Tuesday, August 30, 2011

एयर ट्राफिक कन्ट्रोलरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा, १ करोड २५ लाखभन्दा बढी खर्च, ४० राष्ट्रका झन्डै ६ सय प्रतिनिधि सहभागी हुने


काठमाडौं, १२ भदौ
इन्टरनेसनल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसन (आईफाट्का) को ‘५१ औं अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन २०१२’ नेपालमा हुने भएको छ । १ सय ४० सदस्य राष्ट्रका झन्डै ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलन सम्पन्न गर्न १ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
सम्मेलनबाट ‘एउटै आवाज, एकै किसिमको क्षमता, एउटै आकास’ नारालाई साकार पार्ने लक्ष्य लिइएको छ । “विश्वभरका एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले एउटै आवाज उठाउँदै आएका छन्, आकास पनि एउटै हो तर क्षमताको तुलनामा हामी एउटै बन्न सकेका छैनौँ,” नेपाल एयर ट्राफिक कन्ट्रोलरका अध्यक्ष तथा सम्मेलन आयोजक कमिटीका अध्यक्ष प्रतापबाबु तिवारीले भने, “त्यसलाई पूरा गर्ने लक्ष्य सम्मेलनको हो ।”
सन् २०१२ को मार्च १२ तारिखदेखि पाँच दिनसम्म चल्ने सम्मेलन याक एन्ड यती होटलमा हुने सम्मेलनबाट नेपाली एटीसीले हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि गर्न सक्नेछन् । नेपालमा पहिलो पटक हुन लागेको आईफाट्काको सम्मेलनबाट नेपाली हवाई क्षेत्रको पहिचान विश्वमाझ पुग्ने अध्यक्ष तिवारीको भनाइ छ ।
खासगरी नागरिक उड्डयनको प्रशासनिक क्षेत्र, प्राविधिक तथा व्यावसायिक एटीसी क्षेत्रमा देखिएका समस्या, एटीसीमा दक्ष जनशक्तिको अभाव, सेफ्टी म्यानेजमेन्ट, विमान उडानमा सेफ्टीको भूमिका र अंग्रेजी भाषाको प्रभावकारिताका विषयमा सम्मेलन केन्द्रित हुनेछ । “सम्मेलन एभिएसन क्षेत्रसँग सम्बन्धित भए पनि नेपालका लागि यो सम्मेलनको आयोजक बन्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो,” अध्यक्ष तिवारीले भने ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा सम्मेलनका लागि उच्चस्तरीय समन्वय समिति गठन भएको छ । समितिमा मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख, वायुसेवा सञ्चालक संघका अध्यक्ष र पर्यटन क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि सदस्य छन् । समितिले दुईवटा बैठक बसी सम्मेलनका विषयमा छलफलसमेत चलाइसेको छ । सम्मेलन आयोजना खर्च मन्त्रालय, पर्यटन बोर्ड, प्राधिकरण, वायुसेवा सञ्चालक संघ अनि पर्यटनसँग सम्बन्धित संघसंस्थाबाट जुटाइने भएको छ ।
“हामीले सन् २००७ देखि आईफाट्काको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन नेपालमा गर्नुपर्ने माग गर्दै आएका थियौँ, बल्ल निश्चित भएको छ,” अध्यक्ष तिवारीले भने । सम्मेलनमा विश्वका हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, आईकाओ, अन्तर्राष्ट्रिय एयरलाइन्स एसोसिएसनदेखि आइफाल्पा, कान्सो, आईटीएफलगायत संघसंगठनबाट अतिथिहरू उपस्थित हुने भएका छन् । गत वर्षको सम्मेलन जोर्डनमा भएको थियो ।
सम्मेलनमा टुर प्याकेज
पाँच दिनसम्म चल्ने आईफाट्का अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा विदेशी प्रतिनिधिका लागि टुर प्याकेज राखिने भएको छ । यसको व्यवस्थाका लागि आयोजकले ‘टुर एन्ड ट्राभल’ व्यवसायीलाई सम्मेलनमा सहभागी गराउने भएको छ । जसमा नेपाललाई चिनाउने सगरमाथा यात्राका लागि माउन्टेन फलाइट, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पर्यटन नगरी पोखरा, सौराहा सफारीलगायतका प्याकेज राखिनेछ । सम्मेलनको अवसरमा नेपाल आएका विदेशी पाहुनाहरूका लागि टुर प्याकेज सशुल्क हुनेछ । नेपाल एयर ट्राफिक कन्ट्रोलरका अध्यक्ष प्रतापबाबु त्रिपाठीले भने, “सबैलाई निःशुल्क भ्रमण गराउन सकिँदैन, जानकारी दिने र इच्छुक प्रतिनिधिलाई टुर व्यवसायीको अग्रसरतामा भ्रमण गराइनेछ ।” सम्मेलनमा हवाई क्षेत्र सम्बन्धित प्रविधिको प्रदर्शनीसमेत गरिने भएको छ । 

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete