Wednesday, April 17, 2013

बन्दले छोएन ठमेललाई
मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ चैत
नेकपा–माओवादीसहित विभिन्न ३३ साना दलको आह्वानमा आइतबार भएको नेपाल बन्दले राजधानीको पर्यटकीय बजार ठमेललाई छोएन । 
बिहानैदेखि सडकमा झण्डा सहित निस्किएका बन्दकर्ताहरुको अबरोधका कारण उपत्यकाका अन्य भागको जनजीवन प्रभावित भएपनि ठमेल क्षेत्रमा भने दिनभर कुनै प्रभाव परेन । ठमेल क्षेत्रका सबै पसलहरु निर्वाध रुपमा खुलेका थिए ।
त्यहाँ सञ्चालित सबै होटल, रेस्टुरेन्ट, मनिएक्चेन्ज, ट्राभल र ट्रेकिङ अफिसहरु दिनभर खुलेका थिए । ठमेलका सबै चोक र सडक गल्लीहरुमा पनि अन्य दिनको भन्दा निकै बाक्लो भीड देखिन्थ्यो ।
त्यहाँका स्थानीय व्यवसायीले बन्दका दिनमा पनि व्यापारिक चहल– पहल सँधैको भन्दा थप बढेको बताएका छन । उनीहरुले मण्डला स्ट्रेट मार्गका व्यापारिक स्थल र   ठुला सपिङ सेन्टर एवं मार्टहरुमा पनि अन्य दिनको भन्दा धेरै कारोबार भएको बताएका छन ।
ठमेल स्थित मण्डला स्ट्रेट गल्लीको एक पसलबाट पश्मिना र तयारी पोसाक जन्य बस्तु विक्री गर्दै आएका व्यवसायी रविन्द्र जोशीले आइतबारको बन्दले ठमेल क्षेत्रलाई नछोएको बताए । उनले बन्द भनिए पनि यहाँ दिनभर कुनै असर नपरेकाले अन्य दिनको भन्दा राम्रो व्यापार भएको बताए । यसअधिका बन्दमा ठमेल क्षेत्रका सबै व्यापारिक कारोबार ठप्प हुने गरेको जानकारी दिँदै जोशीले भने, ‘अहिलेको बन्दमा दिनभर ठमेल क्षेत्रका सबैै  पसल पूर्ण रुपले खुलेकाले आश्चर्य लागेको छ ’ । विगतका बन्दको बेला राजधानीका अन्य भागमा जस्तै ठमेल बजारको व्यापारिक कारोबार पनि ठप्प हुने गरेको बताउँदै जोशीले भने , ‘अहिलेको बन्दले यहाँको व्यवसायीलाई कुनै असर पारेको छैन ’ ।  यस बन्दले ठमेलका धेरै व्यवसायी अचम्ममा परेको उनको भनाई छ । बन्द भनिएपनि दिनभर ठमेल क्षेत्रका बजार पूर्ण रुपले सञ्चालित रहेकामा जोशी मात्र नभएर यहाँका धेरै व्यवसायी आश्चर्य चकित भएका छन । नरसिंह चोक स्थित काठमाण्डु मनिएक्चेन्जका सञ्चालक माधव डंगोलले पनि नेकपा–माओवादीसहित विभिन्न ३३ साना दलको आह्वानमा भएको नेपाल बन्दले पर्यटकीय बजार ठमेललाई नछोएको बताए । बन्दकर्ताहरुले यहाँको व्यापारिक कारोबारमा कुनै असर नपार्ने भन्ने बारेमा आफुलाई कुनै जानकारी नभएको बताउँदै उनले भने, ‘ अहिले यहाँका अचम्म भएको छ’ ।
विगतका बन्दमा बन्दकर्ताहरुले बिहानैदेखि जर्बरजस्ती गरेर पसल खोल्न नदिएर व्यापारिक कारोबारमा निकै अवरोध पु¥याउँदै आएको भएपनि अहिले यहाँका सबै पसलहरु दिनभर निर्वाध रुपले पूर्ण रुपमा सञ्चालन भएको उनको भनाई छ ।
ठमेल पर्यटन परिषदका अध्यक्ष रामशरण थपलियाले अहिले राम्रो पर्यटकीय मौसम भएकाले व्यवसायीले स्वस्फुर्तः रुपमा आफ्ना पसल खोलेकाले बन्दले ठमेललाई नछोएको बताए । 
परिषदले बिहानैदेखि आफ्ना व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीलाई पसल खोल्न आवहान गरेको जानकारी दिँदै उनले पर्यटक प्रहरीले पनि पसल खोल्नेलाई शान्ति सुरक्षा दिने विश्वास दिलाएकाले सबै कारोबार पूर्ण रुपले सञ्चालित भएको बताए ।  यहाँका केही व्यवसायीले आफ्ना पसल बिमा गरिसकेको बताउँदै अध्यक्ष थपलियाले भने, ‘अब छिट्टै यहाँका पसलहरुको बिमा हुने छन’ । उनले परिषदले अहिले सबै पसल एवं कारोबार गर्ने कम्पनीको बिमा  गर्ने व्यवस्थालाई तिब्र बनाएको बताए ।  यहाँका सबैै पसलको सुरक्षा जोखिम बिमा भईसकेपनि आगामी दिनमा कुनैपनि बन्दले ठमलेललाई नछुने उनको दावी छ ।  
ठमेल क्षेत्रका पसलहरु बन्दको दिनमा पनि पूर्ण रुपले सञ्चालन भएको यो नै पहिलो पटक भएको अधिकाँश व्यवसायीको दावी छ । सो बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेनन्  भने अत्यावश्यक काममा जाने सर्वसाधारण समेत पैदल हि“ड्न बाध्य भएका थिए । आइतबारको बन्दका कारण राजधानीका न्युरोड, दरबारमार्ग, खिचापोखरी, बालाजु, चाबहिल, ललितपुर र भक्तपुर लगायतका व्यापारिक कारोबार ठप्प थियो ।   त्यस क्षेत्रका विभिन्न ठाउँमा बिहानैदेखि मुख्य सडक र चोकमा बन्दकर्ताहरुले प्रदर्शन गरेर यातायात तथा व्यापारिक कारोबारमा अवरोध पु¥याएका थिए । 

No comments:

Post a Comment