Sunday, December 11, 2011

अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आंतक


मधुजंग पाण्डे राजधानी
काठमाडौं, २३ मंसिर
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आतंक तीब्र बन्दै गइरहेको छ । बाँदर आतंककै कारण आफ्ना जहाज जोगाउन वायुसेवा कम्पनीलाई हम्मे–हम्मे पर्दै गइरहेको छ ।
विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने एवं धावनमार्ग नै छेकिदिने जस्ता समस्याले वायुसेवा कम्पनीका सञ्चालक आजित छन् । बाँदरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरु आतंकित छन् ।
बाँदर आंतकको पीडा सबैभन्दा बढी फिस्टेल, डाइनेस्टी, माउन्टेन र सिम्रिक एयरले भोगिरहेको छ । यस्तै आन्तरिक उडानमा सञ्चालित विमानका सञ्चालक पनि पीडित छन् । 
पशुपति बनकाली क्षेत्रबाट हुलका–हुल आउने बाँदरको हुल धावन मार्गमा जथाभावी कुद्ने गरेकाले विमानस्थलमा कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना बढेको व्यवसायीहरु बताउँछन् ।
फिस्टेल एयरलाइन्सका प्रबन्ध निर्देशक सुमन पाण्डेले बाँदर आतंक टाउको दुखाईको विषय बन्दै गइरहेको बताए । ‘पशुपति बनकाली क्षेत्रबाट आउने गरेका बाँदरको हुलले जहाजको सिट च्यात्ने, तार चुँडाल्ने, पंखामा पिङ खेल्नेलगायतका उपद्रो काम गर्ने गरेकाले जहाज जोगाउनै मुस्किल परिरहेको छ,’ पाण्डेले भने, ‘यो समस्या आन्तरिक उडानमा सञ्चालित साना हेलिकोप्टरदेखि ठूला डोनियर जहाजसम्मले बेहोरिरहेका छन् ।’ उनले साँझ पार्किङमा राखेको जहाज विहान सञ्चालन गर्ने अवस्थामा नहुने गरेको पनि बताए ।
नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक श्रीकान्त बरालले अहिले धेरै विमान सञ्चालकले बाँदर आंतक भोग्नु परिरहेको बताए ।
एयर काष्ठमण्डपका क्याप्टेन बबी सिंहले विहान जहाज उडाउने बेला सँधै बाँदरले कुनै तार चुँडालेको छ की भन्ने आशंका भइरहने बताए । उनले हाल विशेषगरि साना हेलिकप्टर र जहाजमा सो समस्या उत्पन्न भइरहेको बताए ।
वायुसेवा कम्पनीका सञ्चालकहरुले भने विमानस्थल कार्यालयको कमजोरी र सुरक्षा हेलेचक्र्याईका कारण समस्या बढेको बताएका छन् ।
‘विमानस्थल प्रवेश गर्न नसक्नेगरी बनाइएको तारबार ठाउँ ठाउँमा भत्केको र विमानस्थल क्षेत्रमा फालिएका फोहोरका कारण बाँदर आंतक बढेको हो, विमानस्थल प्रशासनले समयमै काम अघि बढाएको भए यो समस्या देखिने थिएन,’ नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक बरालले भने । उनले यो समस्या समाधान नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने सम्भावना व्यक्त गरे ।
बाँदरकै कारण हेलिप्याडमा राखिएका हेलिकोप्टरको पंखा र विभिन्न उपकरण बिग्रिन थालेपछि अहिले अधिकाँश विमान कम्पनीले आफ्ना जहाज बाक्लो कपडाले छोप्न थालेका छन् । 
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले विमानस्थलको कन्टेनरमा फालिएका खाना र फलफूलको फोहोरले विमानस्थलभित्र बाँदर पस्न थालेको बताए । ‘विमानस्थलभित्र राखिएका फोहोरका कन्टेनर सबै हटाउन सकिए मात्र बाँदरको समस्या नियन्त्रणमा आउन सक्छ,’ सुमनले भने ।
उनले विमानस्थलभित्रको फोहोर व्यवस्थापन गर्न अहिले काठमाडौ महानगरपालिकासँग छलफल भइरहेको जानकारी दिँदै बाँदर पस्न नसक्नेगरि विमानस्थलको तारबारलाई व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको बताए ।

No comments:

Post a Comment