Friday, February 3, 2012

निगममा बढी उमेरका परिचारिका

काठमाडौ,१७ माघ  - अन्तर्राष्ट्रिय प्रचलन विपीरत नेपाल वायु सेवा निगमले बढी उमेरका परिचारिकालाई यात्रुको स्वागतमा खटाउने गरेको पाइएको छ । यसले गर्दा निगमको व्यापारमा समेत असर परिरहेको छ ।
विमानमा यात्रुलाई मुस्कानका साथ सुमधुर स्वरले स्वागत गर्ने र उडान अवधि सकिएपछि बिदाइ गर्ने परिचारिका अविवाहित हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । मापदण्ड अनुसार १९ देखि २६ वर्ष उमेर समूहकाले मात्र यो सेवामा प्रवेश पाउँछन् । परिचारिकाले विवाह गरे वा ३५ वर्ष उमेर नाघेपछि उनीहरूलाई अरू काममा लगाइन्छ ।
निगममा भने ८५ प्रतिशत परिचारिका विवाहित वा ३५ वर्षभन्दा माथिका छन् । निगममा ८० परिचारिका कार्यरत छन् । उनीहरूले ५८ वर्षको उमेरसम्म काम गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
बढी उमेरका र विवाहित भएर व्यावहारिक झमेलामा फसेका परिचारिकाले रूखो व्यवहार गर्ने गरेको यात्रुले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय उडानमा यस्तो गुनासो अझ बढी छ । वैदेशिक रोजगारीका लागि जानेहरू अधिकांश टिकट पाएसम्म निगमबाट यात्रा गर्छन् ।
निगमले यात्रुलाई दिने सेवा मीठो बोलीले नपाइने गरेको काठमाडौं-दुबई यात्रा गरेर फर्केका बुटवलका रितेन केसीले बताए । 'डेढ घन्टा ढिलो उडान, समय कटाउन पत्रपत्रिका समेत निकै कम थियो,' उनले भने 'त्यसमाथि परिचारिकाले राम्रो रेस्पोन्स नगर्दा नरमाइलो लाग्यो ।' विश्वकै विमान कम्पनीहरूको सेवासम्बन्धी समीक्षा गर्ने ठूलो वेबसाइट स्काई ट्रक्यासको गुणस्तर वर्गीकरणमा निगमले '२ स्टार' मात्र पाएको छ । यसको अर्थ निगमको सेवा अनुपयुक्त/कमसल छ भन्ने हो । साइटले यात्रुको अनुरोधलाई परिचारिकाले दिने प्रतिक्रियालाई समेत मात्र २ स्टार दिएको छ ।
निगमकै कर्मचारी यो अवस्था स्वीकार गर्छन् । निगमको ट्रेड युनियनका अध्यक्ष तारणी दाहालले यात्रुको यस्तो गुनासो आउनु सामान्य जस्तै भइसकेको बताए । 'अन्तर्राष्ट्रिय उडानमा धेरै समस्या छ,' उनले भने । विमान परिचारिकाको उमेर बढी, विवाहित हुनु र उनीहरूले व्यक्तिगत समस्याका कारण यात्रुलाई रूखो व्यवहार गर्नु मुख्य समस्या रहेको उनको भनाइ छ ।
नेपालमा आन्तरिक उडान गर्ने निजी कम्पनीले समेत अविवाहित महिलालाई मात्र परिचारिकाका रूपमा राख्ने गरेका छन् । उमेर हद नतोके पनि विवाहपछि उनीहरूलाई 'ग्राउन्ड सर्भिस' को जिम्मेवारी तोकिने गरी कम्पनीहरूले करार गर्ने गरेका छन् ।
परिचारिकाको उमेर, रूप, उचाइ र व्यवहारलाई महत्त्वपूर्ण मानिने हुँदा निश्चित अवधिपछि 'ग्राउन्ड सर्भिस' मा जानेबारे विवाद गर्न नमिल्ने एक निजी कम्पनीका अधिकारीले बताए । 'पदपूर्तिको विज्ञापन दिँदा यी सबै कुरा सार्वजनिक गरिएको हुन्छ,' उनले भने, 'अरूको तुलनामा निगमले धेरै उमेरसम्म परिचारिकाको काम दिइरहेको छ । सेवालाई यसले प्रभावित पार्छ ।' परिचारिकाहरूले ५८ वर्षसम्म काम गर्न पाऊँ भनेर माग राख्नु अनुचित भएको उनले बताए । भारतमा परिचारिकाहरूले ३५ वर्षपछि ग्राउन्ड सर्भिसमा लगेर या अवकाश दिएर लैंगिक विभेद गरेको भन्दै सन् २००३ मा दायर गरेको मुद्दा बम्बई हाई कोर्टले बदर गरेको थियो । कोर्टले 'यस्तो प्रावधान सेवाको प्रकृति अनुसार भएकाले लैंगिक विभेद मान्न सकिँदैन' भन्दै परिचारिकाको सेवाका हकमा रहेका नियमलाई मान्नुपर्ने उल्लेख गरेको छ ।
परिचारिका व्यवहारबारे यात्रुको गुनासो बढेपछि निगम व्यवस्थापनले नियमावली संशोधन गरी उमेर हद र सेवाबारे नयाँ व्यवस्था गर्न खोजेको छ । 'संशोधित मस्यौदा सञ्चालक समितिमा लान बाँकी छ,' युनियन अध्यक्ष दाहालले भने, 'धेरै परिचारिका यसको विरोधमा छन् ।' उनका अनुसार निगमले पहिले परिचारिकाहरू करारमै राख्ने गरेकामा २०४७ तिर महाप्रबन्धक बोधविक्रम शाहले उनीहरूलाई स्थायी गर्ने व्यवस्था गरेपछि समस्या आएको हो ।

No comments:

Post a Comment