडवाकर्सलाई महानगरपाालिकाले पाँच वर्षकालागि ठेक्का दिएको थियो । २०६१ सालमा पुनः २० वर्षकालागि साइड वाकर्ससँग भएको सम्झौता अनुसार सो कम्पनीले मासिक दुई लाख ५० हजार रुपैयाँ काठमाडौं महानगरपालिकालाई बुझाउनु पर्दछ । हाल सो कम्पनीले धरहरा क्षेत्रलाई पर्यटकीय महत्व दिएर त्यहाँ घुम्न आउने आन्तरिक पर्यटकसँग ५० रुपैया र बाह्य पर्यटकसँग ३ सय  रुपैया प्रवेश शुल्क लिने गर्र्दै आएको छ ।
अनिवार्य पर्यटन बिदाको व्यवस्था हुनुपर्ने
काठमाडौं÷रास–नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीको नाट्टा प्रमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठलाई भेट गरेको छ ।
सो अवसरमा पर्यटन क्षेत्रमा हाल देखापरेका विसंगतिबारे अवगत गराउँदै तिनको शीघ्र निवारणका लागि मन्त्रीसमक्ष अनुरोध गरेको छ । सो क्रममा पर्यटन सवारी एवं प्याकेजमा मूल्य अभिवृद्धि करको पुनरावलोकन गरिनुपर्ने, रातो प्लेटका सवारीबाट पर्यटकहरूलाई सेवा पु¥याउन अस्थायी अनुमतिको व्यवस्था हुनुपर्ने र काठमाडौंबाट विभिन्न लामो दूरीका गन्तव्यमा चल्ने टुरिस्ट कोचहरूको स्थायी प्रस्थान बिन्दुको सुनिश्चितता हुनुपर्ने माग गरिएको थियो ।
यसैगरी, इजाजत रद्द ट्राभल कम्पनीहरूको इजाजत नवीकरणबारे, डिजेल सवारीहरूको बाग्मती अञ्चलमा पञ्जीकरणबारे, नेपालमा अन्तर्राष्ट्रिय पर्यटन मेलाबारे पनि छलफल गरिएको थियो । अनिवार्य पर्यटन बिदाको व्यवस्था हुनुपर्ने र  महानगरपालिकाद्वारा हनुमानढोका दरबार क्षेत्र जाने पर्यटकहरूका लागि सुन्धारा–धरहरा समेतको अवलोकन अनिवार्य गराइएको व्यवस्थाको विरोध गरिएको थियो । ती एजेन्डाहरूमाथि पर्यटन क्षेत्रको सरोकारवाला मन्त्रालयद्वारा विशेष ध्यान केन्द्रित गरी तिनको समाधानको पहल गर्नुपर्ने माग नाट्टा प्रमण्डलले मन्त्रीसमक्ष माग राखेको थियो । मन्त्रीसँगको भेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुशील घिमिरेको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment