Monday, November 17, 2014

महासंघ अध्यक्ष पाण्डे र राजदुत धिताल बीच भेटवार्ता

काठमाडौ, ११ कात्तिक–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र स्वीजरल्याण्डका लागि नवनियुक्त नेपाली राजदुत दिपक धिताल बीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो भेटमा महासंघका उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, महानिर्देशक डा. हेमन्त दवाडी समेत सहभागी थिए ।  भेटवार्तामा नेपालमा अन्तराष्ट्रिय प्रविधि, लगानी, शीप आकर्षण तथा अन्तर्राष्ट्रिय मंचहरुमा अल्पविकसित देशहरुको हित प्रवद्र्धनका विषयमा छलफल भएको थियो । सोही राजदुत धितालको स्वागत गर्दै महासंघका अध्यक्ष पाण्डेले मुलुकका लागि आवको आवश्यकता भनेको द्रुत आर्थिक विकासनै भएकाले वाह्य लगानी, शीप तथा प्रविधि भित्र्याउन जरुरी रहेकोमा जोड दिए । नेपालको प्रतिनिधित्व गरेर जेनेभा रहंदा मुलुकको आर्थिक विकासमा अन्तराष्ट्रिय सहयोग बढाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।
अहिले मुलुकको आयात निर्यातको अवस्था चिन्ताजनक भएकाले नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय वजार प्रवद्र्धन गरि निर्यात बढाउनु पर्ने आवश्यकतामा अध्यक्ष पाण्डेको जोड थियो । महासंघले मुलुकभित्र औद्योगिक विस्तारका माध्यमबाट रोजगारी सृजना, कृषिको व्यवसायीकरण, स्थानीयस्तरमा आर्थिक गतिविधि विस्तारलाई विशेष केन्द्र विन्दूमा राखेर कार्य गरिरहेकाले विश्वको राजधानीको रुपमा परिचित जेनेभामा रहंदा नेपालप्रति सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण गराउन, अल्पविकसित राष्ट्रहरुको आवजालाई वुलन्द गर्ने कार्यमा नवनियुक्त राजदुत धितालको सफलताको कामना गरे । उनले मुलुकका आर्थिक मुद्दाहरुमा महासंघले राजदुतसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत दिलाए ।
कार्यक्षेत्रमा जानु अघि नेपाली निजी क्षेत्रसंग भेटवार्ता गर्न महासंघ आएका नवनियुक्त राजदुत धितालले जेनेभामा रहंदा आफूले मुलुकको हितका लागि आफ्नो क्षमताले भ्याएसम्म कार्य गर्ने विश्वास दिलाए । उनले  विशेष आर्थिक मुद्दाहरुमा आफूले महासंघको विज्ञता प्रयोग गर्ने बताए । उनले निजी क्षेत्रको क्षमता विस्तारको आधारनै पूर्वाधार विकास भएकाले पूर्वाधार विकासमा राष्ट्रको ध्यान जानुपर्ने धारणा राखे । उनले नेपालले आफूलाई अन्तर्राष्ट्रिय बजारमा खरो उतार्न नेपालका मौलिक पहिचान रहेका केही निस प्रोडक्टहरुको पहिचान सहित त्यसैको विकास गर्नुपर्ने सुझाव दिए । यसका लागि महासंघ जस्ता संस्थाहरुको नेतृत्वदायी भूमिकामा जोड दिँदै उनले केही महत्वपूर्ण परियोजनाको रुपमा अगाडी आएका पूर्वाधार विकासका कार्यक्रमहरु जस्तो सुरुङमार्ग निर्माणमा नेपाली निजी क्षेत्रले सफलता पाउन सकेमा त्यो विश्वका लागि महत्वपूर्ण उदाहरण हुने बताए ।  अवको आर्थिक विकासको नेतृत्व निजी क्षेत्रबाट मात्र संभव छ भन्दै उनले केही महत्वपूर्ण पक्षहरु जस्तो नविन खोजी, अनुसन्धान तथा विकास (आरएण्डडी), उत्पादन तथा गुणस्तरका विषयमा निजी क्षेत्रले नेतृत्व लिनु पर्नेमा जोड दिए । जेनेमा रहंदा एलडीसीज्ले पाउने सुविधाहरुको अधिकतम उपयोगमा आफूले लवी गर्ने विश्वास निजी क्षेत्रलाई दिलाउंदै उनले निजी क्षेत्रसंग सम्बन्धित मुद्दाहरुमा आफूले सधै नेपाली निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

No comments:

Post a Comment