Sunday, August 28, 2011

बाबुराम भट्टराई मुलुकका ३५ औँ प्रधानमन्त्री


 
 भट्टराई ३५ औं प्रधानमन्त्री
काठमाडौं, ११ भाद्र - माओवादी उपाध्यक्ष बाबुराम भट्टराई आइतबार नेपालको ३५ औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।
चौथो शक्ति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभाका अधिकांश साना दलको समर्थनमा भट्टराई प्रधानमन्त्री निर्वाचित भएका हुन् । व्यवस्थापिका संसदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले ३ सय ४० मत पाए भने पौडेलले २ सय ३५ मत पाए । ६ सय १ सदस्यीय संसदमा ५ सय ७५ सभासद् मतदानमा भाग लिएका थिए ।भट्टराई माओवादीका तर्फबाट दोस्रो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो र पाँचौ कम्युनिष्ट प्रधानमन्त्री हुन् । उनी यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए ।
पार्टी संसदीय दलको नेता अध्यक्ष दाहाल नै रहे पनि उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापासहितको मोर्चाले भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो ।
भट्टराईको पक्षमा मधेसी मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी,  तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र सदभावाना पार्टीले समर्थन गरे । चार बुँदे सहमति भएपछि मोर्चा भट्टराईलाई समर्थन गर्ने निर्णयमा पुगेको थियो ।
यसैगरी भट्टराईलाई मोर्चा बाहिरको मधेसी जनअधिकार फोरम नेपालसहित अधिकांश साना दलले समर्थन गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल लोकतान्त्रिक समाजवादी दल, राष्ट्रिय जनमोर्चा, समाजवादी प्रजातान्त्रिक दल, नेपाल परिवार दल, नेकपा माले-समाजवादी, दलित जनजाति पार्टी र नेपाः राष्ट्रिय पार्टीले समर्थन गरे ।
यसैगरी भट्टराईलाई सदभावना पार्टी आनन्दीदेवी, नेकपा एकीकृत, जनमुक्ति पार्टी र स्वतन्त्र सभासद् सदरुल मियाँ हकले समर्थन गरे ।
कांग्रेसका पौडेललाई एमाले, माले, राप्रपा, जनशक्ति पार्टी  र स्वतन्त्र सभासद् बबन सिंहले समर्थन गरे ।
प्रधानमन्त्रीका दुवै उम्मेदवारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदान बहिष्कार गर्‍यो । राप्रपा नेपाल भने निर्वाचनमा भाग लिएन ।

बाबुराम भट्टराई 
काठमाडौं,११ भदौ  - गोरखा, खोप्लाङको किसान परिवारमा जन्मिएका बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। आइतबार संसदमा भएको चुनावमा माओवादी उपाध्यक्ष भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले २३५ मत मात्रै ल्याए।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराईलाई मतदान गरेका थिए।
बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ।

१८ औं पटक पनि हारे पौडेलले
काठमाडौं, ११ भदौ  - यसअघिको प्रधानमन्त्री चुनावमा १७ पटक पराजित भएका नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतबार पनि पराजित भएका छन्। संसदमा भएको मतदानमा उनले २३५ मत प्राप्त गरे।
पौडेललाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीले समर्थन गरेका थिए।
प्रधानमन्त्री चुनाव सुरु हुनुअघि पौडेलले शान्ति सम्झौताको स्पिरिटबाट बाहिरि जान खोजिएको भन्दै त्यसलाई समातेर निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक नेतृत्व आवश्यक भएको जिकिर गरेका थिए।

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete