Wednesday, September 25, 2013

सिए, डाक्टर र वकिलमाथि छानविन गर्न राजस्वको पत्र, दश हजार वकिल हजारसँग प्यान, सय जना मात्रै भ्याटमा, डाक्टर र लेखापरीक्षकको पनि उस्तै

काठमाडौं, ९ असोज – आन्तरिक राजस्व विभागले डाक्टर, वकिल र लेखापरीक्षकमाथि छानविन गर्न कर कार्यालयहरुलाई परिपत्र जारी गरेको छ । विभागले गत विहीबार सबै कर कार्यालयहरुलाई पत्र पठाएर डाक्टर, वकिल र लेखापरीक्षक कर दर्ता भए नभएको र दर्ता भएकाले कर तिरे नतिरेको अनुगमन गर्न निर्देशन दिएको हो । यस्ता सेवा क्षेत्रमा लाग्नेले  अपेक्षित मात्रामा कर नतिरेको भन्दै सरकारी निकायले उक्त तीन वटा पेशा गर्नेमाथि निगरानी बढाएको छ । करिब दुई साता अघि राजस्व अनुसन्धान विभागले नेपाल वार एशोसिएसनका पुर्वअध्यक्ष शम्भु थापा सहित छ जनाको फर्म तथा कार्यालयमा छापा मारेको थियो । सबै वकिलहरु करमा दर्ता छैनन् । दस हजार भन्दा बढी वकिल पेशामा सक्रिय रहेको तर करमा भने एक हजार जति मात्रै दर्ता भएका छन् । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार करिब एक हजारले प्यान नम्बर लिएका छन भने एक सयको हाराहारीमा मात्रै भ्याटमा दर्ता छन् । बाकी सबै करको दायरा बाहिर रहेको भन्दै विभागले कर कार्यालयमार्फत छानविन गर्ने र करको दायरामा ल्याउने गृहकार्य थालेको हो । केही वकिलले निकै ठूलो आम्दानी गर्ने र कर नतिर्ने गरेको अनुमान पनि विभागको छ ।‘तत्काल छानविन सुरु हुन्छ’, आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्माले भने, ‘जसले सहि हिसाबबाट कर तिरेको छ, उसले आफ्नो विवरण देखाए पुग्छ । तर, जसले तिरेको छैन उसलाई कानुनी प्रक्रियाबाट दायरामा ल्याउछौं ।’ डाक्टर र लेखापरीक्षक करमा दर्ता भए पनि तिर्नुपर्ने जति कर नतिरेको अनुमान पनि विभागको छ । लेखापरीक्षकले कर छल्न सहयोग गरेको निष्कर्षमा विभाग पुगेको छ । ‘कतिपय लेखापरीक्षकले कर बुझाइदिने भन्दै पैसा लिएर आफ्नै खातामा राखेको गुनासो पनि करदाताले गरेका छन्’, महानिर्देशक शर्माले भने ‘यस्ता लेखापरीक्षक माथि छानविन सुरु हुन्छ ।’ विभागले गत विहीबार नै यस्ता घटनामा छानविन गर्न र बास्तविकता पत्ता लगाएर कारवाही सुरु गर्न निर्देशन दिइसकेको छ ।
करदाताले लेखापरीक्षकलाई विश्वास गरेर कर तिर्नका लागि पैसा समेत दिने र लेखापरीक्षकले कर नतिरेर आफ्नै खातामा राखेको पनि भेट्टिएको विभागका अधिकारीहरुले जनाएका छन् । प्रमाणपत्र नविकरण गर्न पनि लेखापरीक्षकहरु करमा दर्ता भएका हुन्छन् । कारोबार गलत देखाएर राजस्व छल्ने गरेको आरोप उनीहरुलाई छ । डाक्टरहरुले अस्पताल र नर्सिङहोममा काम गरे वापत पाउने पैसाको कर तिर्ने गरेको तर व्यक्तिगत क्लिनिक र घरमै उपचार गराउँदा लिएको शुल्कको कर नबुझाएको राजस्वका अधिकारीहरुले बताएका छन् । व्यक्तिगत क्लिनिक र घरमै विरामीको जाँच गर्ने डाक्टरलाई पनि अनुगमनको दायरामा राख्ने विभागले जनाएको छ ।

No comments:

Post a Comment