Sunday, November 9, 2014

राजधानीमा ७ र मोफसलमा तीन ओटा ५ तारे होटल निर्माण हुँदै, ३८ अर्ब लगानी, ५० हजारलाई एकैसाथ सेवा दिइने हानको दावी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २१ कात्तिक
पर्यटन क्षेत्रमा सुधारसँगै आन्तरिक र विदेशी पर्यटकको संख्या बढ्न थालेपछि नेपाली लगानीकर्ता धमाधम पाँच तारे होटलतिर लगानी गर्न थालेका छन् ।  पछिल्लो समय मुलुकमा देखिएको लगानीमैत्री वातावरणसँगै अहिले पर्यटनकर्मी, औध्योगिक घराना र गैआवसीय नेपाली लगायतले पाँच तारे होटलमा धमाधम लगानी गर्न थालेका हुन् ।
पाँचतारे होटलमा मात्रै ३८ अर्बभन्दा बढी रुपैयाँको लगानी योजना सार्वजनिक भएको छ। होटल एशोसिएसन अफ नेपाल (हान) का  महासचिव विनायक शाहका अनुसार, नेपालमा अबको केही वर्षमा राजनीतिक अस्थिरताको अन्त्य हुने र पर्यटन क्षेत्रमा सम्भावना भएकोले होटलमा लगानी बढेको हो ।नेपालमा पर्यटनको सम्भावना धेरै छ । यसमा लगानी गर्‍यो भने फलिफाप हुन्छ । डुब्दैन भन्ने सबैले बुझेका छन् । त्यसैले होटलमा लगानी बढिरहेको छ,' उनले भने । अहिले काठमाडौं उपत्यकामा सात र बाहिर तीन वटा गरी दशवटा होटलमा लगानी गर्न लागिएको छ । 'काठमाडौं राजधानी भएकोले यहाँ होटल खुल्ने क्रम बढेको छ । उपत्यका बाहिर पर्यटकलाई चाहेजति सुविधा छैन । त्यसैले राजधानी केन्द्रीत होटल होल्ने क्रम पनि बढेको छ,' महासचिव शाहले भने । निर्माणाधिन, बनाउने योजनामा रहेका र आगामी पाँच वर्षभित्रमा सञ्चालनमा आउने गरी तयारी गरिरहेका पाँचतारे होटलमा करिव १८ सय २० कोठा हुनेछन् । यी सबै होटल तयार भइसकेपछि नेपालका सबैखाले होटलमा एकैचोटी ५० हजारभन्दा बढी पर्यटक आएपनि राख्न सकिने महासचिवले शाहले बताए । शाहका अनुसार, नेपालमा चेन होटल खोल्ने चलन बढेको छ । शेष घलेको शेराटनदेखि अरु होटलपनि चेनको रुपमा खोल्न लागिएको उनले जानकारी दिए । उनले भने, 'एसियन देशहरुमा अहिले पर्यटकहरु बढिरहेका छन् । त्यसैले अन्तर्राष्ट्रिय हिसाबले व्यापार गर्ने होटलहरुले नेपालमा पनि सम्भावना देखेर चेन होटलको कन्सेप्टमा भित्रिकएका छन् ।'
कहाँ कहाँ निर्माण हुँदै छन त ५ तारे होटलहरु ?
