Sunday, December 8, 2013

सरकारसँग व्यवसायीले मागे टिकट खर्चको क्षतिपूर्ति, फर्काइएका कामदारको हवाई टिकट खर्च १ करोड ५ लाख

मधुजंग पाण्डे÷राजधानी
काठमाडांै, १९ मंसिर
वैदेशिक रोजगार व्यवसायीहरूले विमानस्थलबाटै फर्काइएका ३ सय कामदारको हवाई टिकटमा खर्च भएको करिब १ करोड ५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन सरकारसँग माग गरेका छन् । उनीहरूले जहाज चढ्ने बेला विमानस्थलबाट एक कामदार फर्काइँदा हवाई टिकट र होटल बसाइ गरी करिब ३५ हजार रुपैयाँ त्यसै खेर गएकाले सो रकम सरकारसँग क्षतिपूर्तिबापत उपलब्ध गराउन माग गरेका हुन् ।
व्यवसायीका सो मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले फर्काइएका कामदारको हवाई टिकटमा खर्च भएको रकम क्षतिपूर्ति तिराउन दबाब दिने भएको छ । आइतबार र सोमबार गरी विभिन्न मेनपावरमार्फत सबै कागजात लिएर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जाँदै गरेका करिब ३ सय कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कर्मचारीले विमानस्थलबाटै फर्काइदिएका थिए ।
कामदारहरू एयर अरेबिया र पाकिस्तानी एयरलाइन्सबाट यूएई जान लागेका थिए । त्यसबेला विमानस्थलबाट फिर्ता पठाइएका कामदारमध्ये अहिलेसम्म करिब १ सय ७० जना सम्पर्कमा आएको र उनीहरूको टिकट खर्च सरकारले नै बेहोर्नुपर्ने व्यवसायीको माग छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव एवं प्रवक्ता रोहण गुरुङले व्यवसायीको गुनासोलाई मध्यनजर गर्दै संघले फर्काइएका कामदारको हवाई टिकटमा खर्च भएको रकम सरकारसँग क्षतिपूर्ति तिराउन दबाब दिने बताए ।
 राज्यले क्षतिपूर्ति दिनुपर्छ भन्ने त्यस घटनामा सम्बन्धित व्यवसायीका माग रहेकाले संघले आन्तरिक छलफलबाट सरकारलाई दबाब दिने कार्यक्रमको निर्णय गर्ने बताए । एक कामदार जहाज चढ्ने बेलामा विमानस्थलबाट फर्कंदा न्यूनतम ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने जानकारी गराउँदै उनले विमानस्थलको यस घटनालाई संघले गम्भीर रूपमा लिएको बताए । विमानस्थलकै आन्तरिक व्यवस्थापन कमजोर भएका कारण उत्पन्न सो घटनामा अल्मुन ओभरर्सिज, अलअक्समाक्स ओभरर्सिज, एपोलो र प्याराडाइज ओभरर्सिजलगायतका कम्पनीबाट यूएई जाँदै गरेका कामदारलाई अध्यागमन कर्मचारीले फर्काएका थिए ।
विमानस्थलभित्रका अध्यागमन कर्मचारीसँग कामदारको साथमा रहेको इलेक्ट्रोनिक्स भिसा जाँच्ने क्षमता नभएका कारण सो घटना भएकाले अब त्यसबेला वैदेशिक रोजगारीमा जाँदै गरेका कामदारलाई फर्काउँदा हवाई टिकटमा भएको खर्च सरकारलाई नै क्षतिपूर्ति तिराउनुपर्ने सबै व्यवसायीको धारणा रहेकाले संघले दबाब दिने उनले जानकारी दिए । संघले सम्बन्धित व्यवसायीसँग कागजात माग्ने कि भन्ने सोच बनाएको जानकारी दिँदै उनले अहिले पीडित व्यवसायीलाई कामदार पठाउँदा भएको पुरानो र नयाँ हवाई टिकटको फोटोकपी र अन्य बिल संघमा बुझाउन जानकारी गराइएको बताए । गुरुङले घरपरिवारसँग बिदा भएर निस्किसकेका कामदारले थप रकम उपलब्ध गर्न नसक्ने भएकाले सो रकम सरकारबाटै असुल्नुबाहेक व्यवसायीसँग अन्य विकल्प नरहेको बताए । उनले राज्यसँग मुद्दा लड्यो भने लामो समय लाग्ने भएकाले अहिले सामूहिक दबाबमा दिने बताए । गत १४ कात्तिकमा विभागले १ डिसेम्बर (आइतबार) देखि लागू हुने गरी वैदेशिक रोजगार विभागले यूएई जान अन्तिम स्वीकृति दिएकालाई पनि सक्कल भिसाविना जान अनुमति नदिने निर्णय गरेकाले विमानस्थलमा यस्तो अवस्था उत्पन्न भएको थियो । विभागले सो निर्णय गर्दा व्यवसायी र संघलाई कुनै जानकारी नदिएकाले विमानस्थलमा यो समस्या आएको बताइएको छ । सोमबार संघका व्यवसायी प्रतिनिधि र अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलसँग भएको ‘इलेक्ट्रोनिक्स भिसा प्रमाणित भएको अवस्थामा त्यसैलाई सक्कल भिसाको मान्यता दिई जान दिने भन्ने निर्णय’ गरिएपछि अहिले सो समस्या समाधान भएको हो ।

No comments:

Post a Comment