Wednesday, October 23, 2013

काठमाडौ महँगिएछ



मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ५ कात्तिक
लामो समय बिदेसिएर विभिन्न मुलुकबाट स्वदेश फर्किएका गैरआवासी नेपालीहरूले अहिले युरोप, अमेरिका र एसियाली मुलुकहरूको भन्दा नेपालमा झन् बढी महँगी रहेको दाबी गरेका छन् ।
उनीहरूले काठमाडौंको ट्याक्सी भाडा एवं यहाँको सामान्य दैनिक खर्च युरोप र अमेरिका जस्तो विकसित मुलुकहरूमा भन्दा अहिले निकै बढिसकेको पाइएको बताए । अमेरिकाबाट चार वर्षपछि नेपाल फर्किएका एनआरएन हिमग्याप लामा (टासी) ले यहाँको ट्याक्सी चढाइ र सामान्य दैनिक खर्च विदेशको भन्दा धेरै महँगो भइसकेको पाइएको बताए । उनले विदेशको भन्दा काठमाडौंमा सञ्चालित ट्याक्सी भाडा निकै बढिरहेको बताए । यसैगरी, सामान्य होटलमा पसेर खाजा खाएको र घरको दैनिक उपभोग्य वस्तुहरू खरिद गर्दा पनि विगत पाँच वर्षको तुलनामा अत्यधिक बढी पैसा तिर्नुपरेको उनले बताए ।
यसैगरी, बेलायतबाट एक साताअघि स्वदेश फर्किएकी अर्का एनआरएन सुष्मा लामाले पनि अहिले नेपाल युरोप, अमेरिका र एसियाली मुलुकहरूभन्दा धेरै महँगिसकेको बताइन् । उनले आफू पाँच वर्षअघि बेलायत जाँदा खरिद गरेको कुर्ता, साडी र दैनिक उपभोग्य वस्तुहरूको मुख्य अहिले ६० प्रतिशतभन्दा बढीले महँगिएको पाइएको बताइन् । पहिले पाँच रूपैयाँमा पाइने रायोको सागलाई नै अहिले ४० रूपैयाँ तिर्नुपर्दो रहेछ भन्दै लामाले अहिले नेपालको सामान्य दैनिकी बेलायतको भन्दा निकै चर्को रहेको दाबी गरिन् ।
यसैगरी, दक्षिण कोरियाबाट पाँच वर्षपछि नेपाल फर्किएका खेम कार्कीले कोरियामा भन्दा यहाँको बसाइ अत्यधिक खर्चिलो भइसकेको पाइएको बताए । पाँच वर्षमा नै यहाँको महँगी एकदमै अस्वाभाविक रूपमा वृद्धि भएको रहेछ भन्दै कार्कीले भने, ‘यहाँभन्दा त कोरियाको सामान्य दैनिकी निकै सस्तो छ ।’ कार्की नेपाल पत्रकार महासंघ कोरिया शाखाका पूर्वअध्यक्ष हुन् । उनले पनि विगत एक सातादेखि राजधानीका विभिन्न ठाउँमा ट्याक्सी चढेर हिँड्दा र अन्य खर्च गर्दा यहाँको महँगी अत्यधिक बढेको पाइएको बताए ।
विगत लामो समयदेखि बेलायतमा बसेर स्वदेश फर्किएका अर्का एनआरएन होमनाथ शर्माले पनि अहिले युरोपियन देशको भन्दा यहाँको महँगी निकै बढिसकेको पाइएको बताए । शर्माले बेलायतमा पशुपतिनाथको मन्दिर स्थापना गरेर नेपालको झल्को दिलाएका छन् । उनी बेलायतस्थित पशुपतिनाथ मन्दिरका अध्यक्ष पनि हुन् ।  धेरै समय विभिन्न मुलुकमा बस्दै आएका लामा, कार्की र शर्मालगायत मंगलबार राजधानीमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन ) को छैटौं विश्व सम्मेलनमा सहभागी अधिकांश गैरआवासीय नेपालीहरूले युरोपियन मुलुकहरू, अमेरिका र एसियाली देशहरूको भन्दा अहिले नेपालको महँगी धेरै नै अकासिएको बताए ।

No comments:

Post a Comment