Sunday, October 20, 2013

हवाई इन्धनको मूल्य नघटे थप आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौ, १८ असोज 
निजी वायुसेवा सञ्चालकहरुले दसैंको मुखैमा आएर बढाईएको हवाई इन्धनको भारी मूल्य बृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनको चेतावनी दिएका छन ।  उनीहरुले नेपाल आयल निगमले बढाएको इन्धनको मूल्य नघटाए आफूहरुले त्यसको विरोध गर्दै थप आन्दोलन गर्ने बताएका हुन । अहिले इन्धनको मुल्य बृद्धिसँगै स्वचालित रुपमा बढेको हवाई भाडाका कारण दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरि कतिपय वायुसेवा कम्पनीहरुले अग्रिम टिकट बुकिङ खुला गरेपनि यात्रुको संख्या घट्न थालेको भन्दै वायुसेवा कम्पनीका संचालकहरुले थप आन्दोलन गर्न आफुहरु बाध्य भएको बताएका हुन ।  हवाइ इन्धनको मूल्य बृद्धिका कारण आन्तरिक हवाई यात्रुहरुले चार्डपर्वमा समेत सुभल हवाई सेवा प्रयोग गर्नबाट बञ्चित हुनुपरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन । सो जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वायुसेवा संचालक संघ–नेपालका अध्यक्ष रामेश्वर थापाले दसैंको मुखैमा बढाईएको हवाई इन्धनको चर्को मुल्य बृद्धिको मार अहिले हवाई सेवा सञ्चालकहरुले भोग्नुपरेको बताए । उनले इन्धनको भाउ बढेसँगै हवाई भाडापनि बढेपछि अहिले हवाई यात्रुको चाप विगतका वर्षहरुको तुलनामा निकै कम भएको बताए ।  उनले आयल निगमले हवाई इन्धनमा अत्यधिक नाफा लिई पटक पटक मुल्य बृद्धि गर्दै आएकोमा आफूहरुको गम्भीर असहमति रहेको बताए । एक्कासी रुपमा बृद्धि भएको इन्धनको मुल्यले हवाई यात्रुलाई समेत गम्भिर मार पर्न गएको बताउँदै थापाले भने, ‘सरकारले व्यवसायीसँग लिन मात्र खोज्छ, दिन खोज्दैन । त्यसैले अब व्यवसायी सहन नसक्ने अवस्थामा पुगिसेकका छन ’।  उनले हवाई इन्धनमा भएको बृद्धिले अहिलेको मूल्यमा यात्रु लैजाने अवस्थामा वायुसेवा कम्पनीहरु नरहेको पनि जानकारी दिए । यसअघि गत २६ भदौमा नै सरकार समक्ष वायुसेवा संचालक संघ नेपालले हवाई इन्धनको मुल्य बृद्धिमा असहमति जनाउदै इन्धनको लागि राख्नुपर्ने नगद धरौटीको सट्टा बैंक ग्यारेण्टी स्वीकार्नु पर्ने जस्ता माग राख्दै आएको थियो । सो मागमा सरकार गम्भीर नभएको भन्दै अध्यक्ष थापाले अझै सरकारले यसतर्फ ध्यान नदिए दसैं, तिहार र छठपछि सबै आन्तरिक वायुसेवा बन्द गरेर भएपनि थप विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिए । संघका महासचिव एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले सरकारले चुरोट, खैनी, मदिरा र अन्य सुर्तिजन्य बस्तुहरु जस्तो बारम्वार हवाई सेवालाई पनि उही बेवहार गर्ने गरेकोमा निकै दुःख लागेको बताए । हवाई उडान जस्तो सेवामुलक कम्पनीलाई सरकारले हेर्दै आएको पुरातन शैलीलाई परिवर्तन गरि समय अनुकुल बेवहार गर्न समेत उनले सरकारलाई आग्रह गरे । पहिला हवाई यातायातलाई विलासिताका वस्तुको रुपमा लिइन्थ्यो, अहिले यो सर्वसाधारणको पहुच र आवश्यकता भइसकेको छ, त्यसैले सरकारले सहुलियत दिएर यसलाई उत्प्रेरित गर्नुपर्ने उनले बताए । आपतकालिन उद्धारकालागि हेलिकोप्टरको प्रयोग अहिले समान्य नागरिकले पनि दुर्गम गाउमा समेत गर्न थालेको जानकारी दिँदै उनले सधै सहुलियत दरमा आफूहरुले घाटा खाएर उडान गर्न नसक्ने बताए । वायुसेवा संचालक संघका प्रवक्ता घनश्यामराज आचार्यले अगामी तिहारसम्म सरकारले आफूहरुको माग सुनुवाई नगरे  थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

No comments:

Post a Comment