Sunday, July 6, 2014

कामदारलाई कुनै पनि बहानामा दुःख नदिन श्रममन्त्रीको आग्रह

काठमाडौं, १७ असार –श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा २४ प्रतिशत योगदान रहेकाले विदेशिने कामदारलाई कुनै पनि बहानामा दुःख नदिन सम्बन्धीत व्यवसायी एवं सरोकारवालालाई आग्रह गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलबार सम्पन्न २२ औ वार्षिकोत्सवको अवसरमा मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन ।
वैदेशिक रोजगारीका लागि विदेश जाने कामदारलाई केही म्यानपावर व्यवसायी,दलाल र एजेन्टले ठगी गरेको भन्ने जनगुनासो आइरहेकाले अब त्यस्ता कार्यलाई नियन्त्रण गर्न संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले व्यवसायीलाई पनि कामदार पठाउनुभन्दा पहिले कामदार जाने मुलुकका बारेमा सबै जानकारी गराएर मात्र पठाउन समेत आग्रह गरे। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यो व्यवसायमा देखिएका समस्या समाधान गर्न महासंघसँधै तयार रहेको बताए । रेमिटयान्स रकमलाई स्वदेशमै रोजगारी दिने खालका उत्पादन मुलक क्षेत्रमा खर्च गर्न आग्रह गरे ।
संघका अध्यक्ष हंसराज वाग्लेले वार्षिकोत्सवकै अवसरमा वैदेशिक रोजगार ऐन संसोधन एवं परिमार्जन गराउनका लागि संघले तयार गरेको मस्यौदा मन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए । अध्यक्ष वाग्लेले अहिले वैदेशिक रोजगार ऐन संसोधनका लागि विभिन्न एनजिओ, आईएनजिओ लागेको भन्दै त्यस्ता संस्थाले ऐन संसोधन गराउन नसक्ने दावी गरे ।
सरकारले पनि व्यवसायीलाई सहभागी नगराइकन नयाँ ऐन ल्याउने प्रयास गर्छ भने व्यवसायीलाई मान्य नहुने समेत चेतावनी दिए । अहिले श्रम तथा रोजगार मन्त्रालयमा विभिन्न एनजिओ, आईएनजिओ बढी हावी भएको बताउँदै उनले त्यस्ता संस्थाको विषयमा मन्त्री गुरुङलाई सचेत हुन समेत आग्रह गरे ।
अहिले वैदेशिक रोजगार प्रवर्दन बोर्डले मन्त्रालयमा गलत तथ्याङक पेश गरेर व्यवसायीलाई ठगको आरोप लगाएको भन्दै बोर्ड विभागसँग आवश्यक डाटा लिने तयारीमा संघ रहेको समेत उनले जानकारी दिए । संघका पुर्व अध्यक्षहरू, तिलक रानाभाट, प्रेम कटुवाल, सल्लाहकार विमल ढकाल लगायतका व्यवसायीहरूले संघका पदाधिकारीहरूलाई व्यवसायीबीचको कार्यगत एकतामा जोड दिन आग्रह गरेका थिए ।  व्यवसायी एकजुट नभएकै कारण अहिले संघमाथी चौतर्फी आक्रमण भएको भन्दै उनीहरूले व्यवसायी एकजुट भएमा संघले ऐन संसोधन लगायत अन्य काम गर्न कसैसँग गुहार माग्न नपर्ने धारणा राखेका थिए । सोही अवसरमा संघले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

No comments:

Post a Comment