Friday, August 26, 2011

रात्रि उडान गर्ने कम्पनी बढे, विमानस्थल शुल्कमा २५ प्रतिशत छुट




काठमाडौ,९ भाद्र - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारीसँगै विमान कम्पनीहरूले राति उडान र अवतरण गर्ने नयाँ तालिका लिने क्रम बढेको छ ।
पछिल्लो समय भारतको जेट एयरवेजले नयाँ तालिका लिएपछि त्रिभुवन विमानस्थलमा राति पनि उडान र अवतरण गर्ने विमान कम्पनीको संख्या ८ पुगेको छ । 'दिउँसो पौने ३ बजेको तालिका छोडेर भारतीय विमान कम्पनी जेट एयरवेजले रातिको समय लिएको छ,' उडान अनुमति शाखाका प्रबन्धक राजबहादुर महर्जनले भने । जेटले अक्टोबर ३० देखि राति सवा १० बजे विमानस्थलमा अवतरण गर्ने भएको छ । भोलिपल्ट बिहान ९ बजे उडान गर्ने तालिका स्वीकृत भइसकेको उनले बताए ।
यसअघि रात्रि अवतरण सुरक्षित नभएको भन्दै दिउँसो 'पिक आवर' का लागि मात्र समय खोज्ने बढी थिए । तर विमानस्थलमा पूर्वाधार बिस्तार हुन थालेपछि रातिको समय छानेको विमानस्थल व्यवस्थापनले जनाएको छ । प्राधिकरणले विमानस्थलमा रात्रि उडान/अवतरण सजिलो र सुरक्षित बनाउने नयाँ स्याटेलाइट प्रविधि -आरएनपी-एआर) मंसिर २९ गतेदेखि सञ्चालन गर्दै छ ।
हाल विमानस्थल १८ घन्टा सञ्चालन भइरहेको छ । 'यो प्रविधिले २४ घन्टा सञ्चालनका लागि सहयोग पुर्‍याउँछ,' विमानस्थलका महप्रबन्धक रतीशचन्द्रलाल सुमनले भने, 'स्याटेलाइटबाटै जहाजको अवस्थाबारे जानकारी पाइने भएकाले जस्तोसुकै समयमा उडान गर्न सकिन्छ ।' त्यस्तै रनवेमा रात्रि लाइटलगायत अन्य उपकरण जडानको काम पनि बिमानस्थलमा हुँदै छ ।
जेटसँगै राति अवतरण/उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमा एयर अरेयिबा, चाइना साउथर्न, ड्रागन एयर, फ्लाई दुबई, इत्तिहाद, कतार र युनाइटेड एयरवेज छन् । यी सबैले राति ८ देखि साढे ११ बजेसम्ममा अवतरण र उडान गर्दै आएका छन् ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete