Tuesday, August 23, 2011

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १५ हजार २ सय ९८ उत्तीर्ण



काठमाडौं, ६ साउन
दक्षिण कोरियाले तेस्रोपटक लिएको कोरियन भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको छ ।
पछिल्लो समयमा नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको सो मुलुकमा रोजगारीका लागि यो वर्ष करिब ५० हजारले परीक्षा दिएकोमा १५ हजार दुई सय ९८ जना उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्णमध्ये १३ हजार दुई सय ९८ लाई उत्पादनमूलक क्षेत्रमा र दुई हजारलाई कृषि क्षेत्रमा रोजगारी दिने भएको छ ।
सो मुलुकले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत यो वर्ष गत ६ र ७ साउनमा भाषा परीक्षा लिएको थियो । त्यसमा उत्तीर्ण उम्मेदवार मात्र ईपीएसअन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान पाउँछन् । भाषा परीक्षा उत्तीर्ण गरेकाले आवश्यक प्रकि्रया पूरा गरिसकेपछि रोजगारदाताले मागेअनुसार पालैपालो कोरिया जान पाउने प्रावधान छ । परीक्षामा उत्तीर्ण भएकाहरु स्वास्थ्य परीक्षण रोजगारका लागि आवेदन फारम भरेपछि कोरिया जान योग्य मानिन्छन् ।
मानव संसाधन विकास विभाग एचआरडी कोरियाले लिएको सो भाषा परीक्षामा ७४ प्रतिशतभन्दा बढी अंक ल्याउने उत्तीर्ण भएको ईपीएस शाखाका निर्देशक काशिराज दाहालले जनाए । दुई सय पूर्णांकको सो भाषा परीक्षामा यसपटक ५० प्रश्न सोधिएकोमा ३७ भन्दा बढीको उत्तर मिलाउने उत्तीर्ण भएको उनले बताए ।
नेपाल र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा भएको समझदारीपछि ईपीएसअन्तर्गत नेपाली कामदारलाई कोरियाले रोजगारी दिएको यो तेस्रो पटक हो । यसअघि ईपीएस अन्र्तगत सन् २००८ र २०१० मा कोरियाले नेपाली कामदारका लागि साचालन गरेको भाषा परीक्षामा १० हजार ६ सय ८२ उत्तीर्ण भएका थिए । तीमध्ये करिब ९ हजार ५ सय कोरिया गइसकेका छन् । पहिलो पटक ६ हजार ५ सय ८६ र दोस्रो पटक चार हजार ९६ उत्तीर्ण भएको थियो ।
दक्षिण कोरियाले ७ हजार १ सय कामदार लैजाने गरी सुरुमा भाषा परीक्षा लिएको भएपनि सरकारको आग्रहमा ८ हजार १ सय ९८ कोटा थप गरेको छ । कोरियाले पहिलो पटक २ हजार ९ सय र दोस्रो पटक ५ हजार कोटा थप गरेको हो । कोरियाले ईपीएसअन्तर्गत नेपाललाई यस पटक दिएको कोटा अहिलेसम्मकै बढी हो ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सहप्रवक्ता कृष्णहरि पुष्कर कर्णले यसअघि कोरिया गएका कामदारको काम र भाषा परीक्षामा सहभागितालाई हेरेर कोरियाले कोटा थप गरेकॊ जानकारी दिए । सरकारको आग्रह र नेपाली कामदारको काम राम्रो भएकै कारण कोरिया थप कामदार लैजान सहमत भएको उनले बताए ।ईपीएस अन्र्तगत दक्षिण कोरिया जान ९ सय ४१ अमेरिकी डलर अर्थात करिब ७० हजार रुपैयाँ लागत लाग्छ । यसबाहेक कुनै कमिशन शुल्क लाग्दैन । कोरियाले नेपाललगायत १५ मुलुकबाट इपीएसअन्तर्गत कामदार लिने गरेको छ । त्यहाँ जाने कामदारले मासिक एक लाख रुपैयाँको हाराहारीमा पारिश्रमिक पाउने गरेको ईपीएसले जनाएको छ । १८ देखि ३९ वर्ष उमेर समूहकाले ईपीएसअन्तर्गत भाषा परीक्षामा सहभागी हुन पाउँछन् ।
कोरियामा निजी क्षेत्रबाट कामदार जान पाउँदैनन् । यस्तै यसअघि कोरिया गएर गैरकानुनी रुपमा बसेका तथा अन्य अभियोग लागेकाले त्यहाँ रोजगारीमा जान योग्य नहुने पनि ईपीएसले जनाएको छ ।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete