Tuesday, December 17, 2013

कालोसूचीबाट हट्न उडान विज्ञ ल्याइने

काठमाडौं, १ पुस - युरोपको कालोसूचीबाट सकेसम्म चाँडो हट्न उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालन विज्ञ ल्याउने निर्णय गरेको छ। यस्ता विज्ञ (वरिष्ठ पाइलट) ले प्रत्येक वायुसेवा कम्पनीका उडान सुरक्षा जाँच गर्नेछन्। उनीहरूले वायुसेवा कम्पनीको मात्र नभई प्राधिकरणको पनि 'अडिट' गर्ने अख्तियारी पाउनेछन्।
'हामी केही दिनभित्रै उडान सञ्चालन विज्ञ ल्याएर उड्डयन सुरक्षा चुस्त बनाउने तयारीमा लागेका छौं,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने, 'यसका लागि मागिएको कोटेसनमा दुई विदेशी कम्पनीले चासो देखाएका छन्।'उडान सञ्चालन विज्ञलाई कम्तिमा तीन महिनाका लागि काममा लगाइने समुनले बताए। तत्कालका लागि दुई विदेशी परामर्शदाता कम्पनीको कोटेसन परे पनि यसमा स्वदेशी विज्ञ पनि पर्न सक्ने उनले जानकारी दिए। दुईजना नेपाली र दुई विदेशी पनि हुन सक्ने उनको भनाइ छ।
'त्यस्ता विज्ञले हाम्रा विभिन्न वायुसेवा कम्पनीका प्रत्येक उडानमा पाइलट बस्ने ककपिटभित्रै बसेर सुरक्षाबारे विस्तृतमा निरीक्षण गर्छन्,' उनले भने, 'यसले युरोपेली आयोगको कालोसूचीबाट हट्न ठूलो मद्दत गर्ने विश्वास छ।'
सुमनका अनुसार विज्ञलाई तीन महिनासम्म काममा लगाउन प्राधिकरणकै बजेटबाट ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कोटेसनको काम पूरा गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। विदेशी पाइलट भए वायुसेवा कम्पनीमा जहाज उडाइरहेका भए पनि फरक नपर्ने तर, नेपाली विज्ञका लागि भने पूर्वपाइलट हुनुपर्छ।
'विज्ञले के कति सेवा सुविधा लिन्छन् भन्ने वार्ताबाट तय गर्छौं,' उनले भने, 'प्याकेजमा पनि हुन सक्छ र व्यक्तिगत आउनेलाई त्यसैअनुसार पनि हुन सक्छ।'
युरोपेली आयोगले गत मंसिर २० मा नेपालका सबै वायुसेवा कम्पनीलाई युरोपेली युनियन (इयु) अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गरिएको 'इयु हवाई सुरक्षा सूची' सार्वजनिक गरेको थियो। त्यसैगरी आफ्ना नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न पनि आयोगले आग्रह गरेको थियो।
विभिन्न स्रोतबाट प्राप्त नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि आयोगले इयु हवाई सुरक्षा सूचीमा नेपाली वायुसेवालाई राखेको जनाएको थियो।
आयोगका अनुसार अब नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोप आउन र ईयुभित्र उडान गर्न पाउँदैनन्। त्यसै गरी युरोपेली वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरूले नेपालमा हवाई यात्रा गर्न नेपाली वायुसेवाको टिकट बुकिङ गरिसकेका युरोपेली पर्यटकलाई उडान नगर्ने निर्णय भएको जानकारी गराउनुपर्छ।
नेपाली उड्डयन विज्ञहरूले भने युरोपेली आयोगले हवाई सुरक्षा भन्दै नेपाली वायुसेवालाई निषेध गरे पनि यसको भित्री कारण भने 'चीनमा निर्मित ५८ सिटयुक्त 'मोडर्न आर्क' (एमए–६०) सिरिजका जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र (टाइप सर्टिफिकेट) दिइनु' भएको दाबी गरेका थिए।
प्राधिकरणले गत कात्तिक पहिलो साता एमए–६० जहाज नेपालमा उडाउन योग्य रहेको भन्दै टाइप सर्टिफिकेट दिएको थियो। जबकि, युरोप र अमेरिकाले यो जहाजलाई हालसम्म पनि उडानयोग्य प्रमाणपत्र दिएका छैनन्। यस्ता जहाजका उडान सुरक्षा कमजोर रहेको युरोपली आयोग र ईयुको ठहर छ।
चिनियाँ जहाजकै कारण युरोपको कालोसूचीमा परिएको विषयप्रति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरण 'मौन' रहँदै आएका छन्। तर, दुवै निकायले नेपालको उड्डयन सुरक्षा सुधार गर्न गम्भीर तरिकाले अगाडि बढ्ने औपचारिक भनाइ सार्वजनिक गरिसकेका छन्।
प्राधिकरणले आइकाओको अडिटको तथ्य सम्बोधन गर्न अल्प, मध्य र दीर्घकालीन सुधारका कार्यक्रम लागू गर्ने जनाएको छ। यसलाई आगामी ६ महिनाभित्र सुधार गर्ने प्राधिकरणको दाबी छ। त्यसै गरी हवाई दुर्घटना दर न्यून गर्नका लागि प्राधिकरणले दुर्घटना जाँच आयोगका सुझाव कार्यान्वयन गराउन सुरक्षा चेतना अभियान सञ्चालन गर्ने जनाएको छ।
'उपयुक्त समयमा आऊ'
नागरिक उड्डयन प्राधिकरणले आफू र वायुसेवा कम्पनीको उड्डयन सुरक्षा जाँच गर्नका लागि युरोपेली आयोगको टोलीलाई उपयुक्त समयमा आउन भनेको छ।
आयोगले एक साताअघि प्राधिकरणलाई पत्राचार गरी समय मिलाइदिन आग्रह गरेको थियो। उसले फेब्रुअरी २ देखि ८ (माघ १९–२५) र फेब्रुअरी ६ देखि १६ (माघ २५ देखि फागुन ४) मध्ये नेपालको अनुकुलताअनुसार टोली खटाउने बताएको थियो।यसको जवाफ दिँदै प्राधिकरणले उनीहरूलाई जुन समय उपयुक्त लाग्छ, त्यही बेला आउन आग्रह गर्दै पत्र पठाएको प्राधिकरणका महानिर्देशक सुमनले जानकारी दिए। यसबारे सबै वायुसेवा कम्पनीलाई लिखित जानकारी दिएको उनले बताए। 'युरोपेली टोली जुन समयमा आए पनि हामी तयार छौं,' उनले भने।

No comments:

Post a Comment