Saturday, June 21, 2014

साउदी शाखा र काठमाडौं कार्यलय पनि असारभित्रै श्रम ग्राममा सारिने

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, ३१ जेठ
आगामी केही सातापछि वैदेशिक रोजगारीका सबै काम राजधानीको ताहाचलस्थित ‘श्रम ग्राम’बाट सञ्चालन हुने भएको छ । अहिलेसम्म मलेसिया र कतार शाखाबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति दिने काम भइरहेको ‘श्रम ग्राम’मा यही असार महिनाभित्रै साउदी शाखा र हाल भाडाको तीनकुनेस्थित साँघुरो भवनमा सञ्चालित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय पनि सारिने भएको छ ।
वैदेशिक रोजगारसम्बन्धी सबै काम एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ अघि सारेको अवधारणाअनुसार श्रम तथा रोजगार मन्त्रालयले दिएको निर्देशनअनुसार वैदेशिक रोजगार विभागले सो कार्यलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन तीव्रता दिएको हो । जसका लागि अहिले विभागले ताहाचलस्थित नेपाल ट्रस्टको नाममा रहेको करिब २१ रोपनी जग्गा भएका पुराना टहरा एवं भवन मर्मत र नयाँ बनाउने कार्यलाई तीव्रता दिएको जनाएको छ । नयाँ शाखा विस्तारका लागि अहिले श्रम ग्राममा भएका पुरानो भवन मर्मत कार्य सकिएको र नयाँ बनाउने क्रम पनि जारी रहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक जगन्नाथ देवकोटाले आगामी असार महिनाभित्रै साउदी शाखा र यस विभागको काठमाडौं कार्यालयपछि ‘श्रम ग्राम’ मा सार्ने तयारी भएको बताए । उनले सकेसम्म आगामी १५ असारमा र यदि सकिएन भने पनि असार महिनाभरि हाल सञ्चालित मलेसिया र कतार शाखासँगै साउदी शाखा र यस कार्यालय पनि सरिसक्ने बताए । अर्थ मन्त्रालयबाट श्रम मन्त्रालय हुँदै गत १ जेठमा विभागको नेतृत्व सम्हाल्न पुगेका देवकोटाले आपूmले विभागको काम थालेको एक महिनामा साउदी र काठमाडौं कार्यालयलाई श्रम ग्राममा नै सार्नका लागि आवश्यक सबै तयारी पूरा गर्न सफल भएको दाबी गरे ।
विभागमा भइरहेको ढिलासुस्तीको समस्या रोकी सेवाग्राहीलाई जतिसक्दो छिटो काम गर्न आपूm प्रतिबद्ध रहेको बताउँदै उनले यहाँ भाडामा लिएको साँघुरो भवनबाट भइरहेको श्रम स्वीकृति दिनेलगायतका सबै काम अब श्रम ग्रामबाटै व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको बताए । आपूm विभागमा आए पनि पहिलेको भन्दा श्रम स्वीकृति दिने कार्यमा निकै सुधार भएको दाबी गर्दै उनले अहिलेको लक्ष्यअनुसार काम गर्दै जाँदा कुनै अवरोध नभए आगामी १५÷२० दिनभित्र साउदी शाखा र काठमाडौं कार्यालय श्रम ग्राममा पुगिसक्ने जानकारी दिए । उनले श्रम ग्रामबाट सेवाग्राहीलाई सबै सेवा उपलब्ध गराउने उद्देश्यले विभागले हाल यस कार्यालयबाट रकम जम्मा गर्नेलगायतका बैंकिङ कारोबार गरिरहेको बैंकलाई पनि श्रम ग्रामभित्रै एउटा काउन्टर सञ्चालन गर्न दिने बताए । उनले बैंकको काउन्टर पनि श्रम ग्राममा नै सरेपछि वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक जीवन बिमासम्बन्धी काम गर्दै आएका बिमा कम्पनीहरू ताहाचल जाने बताए ।
अहिलेसम्म ताहाचलमा त्यसै खेर गइरहेको उपयोगविहीन जग्गालाई लामो समयसम्म सहुलियत लिजमा लिएर विभागअन्तर्गत काठमाडौं कार्यालयका सबै शाखा स्थानान्तर गरी श्रम ग्रामबाट सञ्चालन गर्ने बताउँदै महानिर्देशक देवकोटाले भने, ‘विगतका महिनाहरूको तुलनामा अहिले सेवाग्राहीको चाप केही घटेको छ ।’ अहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुकतर्फ जाने अनुकूल मौसम नभएकाले पनि अघिल्ला महिनाहरूको भन्दा सेवाग्राहीको चाप केही घटेको उनको भनाइ छ ।
