Tuesday, February 7, 2012

अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगलागीले हवाई उडान डेढ घन्टा प्रभावित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अकस्मात् लागेको आगजनी नियन्त्रणमा आएको छ । मंगलबार अपराह्न ५ बजेर ४५ मिनेटमा विमानस्थलको धावनमार्गबाट पूर्वपट्टिको घाँसे मैदानमा लागेको आगो विमानस्थलका आकस्मिक दमकलले नियन्त्रणमा लिएका हुन् । सो आगलागीबाट विमानस्थलको हवाई उडान करिब डेढ घन्टा प्रभावित भएको थियो । धावनमार्गमाथि आकासमा धुवाँको मुस्लो देखेपछि विमानस्थलको हवाई उडान प्रभावित भएको थियो । सो समय अन्तर्राष्ट्रिय एवं आन्तरिक उडान केही समय ठप्पझैं भएका थिए । विमानस्थल कार्यालयले सो आगलागीबाट हवाई उडानमा केही प्रभावित भएको जनाएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक रतीशचन्द्रलाल सुमनले सो आगोलागी विमानस्थलको धावनमार्ग क्षेत्रभन्दा निकै टाढा भएकाले नियमित जहाज अवतरण तथा उडानमा केही सामान्य प्रभाव परेको बताए । उनले आगलागीको खबर पाउनासाथ आफूले तत्काल सुरक्षा संयन्त्र तैनाथ गरी दमकल नियन्त्रणमा लिएकाले विमानस्थलमा कुनै क्षति नभएको बताए । उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए । साँझ ५ बजेर ४५ मिनेटमा लागेको आगो सवा ७ मा नियन्त्रणमा आएको थियो । सरकारले सो आगलागीका बारेमा छानबिन गर्न एक अनुसन्धान कमिटी बनाएको छ । छानविन कमिटीले आगलागीको कारण पत्तो लगाई सम्बन्धीत निकाएमा कारबाहीका लागि सिफारिस गर्ने छ । 
धावनमार्गभन्दा पूर्वपट्टिको घाँसे मैदानमा लागेको सो आगजनी नियन्त्रणमा नआएको भए विमानस्थलभित्र ह्याङ्गरमा पार्किङ गरी राखिएका विमानमा समेत ठूलो क्षति हुने थियो । सो आगलागीको खबर पाउनासाथ पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगर तत्काल विमानस्थल पुगी घटनाको बारेमा जानकारी लिएका थिए । उनले मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आगलागीले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको भन्दै दोषीलाई तत्काल कारबाही गर्नै दाबी गरेका छन् । यसअघि विमानस्थलको सुरक्षा अवस्थाका बारेमा नेपालको भ्रमण सकेर फर्केका विदेशीले  अन्तर्राष्ट्रिय विमानस्थललाई संसारकै १० रद्धी विमानस्थलमध्ये आठौं स्थानमा राखेको थियो । यसैगरी, विमानस्थलमा कहिले राडार मेसिन बिग्रिने र धावनमार्ग भासिनेलगायतका समस्याले पटक–पटक हवाई उडान प्रभावित हुँदै आएको छ ।

No comments:

Post a Comment