Wednesday, October 23, 2013

खाडी मुलुक जाने हवाई टिकट पाउन कठिन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ कात्तिक
अहिले साउदी अरब, कतार, मलेसिया र बहराइनलगायत खाडी मुलुकमा जानेहरूलाई हवाई टिकट पाउनै मुस्किल हुन थालेको छ । गत महिनादेखि नै खाडी मुलुक हुँदै अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्दै आएका विमान कम्पनीहरूले भनेको बेलामा हवाई टिकट उपलब्ध गराउन नसकेकाले वैदेशिक रोजगारीका लागि खाडी क्षेत्र जाने तयारीमा रहेकाहरू मारमा परेका छन् । अहिले विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीका लागि कतार, मलेसिया, साउदी अरबलगायतका मुलुकमा जाने तयारीमा रहेका सर्वसाधारण राजधानीमै अलपत्र परेका छन् । भनेको बेलामा टिकट नपाएकै कारण तिहार र छठ मनाउन मलेसियाबाट घर फर्कने नेपाली यात्रुहरू पनि क्लालालम्पुर विमानस्थलमा रोकिनुपरेको छ । पाए पनि धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सेप्टेम्बर, अक्टोबर र नोवेम्बरमा नेपाल भ्रमणमा आउने पर्यटकको चहलपहल, उच्च शिक्षा अध्ययनका लागि बिदेसिनेहरूको चाप र विभिन्न मुलुकबाट दसैं मनाउन घर बिदाबाट फर्कनेहरूको चाप अत्यधिक बढेकाले अहिले खाडी मुलुकका लागि नयाँ टिकट पाउन मुस्किल भएको सम्बन्धित व्यवसायीहरूको भनाइ छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का प्रथम उपाध्यक्ष मधुसूदन आचार्यले अहिले विदेशमा बस्नेहरूले उतैबाट टिकट बनाएर फर्कने दिन यकिन नगरी आउने गरेको र पर्यटकीय मौसम भएकाले यहाँबाट खाडी मुलुकसम्म मात्र जाने हवाई टिकट पाउनै मुस्किल भएको बताए ।
यो समस्या धेरै वर्ष अघिदेखिको भएको बताउँदै आचार्यले भने, ‘यो सबै मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको उडान कमजोर भएकाले नै हो ।’ हरेक वर्ष विदेशी विमानलाई अर्बौं रुपैयाँ बुझाउन सक्ने सरकारले निगमलाई आवश्यक नयाँ जहाज ल्याउने कार्यलाई लिंग¥याउँदै आएका कारण अहिले वैदेशिक रोजगारीमा जानेहरूले अन्तर्राष्ट्रिय हवाई टिकट पाउन नसकेको उनको दाबी छ । उनले अहिलेसम्म सरकारले बढी भाडा लिने कार्य नियन्त्रणका लागि अनुगमनसमेत नगरेकाले गत १५ सेप्टेम्बरदेखि नै हवाई टिकट पाउन मुस्किल भएको जानकारी दिए । अहिले बजेट विमानहरूले समेत अन्य बेलाको भन्दा बढी भाडा लिइरहेको बताउँदै आचार्यले भने, ‘अहिले जेट एयरवेजबाट काठमाडौंदेखि दिल्ली जान एकतर्फी २४ हजारसम्म तिर्नुपर्छ,’ नाट्टाका पूर्वअध्यक्ष रामकाजी कोनेले गत महिनादेखि नै खाडी मुलुकमा टिकट पाउन मुस्किल भएको बताए । उनले नेपाल वायुसेवा निगमले लामो समयदेखि नियमित उडान कटौती गरेकाले अहिले कतार र मलेसियाका लागि हवाई टिकट पाउन कठिन भएको बताए । काठमाडौंबाट सीधा मलेसिया उडान भर्दै आएको मुलुकको राष्ट्रिय ध्वजाबाहक निगमले आपूmसँग भएको एउटा मात्र पुरानो जहाजबाट नियमित उडान गर्न नसकेकाले विशेषगरी नेपाली यात्रुले टिकट अभावको समस्या भोग्नुपरेको जानकारी गराउँदै उनले अहिलेको बढ्दो पर्यटकको चाप र यहाँबाट बिदेशिनेहरूको भीडले हाल सञ्चालित २८ ओटा जहाजको उडान मात्र अपर्याप्त भएको बताए । उनले अहिले युरोपियन मुलुकहरूदेखि सबै मुलुकबाट नेपाल आएर फर्कनेहरूको भीड बढेकाले खाडी मुलुकका लागि नयाँ टिकट उपलब्ध गराउन कठिन भइरहेको बताए ।
उनले यसपालि विगतका वर्षहरूको भन्दा अत्यधिक चाप बढेको बताए । उनले अहिले खाडी मुलुकहरू मात्र नभएर काठमाडौंदेखि दिल्लीसम्मको टिकट पाउन पनि गाह्रो भएको बताए । खाडी मुलुकमा ट्रान्जिट भएर जाने प्रायः सबै अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमान कम्पनीहरूले पाएसम्म धेरै रकम तिर्ने यात्रु पाएसम्म छोटो दूरीका लागि कम पैसा तिर्नेहरूलाई टिकट नदिएको उनको कथन छ । कोनेका अनुसार अहिलेको वर्ष हवाई टिकट खरिद गर्नेहरूको चाप आगामी डिसेम्बरको अन्तसम्म रहनेछ । उनले हरेक वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म सो चाप बढ्ने बताए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलगायत विभिन्न २८ ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले खाडी मुलुकसहित विभिन्न मुलुकमा नियमित उडान भरिरहेका छन् । सम्बन्धित व्यवसायीका अनुसार अहिले सबै विमान कम्पनीहरूका सिट भरिएका छन् । हेरिटेज कनेक्सन टुर एन्ड ट्राभलका प्रबन्ध निर्देशक श्याममदन केसीले कतार एयरबाट दोहा जानेले हाल न्यूनतम २४ हजार देखि ३५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बताए । उनले यो सबैभन्दा सस्तो फेयर भएको जानकारी दिए । उनले एयर अरेबिया एयरबाट सारजा हुँदै दोहा जानेले सबैभन्दा सस्तो प्रतियात्रु १६ हजार ५ सयदेखि २२ हजार रुपैयाँसम्म तिर्नुपर्ने बताए ।

No comments:

Post a Comment