वैदेशिक रोजगारसम्बन्धी सबै काम एउटै छानोमुनि उपलब्ध गराउने लक्ष्यका साथ ‘श्रम ग्राम’को अवधारणाबमोजिम सरकारले गत २४ चैतदेखि औपचारिक रूपमा ‘श्रम ग्राम’ स्थित मलेसिया र कतार शाखाबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति दिने काम सुरु गरेको थियो । सरकारको सोही अवधारणाअनुसार श्रम तथा रोजगार मन्त्रालयले त्यसबेला पहिलो पटक राजधानीको ताहाचालस्थित ‘श्रम ग्राम’को मलेसिया र कतार शाखाबाट श्रम स्वीकृति दिने काम सुरु गरेको थियो ।
यस श्रम ग्राम सञ्चालनका लागि अहिले सरकारले राजधानीको ताहाचलस्थित नेपाल ट्रस्टको नाममा रहेको करिब २१ रोपनी जग्गा दिएको छ । हाल सञ्चालित श्रम ग्रामस्थित कतार र मलेसिया शाखा कार्यालयको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गरेका थिए । त्यसबेला उनले कामदारलाई सहज रूपमा सेवा दिन सबै काम एकै ठाउ“बाट उपलब्ध गराउने लक्ष्यबमोजिम श्रम ग्रामको अवधारणा अघि सारिएको जानकारी गराउँदै सरकारको लक्ष्यअनुसार अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
उनले श्रम ग्रामस्थित नयाँ शाखाका कर्मचारीहरूलाई पुरानो स्थानको भन्दा निकै सहज रूपमा सेवाग्राहीको काम गर्न आग्रह गरेका थिए । मन्त्री गुरुङले पनि मन्त्रालयको लक्ष्यअनुसार काम भएमा चालू आवभित्रै वैदेशिक रोजगारीसम्बन्धी सबै काम श्रम ग्रामबाटै सम्पन्न हुने बताएका थिए ।
विभागका महानिर्देशक देवकोटाले सरकारी स्वामित्वको नेपाल ट्रस्टको नाममा रहेको अहिलेसम्म उपयोगविहीन अवस्थामा त्यसै खेर गइरहेको जग्गालाई सदुपयोग गरी मुलुककै नमुनाको रूपमा सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने लक्ष्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइने बताए । उनले अहिलेसम्म त्यसै खेर गइरहेको उपयोगविहीन जग्गालाई लामो समयसम्म सहुलियत लिजमा लिएर विभागअन्तर्गत काठमाडौं कार्यालयका सबै शाखा स्थानान्तर गरी सञ्चालन गर्ने काम थालिएको बताए ।
उनले वैदेशिक रोजगारीमा जाने कामदार म्यानपावर व्यवसायी र अन्य सेवाग्राहीलाई पहिलेको भन्दा सहज रूपमा छिटो सेवा दिई वैदेशिक रोजगारीको क्षेत्रलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले मन्त्रिपरिषद्को गत २७ मंसिरको निर्णयअनुसार वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौं कार्यालयका साउदी अरब, मलेसिया र कतार शाखा स्थापना गरिएअनुसार गत २४ चैतदेखि नै ती कार्यालयहरूमध्ये पहिलो चरणमा मलेसिया र कतार शाखाबाट सेवा सञ्चालन सुरु गरिएको जानकारी दिए ।
उनले अब श्रम ग्रामभित्र सञ्चालित मलेसिया र कतारलगायत काठमाडौंका विभिन्न पाँचओटै शाखालाई नमुनाको रूपमा विकास गरिने लक्ष्य लिएको बताए । हाल मलेसिया र कतारको संस्थागत श्रम स्वीकृतिका सबै काम ताहाचलबाटै भइरहेको जानकारी दिँदै उनले अब तीनकुनेस्थित विभागबाट हुँदै आएका सबै संस्थागत, पूर्व र अन्तिम श्रम स्वीकृतिको काम ताहाचलबाटै सञ्चालन हुने बताए ।
हाल वैदेशिक रोजगार विभागको कार्यालय तीनकुनेमा, श्रम विभाग बानेश्वर, ईपीएस कोरिया शाखा ललितपुर ग्वार्को र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय अनामनगरमा रहेकाले सेवाग्राहीले श्रमसम्बन्धी काम गर्न फरक–फरक स्थानका कार्यालय जानुपरेकाले निकै सास्ती भोग्दै आएका छन् । जसले कामदारलाई एउटै काम गर्न पनि विभिन्न ठाउ“मा धाउनुपर्ने समस्या छ ।
