Saturday, February 11, 2012

बीबी एयरवेजले २८ भदौबाट हवाई उडान थाल्ने

काठमाडौ, २८ माघ– गत महिना अन्तर्राष्ट्रिय वायुसेवा संचालनको इजाजत पाएको नीजि वायुसेवा कम्पनी भगवान् बुद्ध (बीबी) एयरवेजले आगामी २८ भदौबाट सेवा सुरु गर्ने भएको छ ।  सो एयरका अध्यक्ष भवन भट्टले प्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई भेटी आफ्नो उडान तयारीबारे जानकारी गराएका हुन । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा बीबी एयरवेजका अध्यक्ष भट्टले आगामी २८ भदौ सेवा सुरु गर्ने लक्ष्य लिएको बताएका हुन । सो अबरसमा अध्यक्ष भट्टले बीबी एयरवेज सकेसम्म चाँडो नेपालबाट अन्तर्राष्ट्रिय आकासमा उडान भर्न इच्छुक रहेको उल्लेख गर्दै सरकारको तर्फबाट हालसम्म पाइरहेको सहयोगप्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि सरकारीस्तरबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा गरिएको धारणा राखेका थिए । प्रधानमन्त्री भट्टराईले मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको हवाई सेवा  प्रभावकारी हुन नसक्दा वर्षेनी अरबौं रकम बाहिरिएको तथ्यप्रति आपूm गम्भीर भएको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहेको निजी वायु सेवा यथाशीघ्र संचालनमा आउने अपेक्षा गरेका थिए । प्रधानमन्त्री भट्टराइले भने, ‘तपाईहरु आफ्नो तयारी पूरा गर्नुहोस्, म सरकारको तर्फबाट कुनै बाधा अड्चन उत्पन्न हुन दिने छैन’।  प्रधानमन्त्रीले राष्ट्रिय ध्वजाबाहक निगमको अवस्था गम्भीर रहेकाले निजी क्षेत्रबाट स्वदेशी कम्पनी बीबी एयरवेजको शुरुवात स्वागतयोग्य भएको बताएका थिए ।
बीबी एअरवेजले गत १९ पुसकोे मन्त्रीस्तरीय निर्णयबाट अनुमति प्राप्त गरेको हो । एअरवेजले काठमाडौंबाट नयाँ दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुरमा उडान भर्ने अनुमति पाएको छ । कम्पनीले पाएको स्वीकृती पत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने तथा जसमध्ये २ वटा जहाज पहिलो चरणमा र बाँकी अर्को जहाज ३ वर्षभित्र आवश्यक प्रकृया मिलाई खरिद गर्नुपर्ने उल्लेख छ ।
प्रधानमन्त्रीसँग बीबी एअरवेजका अध्यक्ष भट्टसँगै प्रमुख कार्यकारी अधिकृत शिशिर भट्ट, प्रमुख संचालन अधिकृत हरिभक्त श्रेष्ठ, वित्तीय सल्लाहकार सुधीर शर्मा पौडेलले एअरवेजका बिबिध बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

No comments:

Post a Comment