उपत्यकामा निर्माणको तयारीमा रहेका यस्ता पाँचातारे होटलमा गैरआवसीय नेपाली संघ (एनआएन)का अध्यक्ष शेष घले, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, छायाँदेवी सेन्टर, सुमार्गी ग्रुप, एमएस ग्रुप, सिल्भर हेरिटेज र नेपाल नागरिक उड्डयन प्राधिकरणले काठामडौंमा होटल बनाउने घोषणा गरेका छन्। गैरआवसीय नेपाली संघको संयुक्त लगानीमा र मोतिलाल दुगढ अध्यक्ष रहेको द सेञ्चुरीयन ग्रुप र सिल्‍भर हेरिटेजले पनि उपत्यका बाहिर पाँचतारे होटल निर्माण तयारी गरिरहेका छन्। केशरमहलमा निर्माणको तयारी भइरहेको शेराटन होटलमा आधुनिक सुविधा सम्पन्न दुईसय २० वटा कोठा हुने उल्लेख छ। आगामी तीन वर्ष भित्र नै सञ्चालनको तयारी भएको यो होटलमा करीव आठ अर्ब रुपैयाँ लगानी हुने एनआरएन तथा होटल शेराटन काठमाडौंका अध्यक्ष घलेले बताएका छन्।
नेपालको पर्यटनमा देखिएको पर्यटकीय संभावनालाई दृष्टिगत गरेर होटलमा लगानी गर्न थालिएको अध्यक्ष घलेले बताउँदै आएका छन् । केशरमहलमा बनाउन लागिएको यो होटल घलेको व्यक्तिगत लगानी हो । यसको निर्माण कार्य सुरु भइसकेको छ। यस्तै एनआरएनको संयुक्त लगानीमा अर्को पाँचतारे होटलको पनि तयारी भइरहेको शाहले जानकारी दिए । कम्तीमा दुई सय कोठाको हुने एनआरएनको यो होटलको सम्भाव्यस्थलको खोजी भइरहेको छ। काठमाडौं, चितवन, पोखरा र लुम्बिनीमध्ये एक ठाँउमा होटल बनाउने योजना भएपनि उपत्यका बाहिर देखिएको सम्भावनालाई दृष्टिगत गरेर आजश्यक तयारी भइरहेको छ। एनआरएनले यो होटलमा करिव चार अर्ब लगानी गर्ने तयारी गरिरहेको छ । नेपालको पर्यटन क्षेत्रमा देखिएको सम्भावनालाई व्यवसायमा परिणत गर्नकै निम्ति अजयराज सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री प्रालीले पनि पाँचतारे होटल निर्माणको तयारी गरिरहेको छ। काठमाडौंमा बनाउन लागिएको दुई सय २० कोठाको यो होटलमा पाँच अर्ब लगानी हुने सुमार्गीले जानकारी दिए। युरोपेली चेनमा सञ्चालन हुने यो होटल आगामी तीन वर्ष भित्रमै सञ्चालन गर्ने गरी  निर्माण भइरहेको छ। छायाँ सेन्टरको नाममा ठमेलमा निर्माण सुरु भएको पाँचतारे होटलमा पनि तीन अर्ब लगानी हुने छ। एउटा क्यासिनोसहित आधुनिक सुविधा सम्पन्न दुई सय २० कोठा हुने यो होटल आगामी दुई वर्षभित्रमा नै सञ्चालनको तयारी भइरहेको सेन्टरका प्रवन्ध निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए। उनका अनुसार १४ तलाको एक व्यापारिक भवन पाँचतारे होटल सञ्चालको तयारीमा निर्माणको काम सुरु भइसकेको छ।
अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस)ग्रूपले पनि नक्सालमा दुई सय ३५ कोठाको पाँचतारे होटल निर्माण गरेको छ। साढे दुई अर्ब लगानी हुने यो होटल एभरेष्ट होटल ग्रुपको नामले सञ्चालन हुने एमएस ग्रुपका उपाध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिएका छन्।
आगामी साढे दुई वर्षमा सञ्चालनको तयारी भएको अग्रवालको भनाइ छ। नक्सालको होटल सञ्चालनपछि भक्तपुरमा पनि यही क्षमताको अर्को पाँचतारे होटल सञ्चालनको तयारी ग्रुपले गरिरहेको छ। भक्तपुरमा भने आगामी पाँच वर्ष भित्रमा होटल निर्माण गरी सञ्चालन गर्ने योजना बनाएको अग्रवालले जानकारी दिए। उनका अनुसार भक्तपुरमा निर्माण गर्न लागिएको पाँचतारे होटलमा पनि करीव साढे दुई अर्ब लगानी हुने अनुमान गरिएको छ। काठमाडौ बाहिर द सेञ्चुरी ग्रुपले विराटनगरमा एक अर्बको लगानीमा पाँचतारे होटल निर्माण सुरु गर्ने बताइसकेको छ । मोतीलाल दुगढ अध्यक्ष रहेको यो ग्रुपले पूर्वाञ्चलको व्यापारिक सम्भावनालाई दृष्टिगत गरी होटल सञ्चालको तयारी गरिहेको छ। एक सय २० कोठा रहने यो होटलमा जग्गाबाहेक एक अर्ब लगानीको योजना छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले पनि काठमाडौंमा एक सय ७० कोठको पाँचतारे होटल खोल्ने योजना बनाएका छन्। उनले बनाउने होटलमा करिव दुई अर्बको लगानी हुनुका साथै आधुनिक सुविधा हुने पनि उनको कम्पनी बैद्य अर्गनाइजेशनले जानकारी दिएको छ। यसैगरी नेपाल नागरिक उड्डयन प्राधिरकणले पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिक एक पाँचतारे होटल निर्माण गर्ने तयारी गरिरहेको छ । प्राधिकरणले होटलमा दुई अर्ब लगानी रहने र दुई सयवटा सम्मको कोठा हुने प्राधिकरण स्रोतले बताएको छ। होटल निर्माणका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना क्षेत्रमा रहेको जग्गामा होटल निर्माण गर्न लागेको हो । प्राधिकरणले निजी क्षेत्रसँग सहकार्य गरी होटल निर्माणको प्रस्ताव गरेको छ। यसले निर्माण–सञ्चालन र स्वामित्व हस्तन्तरण (बुट) मोडलमा निर्माण तयारी गरेको हो । यसैगरी नेपालको पर्यटन क्षेत्रमा मुख्य लगानीको आधार बनाएर स्थापना भएको सिल्भर हेरिटेज इन्भेस्टमेन्टले एकैपटक तीनवटा पाँचतारे होटेल निर्माण गर्ने भएको छ। नेपालको पर्यटन र जलविद्युतमा लगानी गर्ने उद्देश्य राखी स्थापना भएको यो कम्पनीले सन् २०२२ सम्ममा तीनवटा पाँचतारे होटेल सञ्‍चालन गर्ने कम्पनीका अध्यक्ष राजेन्द्र बजगाईंले बताएका छन् । उनका अनुसार भैरहवामा १५ बिघा क्षेत्रफलमा दुई सय कोठाको पाँचतारे होटेल निर्माण सुरु भइसकेको छ। त्यो होटेल सञ्चालमा आएपछि काठमाडौं र झापा वा काँकडभिट्टामा पनि होटेल निर्माण सुरु गर्ने उनले जानकारी दिए।  भैरहवामा टाइगर प्यालेस रिसोर्ट नामक पाँचतारे स्तरको होटेल निर्माण भइरहेको बजगाईंले बताए । यो होटलमा ३० मिलियन डलर (करिब तीन अर्ब रुपैयाँ) लगानी गरिने जानकारी सिल्भर हेरिटेजले दिएको छ।
बजगाईंले काठमाडौं र पूर्वको होटलमा पनि तीन/तीन अर्ब रुपैयाँ नै लगानी गर्ने जानकारी दिए । पर्यटनमा देखिको सकारात्मक वावावरणले होटलमा लगानी बढ्न थालेको महासचिव शाहको भनाइ छ । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएको हुनाले पनि होटल खोल्ने होड चलेको बताए । नेपालमा अहिले १० वटा पाँचतारे, दुईवटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, टुरिस्ट क्लास, ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यि होटलमा करिब ४० हजार बेड छन् ।
आगामी पाँच वर्षभित्रका पाँचतारे होटल
होटल     कोठा संख्या     लगानी
काठमाडौं शेराटन     २१८     ८ अर्ब
सुमार्गी ग्रुप      २२०     ५ अर्ब
एनआरएन     २००     ४ अर्ब
छायाँ सेन्टर     २२०     ३ अर्ब
एमएस ग्रुप     २३५     साढे दुई अर्ब
वैद्य अर्गनाइजेशन     १७०     १ अर्ब
नेपाल नागरिक उड्डयन प्राधिकरण     २००     २ अर्ब
द सेञ्चुरी ग्रुप     १२०     १ अर्ब
एमएस ग्रुप भक्तपुर     उपलब्ध छैन     साढे दुइ अर्ब
सिल्भर हेरिटेज भैरहवा     उपलब्ध छैन     ३ अर्ब
सिल्भर हेरिटेज काँकडभित्ता     उपलब्ध छैन     ३ अर्ब
सिल्भर हेरिटेज काठमाडौं     उपलब्ध छैन     ३ अर्ब
जम्मा      ३५ अर्ब

No comments:

Post a Comment