विभागले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति दिने काम गर्दै आएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कामदारस“ग प्रवद्र्धन कोÈका लागि रकम लिने, विदेश गएका कामदारको हकहितमा काम गर्ने र कामदारको अंगभंग वा मृत्यु भएमा अध्ययन गरी Ôतिपूर्ति उपलब्ध गराउनेलगायतका काम गर्दै आएको छ । यसअघि, वैदेशिक रोजगार विभागले कामको चाप अत्यधिक बढेपछि शाखा कार्यालय स्थापना गरेर काम विकेन्द्रित गर्ने रणनीति बनाएको थियो । अहिले श्रम ग्रामको अवधारणा अघि सारिएपछि विभागको काम विकेन्द्रित गरी शाखा कार्यालयमार्फत गरिनेछ । तर, शाखाहरू भने सोही ग्राममै राखिने सम्बद्ध अधिकारीले जानकारी गराएका छन् ।
अहिलेसम्म विभागमा पूर्वस्वीकृति र अन्तिम स्वीकृतिका लागि बिहान ६ बजेदेखि सा“झसम्म सेवाग्राही लाइनमा बस्ने गर्छन् । हाल दैनिक करिब २ हजार ५ सयभन्दा बढी युवायुवती वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने गरेका छन् । अहिलेसम्म श्रम स्वीकृति लिएर करिब ३१ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
 व्यक्तिगत भन्दा संस्थागत ठगी उजुरी दोब्बर
काठमाडौं, ३१ जेठ – पछिल्लो समयमा वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीका नाममा हुने ठगीमा व्यक्तिगत ठगी उजुरीको संख्याको तुलनामा संस्थागत ठगीको उजुरी संख्या ह्वात्तै बढेर गएको छ । पहिले–पहिले ठगी दाबी रकम मात्र होइन, उजुरी संख्या पनि व्यक्तिगत उजुरीकै बढी हुने गथ्र्याे । तर, अहिले समग्र रूपमा अहिलेसम्म परेको उजुरी संख्या हेर्दा व्यक्तिगत उजुरीको तुलनामा संस्थागत उजुरीको संख्या दोब्बरभन्दा बढी हुन पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वैशाख महिनामा व्यक्तिगत ठगीविरुद्ध ७९ ओटा उजुरी विभागमा दर्ता भएका थिए । यसैगरी, संस्थागत एवं म्यानपावर कम्पनीहरूविरुद्ध सोही अवधिमा कुल १ सय ६९ ओटा उजुरी दर्ता भएका थिए । विभागका अनुसार सो उजुरीका आधारमा व्यक्तिगततर्फ कुल ६ करोड ३८ लाख ५१ हाजर ७ सय रुपैया“ ठगी भएको दाबी गरिएको छ ।
यसैगरी, संस्थागत उजुरीमा ३ करोड ५० लाख ८४ हजार ५ सय ११ रुपैया“ ठगी भएको दाबी गरिएको छ । अहिलेसम्मको तथ्यांकमा उल्लिखित दाबीमध्ये व्यक्तिगत उजुरीतर्फ ७६ लाख ३८ हजार रुपैया“ फरफारक भएको र संस्थागत उजुरीतर्फ ४५ लाख ८८ हाजर १ सय २५ रुपैया“ फरफारक भएको विभागले जनाएको छ ।
विभागमा ठगीविरुद्ध उजुरी र ठगी रकमको परिमाण बढेर गए पनि विभागबाट अदालतमा मुद्दा दायर गर्ने क्रम भने अपेÔित रूपमा निकै कम हुन थालेको छ । विभागको तथ्यांकअनुसार गत वैशाखमा व्यक्तिगत ठगी उजुरीतर्फ आठओटा मुद्दा दायर भए पनि संस्थागत ठगी उजुरीतर्फका एउटा मुद्दा पनि अदालतमा पुगेन । यसैगरी, ठगी उजुरीमा वैशाखमा विभागले कारबाही एवं सजायका हकमा व्यक्तिगत र संस्थागततर्फ कुनै रकम निर्णय नगरेको पनि जनाएको छ ।
कामदारको समस्या कूटनीतिक रूपमा न्यूनीकरण गरिने
काठमाडांै, ३१ जेठ – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर समस्यामा परेका कामदारको सुरक्षा र सुरक्षित उद्धारका लागि सरकारले कूटनीतिक रूपमा पहल गर्ने भएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका कामदार आर्थिक तथा कानुनी समस्यामा पर्ने क्रम बढ्दै गएपछि सरकारले कूटनीतिक पहल अघि बढाएको हो ।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकमा रहेका नेपाली दूतावासलाई परिचालन गरी विभिन्न कारणले समस्यामा रहेका नेपाली कामदारको अध्ययन र उनीहरूको समस्या न्यूनीकरणको थालनी गरेको जनाएको छ । मलेसियालगायत खाडीका मुलुकमा ठूलो संख्यामा अहिले नेपाली कामदार उद्धारको पर्खाइमा रहेको बुझिएको छ । ती मुलुकमा हजारौं नेपाली कामदार जेल भुक्तान गरिरहेका र आर्थिक तथा शारीरिक शोषणमा रहेका विभिन्न अध्ययनले देखाएपछि सरकारले कूटनीतिक रूपमै उनीहरूको समस्या न्यूनीकरणको पहल थालेको हो ।
दूतावासका उच्च अधिकारीलाई जेलमा रहेका तथा विभिन्न समस्यामा परेका कामदारको अध्ययन गर्न सरकारले निर्देशन दिएको बुझिएको छ । कुन मुलुकमा कस्ता समस्या छन् ? नेपाली कामदार भनेर अध्ययन गर्न र आवश्यक कानुनी उपचार खोज्न दूतावासलाई आग्रह गरिएको जनाइएको छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार कामदारको समस्यालाई नजिकबाट बुझेर उनीहरूको उद्धार तथा कानुनी उपचार सुरु गर्न दूतावासलाई परिचालन गरिएको छ । मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले विदेशमा समस्यामा रहेका कामदारका विषयमा सरकारले चासो बढाएको र दूतावासमार्फत कानुनी उपचार थालेको बताए । उनले परराष्ट्र मन्त्रालयमार्फत नै दूतावासलाई पत्राचार गर्ने र उनीहरूको अवस्थाका विषयमा सरकारलाई जानकारी गराउने काम थालेको बताए । कामदारको समस्यालाई ध्यानमा राखेर अहिले सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौता गर्ने कामलाई पनि अघि बढाएको मन्त्रालयले जनाएको छ ।
श्रमसम्झौताका लागि कूटनीतिक रूपमा पहल थालिएको छ । मलेसियामा अहिले करिब १ हजार नेपाली कामदारले जेलजीवन भुक्तान गरिरहेको सरकारी अनुमान छ । यसैगरी, अहिलेसम्म साउदी अरब र कतारलगायतका मुलुकमा दर्जनौं व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ भने सैयौं व्यक्ति आर्थिक शोषणमा परेका छन् । कतिपय कामदार मानसिक रूपमा पनि विक्षिप्त हुन थालेको जनाइएको छ । कामका सिलसिलामा मलेसिया पुगेका उनीहरूमाथि रोजगारादाताले अमानवीय व्यवहार गर्ने गरेको पाइएको छ ।
कतिपय मुलुकले गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फर्कन निश्चित समयावधि तोके पनि त्यसको उपयोग नगर्ने कामदार अहिले जेलमै रहेको विभिन्न दूतावासले सरकारलाई जानकारी गराइरहेका छन् । अवैधानिक रूपमा बसेका र विभिन्न आपराधिक कार्यमा संलग्न कामदारले जेलजीवन बिताइरहेको बताइएको छ । केही महिनाअघि मात्र मलेसियामा जेलजीवन बिताइरहेका कामदारका विषयमा त्यहा“स्थित नेपाली दूतावासले अनुगमन टोली खटाएर जानकारी लिने प्रयास गरेको भए पनि सो प्रयास पनि खासै प्रभावकारी भएको देखिँदैन ।
मलेसियामा रहेका ३२ ओटा जेलमध्ये नेपाली रहेका जेलमा पुगेर यकिन अवस्थाबारे जानकारी लिने उद्देश्यले दूतावासले सो प्रयास गरेको थियो । अझैसम्म मलेसियामा रहेका नेपालीका बारेमा यकिन तथ्यांक दूतावासस“ग पनि छैन । विभिन्न म्यानपावर कम्पनीले नेपाली कामदारलाई एउटा काम भनी अर्कै काममा विदेश पठाउने गरेको र कामदार त्यहा“ पुगेपछि समस्यामा पर्ने गरेका छन् । कतिपय कामदार यहा“ भनेको काम नपाएपछि रोजगारदाताले दिएको जोखिमपूर्ण काम गर्न बाध्य छन् । रोजगारीका लागि बिदेसिने क्रम बढ्दै गइरहेका समयमा कामदार ठगिने र समस्यामा पर्ने क्रम पनि बढ्दै गएको सरकारी भनाइ छ । सोही समस्या न्यूनीकरणका लागि सरकारले खाडीलगायत विभिन्न गन्तव्यमा श्रम सम्झौता गर्ने काम अघि बढाएको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment