Sunday, February 26, 2012

आरोहणमा संलग्न सम्पर्क अधिकृतलाई मर्यादित बनाउन कार्यविधि ल्याइने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौँ, ४ फागुन
आरोहीले हिमाल आरोहणको पुष्टी गर्ने सम्पर्क अधिकृतलाई थप मर्यादित बनाउन सरकारले विशेष नयाँ कार्यविधि ल्याउने भएको छ । आगामी बसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपुर्ण, धौलागिरी लगायतका हिमाल आरोहणमा जाने आरोहीका सही विवरण राख्ने उदेस्यले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष नयाँ कार्यविधि ल्याउन लागेको हो । आगामी बसन्त ऋतुबाटै नयाँ कार्यविधी कार्यवनयनमा ल्याउने तयारी भएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका सचिव डा गणेशराज जोशीले अहिलेसम्म हिमाल आरोहण दललाई सहयोग गर्न खटाईएका सम्पर्क अधिकृतले तोकिएको क्षेत्रमा नपुगिकनै हचुवाको भरमा प्रतिवेदन दिने प्रवृद्धि बढेकाले मन्त्रालयले सम्पर्क अधिकृतलाई थप मर्यादित बनाउन विशेष नयाँ कार्यविधि ल्याउन लागेको बताए ।
उनले मन्त्रालयले ल्याउन लागेको नयाँ कार्यविधि अनुसार अब सम्पर्क अधिकृतले आरोहण दलसँगै खिचेको तस्विर, त्यसको भिडियो फुटेज एवं आधिकारिता प्रदान गर्न सम्पर्क गर्दा प्रयोग गरेको सञ्चार उपकरणको रेञ्ज र त्यसको कल डिटेल लगायतका प्रमाणहरू अनिवार्य समावेश गर्नुपर्ने प्रावधान रहेको जानकारी गराए । यसैगरी जोशीले आरोहण गर्न पुगेको हिमाल भन्दा निकै तल बसेर मोजमस्ती गरि हचुवाको भरमा भुटा प्रतिवेदन तयार गर्ने अधिकृतलाई तत्काल विभागिय कारबाही गर्न सक्ने गरी सो कार्यविधि बनाउन लागिएको बताए ।
सम्पर्क अधिकृतलाई फिल्डमा खराउँदा जिपिएस यन्त्र र अत्याधुनिक सञ्चार उपकरण पनि सँगसँगै लैजानुपर्ने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो नयाँ कार्यविधीमा  अब सम्पर्क अधिकृतले आरोहण दलले हिमाल आरोहण गरेको समय खुल्ने रं देखिने तस्विर, भिडियो, आरोहणका क्रममा बाटामा पर्ने मुख्य नाका र त्यसको विवरणसमेत प्रस्तुत गर्नुपर्ने छ ।
आरोहणमा क्रममा शिखर र बाटोमा भेटिएका अन्य आरोहीसँग खिचिएका तस्वीर पनि पेस गर्नुपर्ने व्यवस्थालाई सो  कार्यविधीमा समावेश गरिएको छ ।
हाल पनि यस्तो तस्विर आरोहीले त पेस गर्नु नै पर्दथ्यो तर, अब नयाँ कार्यविधिमा अधिकृतले समेत सो विवरण पेस गर्नुपर्ने हुन्छ ।
शिखरमा आरोही पुगेको चिनो आउने गरी चारै दिशाबाट खिचिएको तस्वीर, आधार शिविरबाट प्रस्थान गरेदेखि फर्कंदासम्मको आरोहीले गरेको गतिविधि, आरोहीले कति पटक फोन सम्पर्क गरे त्यसको कल डिटेलसमेत सम्पर्क अधिकृतले उपलब्ध गराउनुपर्नेछ ।
आरोहणका क्रममा कस्तो मौसम रहेको थियो, त्यसबारे आरोहीले के कति जानकारी गराए त्यसको बारेमा पनि सम्पर्क अधिकृतले स्पष्ट रुपमा जानकारी गराउनुपर्ने व्यवस्था लाई  नयाँ कार्यविधीले समेटेको छ ।
अहिले मुलुकभरका ६ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न चाहने आरोहण दलले सरकारले तोकेको एकजना सम्पर्क अधिकृत सँगै लिएर जानुपर्ने व्यवस्था गरिएको छ । आरोहणको विश्वसनीयता कायम गर्न र सम्पर्क अधिकृतलाई मर्यादित र व्यवस्थित बनाउन हालको  नियमावलीलाई नै कडा बनाउन लागिएको मन्त्रालयको दावी छ ।
अब लागु हुने नयाँ कार्यविधि अनुसार सम्पर्क अधिकृतले पर्वतारोहणसम्बन्धी अभियान समाप्त भएको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कडा नियम बनाएको छ ।
मुलुकभरका करिब  ३ सय २६ ओटा हिमाल आरोहण गर्न सम्पर्क अधिकृत आवस्यक पर्ने जानकारी गराउँदै सचिव जोशीले  सम्पर्क अधिकृतले पाउँदै आएको दैनिक भत्ता समेत बढाउने योजना अगाडि सारिएको बताए  । जसमा आरोहण गर्न गएको हिमालको उचाई र आरोहणको समयलाई समेत ख्याल गरेर नयाँ व्यवस्था मिलाउन लागेको  मन्त्रालयले बताएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पाले सम्पूर्ण आरोहीको तर्फबाट संघले यसअघि नै कार्यविधी ल्याउनुपर्छ भन्दै आएपनि अहिलेसम्म कार्यन्वयन नभएको र नयाँ कार्यविधी ल्याउने बारेमा कुनै जानकारी नदिएको बताए । उनले नयाँ कार्यविधी लागु भए व्यवसायी  र सरकार दुबैलाई फाइदा गुग्ने बताए । 

No comments:

Post a Comment