Friday, June 27, 2014

कतार एयरवेजको नियुक्तिमा पैसा नलाग्ने



काठमाडौं, ११ असार –कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेजले खुलाएको रोजगारीको अवसर पाउन एक पैसा पनि तिर्नु नपर्ने नियुक्ति साझेदारले प्रस्ट्याएको छ ।
कम्पनीले विभिन्न तहमा पाँच सय ८० नेपाली कर्मचारी लिन विज्ञापन गरेसँगै ‘मिलाइदिन्छु’ भन्दै सर्वसाधारणसँग पैसा उठाउने दलालहरु सल्बलाउन थालेको नियुक्ति साझेदार स्टाफ सोर्स इन्टरनेसनल (एसएसआई) ले जनाएको छ । ‘तर, त्यो रोजगारीमा एक रुपैयाँ पनि तिर्नु पर्दैन । यो पूर्णतः निःशुल्क छ । पैसा तिर्ने व्यक्ति उल्टै अयोग्य ठहरिन्छ,’ एसएसआई प्रमुख अशोक श्रेष्ठले भने। यसअघि नियुक्तिका क्रममा कामदारसँग पैसा लिएको थाहा पाएपछि रोजगारदाता कतार एयरवेजले नेपाली कामदार लिनै छाडेको उल्लेख गर्दै श्रेष्ठले बिहीबार साँझ आयोजित पत्रकार भेटघाटमा बताए । कतार एयरवेजको जागिर आकर्षक भएकोले ठगहरु सल्बलाउन थालेको सुइँको आफूहरुले पाएको उनले बताए ।
श्रेष्ठका अनुसार कतार एयरवेजमा काम पाउने सबैभन्दा तल्लो तहको कामदार (लेबर, लोडर)ले १६ सय कतारी रियाल तलब पाउँछ । त्यसबाहेक बस्ने सुविधा कम्पनीले दिन्छ । कम्पनीले उपलब्ध गराएको आवासमा बस्न नचाहनेलाई एक हजार रियाल आवास भत्ता उपलब्ध गराउने तर, पाँच सय रियालले स्तरीय आवासमा बसेर पाँच सय बचाउन सकिने उनले जानकारी दिए । विगतमा पैसाको चलखेल हुँदा वर्षेनी हजार हाराहारी नेपालीले पाउने रोजगारीको अवसर गुमेकोले यसपालि विशेष चनाखो भएर सर्वसाधारणलाई सचेत गराउन खोजिएको उनले बताए । श्रेष्ठका अनुसार स्टाफ सोर्स इन्टरनेसनलले श्रीलंका, नेपाल, भारत, बंगलादेश, इन्डोनेसिया, म्यानमार र फिलिपिन्सको नियुक्ति गर्ने जिम्मेवारी पाएको छ ।
कामदारको छनोट रोजगारदाता कम्पनीकै अधिकारीले गर्ने र योग्यताको आधारमा छानिने उनको भनाइ छ । कागजात र अंग्रेजी बोल्ने क्षमताका आधारमा उम्मेदवार छनोट गर्न कतार एयरवेजका विभिन्न तीनवटा सहायक कम्पतीका सातजना अधिकारी यसै साता नेपाल आउने श्रेष्ठले जानकारी दिए । कामदार÷कर्मचारी छान्न कतार क्राफ्ट कर्पोरेसन, ग्राउन्ड ह्यान्डलिङ सर्भिसेज र कतार एभिएसन कर्पोरेसनका सातजना अधिकारी आउने छन् । संसारका १० उत्क वायुसेवा कम्पनीभित्र पर्ने कतार एयरवेज त्यहाँको सरकारी कम्पनी हो ।
यो नियुक्तिमा पैसा लेनदेन गरेको थाहा पाए वर्षेनी हजार हाराहारी नेपालीले पाउने अवसर गुम्न सक्ने श्रेष्ठले बताए । यसअघि ५–६ वर्षअघि म्यानपावर एजेन्सीले ४–५ लाख रुपैयाँसम्म लिएको थाहा पाएपछि उक्त एयरवेजले तीन चार वर्षसम्म नेपाली कामदार लिनै छाडेको थियो । ‘नियुक्तिका लागि कुनै एजेन्ट तोकिएको छैन, सिधै आउनु प¥यो, अंग्रेजी बोल्नु प¥यो । एजेन्टबाट कोही आयो भने रिजेक्ट हुन्छ,’ यो अवसर नेपाल ल्याउन आफूले ठूलो मेहनत गर्नुपरेको भन्दै श्रेष्ठले थपे, ‘मेडिकल, इन्स्योरेन्स र श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार विभागमा बुझाउने समेत गरी लगभग ६ हजार नौ सयबाहेक एक रुपैयाँ पनि तिर्नु पर्दैन ।’
कसैले काम मिलाइदिन्छु भन्दै पैसा मागेको खण्डमा श्रम विभाग, प्रहरी र एसएसआईलाई जानकारी गराउन पनि उनले आग्रह गरे । आफूले उच्चस्तरको रोजगारी दिने कम्पनी नेपाल ल्याउन पहल गरिरहेको र निकट भविष्यमै कतारमा बन्न लागेको मेट्रोले यस्तै आकर्षक रोजगारीको अवसर प्रदान गर्ने र त्यसमा पनि बढी भन्दा बढी नेपालीलाई मौक दिन प्रयास गर्ने उनले बताए ।
३५ वर्षअघि बिदेसिएका श्रेष्ठ बेलायती नागरिक हुन् । उनले कतारी साझेदारसँग मिलेर नियुक्ति कम्पनी खोलेको बताए । आफ्नो कम्पनी रोजगार एजेन्ट नभई कतारको सरकारी निकायको नियुक्ति साझेदार (रिक्रुटमेन्ट पार्टनर) भएको बताए । आफ्नो कम्पनी र नेपालको साझेदार रियल रेडियन्टलाई यो नियुक्तिमा सघाएबापत कतार एयरलाइन्सले नै कमिसन दिने उनले बताए । ‘हामीले आवश्यक कमिसन उतैबाट पाउँछौं । लगेको मान्छेको ग्यारेन्टी पनि हाम्रो कम्पनीले लिन्छ,’ उनले भने ।

No comments:

Post a Comment