Monday, November 17, 2014

कोठा बृद्धिसँगै २० लाख पर्यटक भित्राउने लक्ष्यकालागि विशेष पहल गर्न हानको माग

काठमाडौ, ९ कात्तिक –होटल व्यवसायीहरुले आगामी ५ वर्षभित्र तारे होटलहरुको कोठा संख्यामा उल्लेख्य वृद्धि हुने निश्चिततालाई मध्यनजर गरी सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सरकारले विशेष पहल गर्नुपर्ने माग गरेका छन ।
होटल एसोसियसन अफ नेपाल ( हान) का अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यसँग भेटी सरकारसँग यस्तो माग गरेका हुन । उनीहरुले हाल पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
मन्त्रीसँगको सो भेटमा हानका अध्यक्ष बीके श्रेष्ठले आगामी ५ वर्षभित्र तारे होटलहरुको कोठा संख्यामा उल्लेख्य वृद्धि हुने निश्चिततालाई मध्यनजर गरी सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सरकारले विशेष पहल गर्नुपर्ने माग गरे । उनले नेपाल पर्यटन बोर्डमा रहेका विद्यमान समस्यालाई यथाशक्य छिटो समाधान गर्दै बोर्ड मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ट्राभल डेस्कहरु स्थापना गरी परिणाममुखी पर्यटन प्रवद्र्धनका कार्यक्रम आयोजना गरी सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन विशेष पहल गर्नुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले क्यासिनोका लागि नेपाल आउने पर्यटकको संख्यामा करिब २ लाखले कमी हुन गई विगत ६ महिनादेखि बन्द रहेका क्यासिनोहरु पुनः सञ्चालनमा ल्याउन व्यावहारिक क्यासिनो सम्बन्धी निर्देशिका जारी गर्नुपर्ने खाँचो रहेको बताए ।
उनले नेपालको पर्यटन प्रवद्र्धन विकासका लागि नेपालको एक मात्र ध्वजावाहक नेपाल वायु सेवा निगमलाई समय सापेक्ष स्तरोन्नति गर्दै नयाँ नेपाली विमान कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्न प्रोत्साहन दिन आवश्यक रहेको बताए । मन्त्री अमात्यले पर्यटन क्षेत्र त्यसमा पनि खरबौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधार स्तम्ब रहेको बताए ।
उनले नेपालको पर्यटन क्षेत्रको विकासमा रहेको विविध समस्याहरुको समाधानका लागि दीर्घकालिन, तत्कालीन र अल्पकालीन योजनाहरु अवलम्बन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले होटल संघ नेपाललाई पर्यटन विकासमा अनुकरणीय भूमिका निर्वाह गर्न सुझाव दिँदै समग्र पर्यटनको विकासका लागि सरकार कटिबद्ध रहेको स्पष्ट पारे । सो प्रतिनिधिमण्डलमा हानका प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव, विनायक शाह, कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ, कार्यकारी सदस्यहरु प्रवीणबहादुर पाण्डे, रामकुमार पुरी, कानुनी सल्लाहकार गान्धी पण्डित र कार्यकारी निर्देशक प्रवेश अर्यालको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment