Saturday, August 6, 2011

थाइल्याण्डको भविष्य प्युको हातमा




 
सेरोमोनियल राजतन्त्र रहेका टोक्यो र बैंककवीच एउटा समानता छ, त्यो हो यी दुई राजधानी आर्थिक रुपमा स्थिर भए पनि राजनीतिक रुपमा संधै अस्थिर रहनछन् । राजनीतिक अस्थिरता भित्र यी दुई राजधानीवीच एउटा असमनता छ, त्यो हो टोक्योको राजनीतिमा सेना हावी हुँदैन तर बैंककको राजनीतिमा सेना संधै एउटा शसक्त खेलाडी रहन्छ । राजतन्त्र, अस्थिर राजनीति अनि सेना सशक्त खेलाडी भएको बैंककको सत्ता सम्हाल्ने जिम्मेवारी अहिले ४४ वर्षकी यिङ्गलक सिनावात्रामा आइपुगेको छ । थाइल्याण्डका चर्चित पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छि बहिनी यिङ्गलकले दाजुको पदचाप पछ्याउँदै व्यापारबाट राजनीतिमा आएकी छन् र पहिलो बलमै उनले प्रधानमन्त्री अभिसित भेज्जाजिवालाई क्लिन बोल्ड गरेकी छन् ।
पारिवारिक विरासत, चुनाव प्रचारमा देखाएको करिश्माई छवि अनि थाक्सिन सिनावात्राको उत्तराधिकारीका रुपमा प्रधानमन्त्रीको सपथग्रहण गर्न लाइनमा बसेकी यिङ्गलकका सामु थुप्रै चुनौती पहाड बनेर खडा भएका छन् । यी चुनौतीका पहाडमा यिङ्गलकले डोजर लगाउन सफल भइन भने उनी थाइल्याण्डको पहिलो महिला प्रधानमन्त्री हुने रेकर्डलाई सार्थक मात्र बनाउने छैनन्, लामो समयदेखि अस्थिर बैंकको राजनीतिलाई स्थिर बनाउन पनि सफल हुनेछिन् ।
यिङ्गलकको करिश्मा
चुनावी प्रचारका क्रममा जब यिङ्गलक अर्थात प्यु गरिव ग्रामिणवस्तिमा पुग्थिन तव उनी फिस्स हाँसेर अभिभावदन गर्थिन । सानो ठूलो, गरिव धनी, बच्चा बुढा सबैसँग हात मिलाएर स्पर्श गर्थिन अनि आफ्नो करिश्मालाई छवि सबैसँग जोडथिन् ।
चुनावी प्रचारकै क्रममा ४४ वर्षे यिङ्गलकको छवि कुकरी शोमा खाना पकाउँदै हिंडने प्रधानमन्त्री अभिजातका अघि फिक्का परिसकेको थियो । नभन्दै दक्षिणी थाइल्याण्डको चियाङ्ग माई विश्वविद्यालयकी अण्डरग्रयाट र अमेरिकाको केन्टुकी विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टर गरेकी यिङ्गलकको पाटी प्यु थाइलाई यही जुलाई महिनामा सम्पन्न आमनिर्वाचनमा बहुमत प्राप्त भयो । एउटा सफल व्यापारिक महिला यिङ्गलक यही चुनावबाट राजनीतिमा आएकी हुन, यिङ्गलकका दाजु थाक्सिन पनि व्यापारबाट राजनीतिमा आएका थिए । उनी राजनीतिमा आउना साथ बैंककको राजनीतिले नयाँ आयाम पाएको थियो ।
थाक्सिनको उत्तराधिकारी
नेपाल भित्र दुई नेपाल भए जस्तै थाइल्याण्ड भित्र पनि दुई थाइल्याण्ड छन । एउटा थाइल्याण्ड भित्र साम्राज्यवादी सोंच भएका परम्परागत राजनीतिक शक्ति तथा त्यसकै वरिपरि चल्ने व्युरोक्रयाट, व्यापारी, उद्योगी र सैनिक जनरलहरुको घेरा छ । विशेष गरी यो घेरा बैककको सुविधासम्पन्न जीवनशैली अंगालेर बस्छ । अर्को थाइल्याण्ड छ जो गाउँमा बस्छ र उ शहरको सुविधाबाट वञ्चित छ ।
प्रहरी अधिकृतबाट व्याक्तिगत क्यारिअर सुरु गरेका र अमेरिकामा क्रिमिनल जस्टिसमा मास्टर गरेका थाक्सिनले सन् १९८० को दशकमा व्यापारमा हात हाले । दूरसञ्चारमा साम्राज्य खडा गरेर एउटा छवि बनाएका थाक्सिनले अर्को थाइल्याण्डका जनताको जीवनस्तर उकास्ने गरी सन् १९९८ मा थाइ र्‍याक थाइ -थाइले थाइलाई माया गर्छन) पाटी गठन गरे । यो पाटीको विकाससँगै थाइल्याण्डमा थाक्सिन पनि एउटा नयाँ राजनीतिक शक्तिका रुपमा उदाय । थाइ र्‍याक थाई पाटी गठन भएको तेस्रो वर्षमा आम चुनाव हुँदा थाक्सिनले पहिलो थाइल्याण्डको प्रतिनिधित्व गर्ने डेमोक्रयाटको पुरानो किल्लालाई भत्काएनन मात्र उनीहरुको अस्तित्व नाभालाई नदीमा बगाइदिए पनि ।
प्रधानमन्त्री भएपछि थाक्सिनले ग्रामिण थाइल्याण्डको पूर्वाधार विकासमा थुप्रै लगानी गरे भने गरिव थाइल्याण्वासीलाई सस्तो औषधोपचारको व्यवस्था गरिदिए । उनले सरकार चलाउने परम्परागत शैलीलाई नै बदलिदिए । प्रधानमन्त्री रहुन्जेल थाक्सिनले सरकारलाई एउटा कर्पोरेट हाउसको ‘सिइओ’ शैलीमा चलाए । थाक्सिन एउटा प्रधानमन्त्रीभन्दा पनि बढी थाइल्याण्डको सिइओ बने । ग्रामिण जनतालाई उनले पूर्वाधारको सहुलियत र सस्तो स्वास्थ्य सुविधा त दिएका थिए नै त्योभन्दा बढी शहरी जनतालाई आम्दानीमा वृद्धि हुने गरी रोजगारीका सिर्जनाहरु समेत गरे । यसले सिनावात्रा ग्रामिण थाइल्याण्डका लागि ‘भगवान’ बने शहरी मतदाताका लागि ‘रोलमोडेल’ ।
सिनावात्रा सत्तामा आउनु अघि सन् १९९० को एशियाली आर्थिक मन्दीले थाइल्याण्डलाई गाँजेको थियो तर त्यसलाई उकास्ने गरी नीतिहरु बनाए पछि थाइल्याण्डका आर्थिकवृद्धिमा तिव्र सुधार आयो । सन् २००४ मा इण्डियन ओशनमा आएको सुनामीले थाइल्याण्डको दक्षिण र पश्चिमी भागलाई पनि बगायो । त्यसको उद्धारमा थाक्सिनले देखाएको तत्परताले उनी थाइल्याण्डवासीका लागि अझ लोकपि्रय समेत बने । थाक्सिनको लोकपि्रयताले थाइ र्‍याक थाई पाटी दुई तिहाइ बहुमत साथ सत्तामा आउने संकेतहरु पाए पछि सेप्टेम्वर २००६ मा थाइल्याण्डमा सैनिक विद्रोह भयो । यही विद्रोहले थाक्सिनलाई अपदस्थ गर्‍यो । उनी माथि सरकारमा रहँदा कम मूल्यमा आˆनो टेलिकम कम्पनीको सेयर सिंगापुरको कम्पनीलाई विक्री गरेको आरोपमा एक अर्ब ४० करोड डलरको भ्रष्ट्राचार मुद्धा लाग्यो ।
सत्ताबाट अपदस्थ भएपछि लागेको भ्रष्ट्राचार मुद्धाका कारण सिनावात्रा लण्डन र दुवईमा निर्वासमा छन् । उनी निर्वासनमा भए पनि थाइल्याण्डमा भने अहिले पनि थाक्सिनकै बोलि विक्छ । यही परिणाम स्वरुप थाक्सिनले विदेशबाटै चलाएको प्यु थाइ पार्टीले पाँच सय सिट भएको आमनिर्वाचनमा तीन सय भन्दा बढी सिटमा विजय हाँसिल गर्‍यो । निर्वासनमै रहँदा थाक्सिनले प्यु थाई पाटी गठन गरे आˆनी कान्छी यिङ्गलकलाई प्यु थाईको अध्यक्ष बनाए भने चुनावमा प्रधानमन्त्रीका रुपमा प्रोजेक्ट समेत गरे । अब यिङ्गलकको काँघमा दाजु थाक्सिनले सुरु गरेको आर्थिक नीतिलाई निरन्तरता दिनु र ग्रामिण मतदातालाई दिएको आश्वासन पुरा गर्नु पर्ने दायित्व छ ।
पारिवारिक विरासत
थाक्सिन परिवारबाट थाइल्याण्डका लागि यिङ्गलक तेस्रो प्रधानमन्त्री भएकी छिन् । परिवारका नौ छोराछोरीमध्ये यिङ्गलक कान्छी छोरी हुन्, उनका दाजु थाक्सिन थाइल्याण्डका चर्चित प्रधानमन्त्री हुन भने यिङ्गलकका भिनाजु सोमचाई वाङ्गस्वात पनि सन् २००८ मा तीन महिनाका लागि प्रधानमन्त्री भएका थिए । यिङ्गलकका जिजुहजुरबा चिनबाट १८६० मा थाइल्याण्डमा स्थानन्त्रण भएका थिए । थाइ युवतीलाई बिहे गरे पछि यिङ्गलकका हजुरबा व्यापारमा प्रवेश गरेका थिए । सुरुमा सिनावात्रा सिल्कबाट व्यापार सुरु गरेका उनले पछि निर्माण, रियलस्टेट र वित्त बजारमा पनि हात हालेका थिए ।
यिङ्गलकका बाबु लर्ट सिनावात्र सन् १९६८ मा राजनीतिमा छिरेका थिए र चियाङ्ग माईका लागि सांसद बनेका थिए । अहिले भंग भैसकेको लिवरल पाटीका उपाध्यक्ष समेत भएका थिए । प्रवेश गरेको ८ वर्षपछि लर्टले राजनीतिलाई छोडे र कफि सप खोलेर व्यापारमा छिरे । पछि उनले चियाङ्ग माइमा सुन्तला, फूल खेती गरे, फिल्म हल खोले, पेट्रोल स्टेशन खडा गरे अनि कार मोटरसाइकलको डिलर लिएर व्यापार थाले । थाक्सिन अमेरिकामा पढेर फर्केपछि थाइल्याण्डमा दूरसञ्चार उद्योगमा छिरे । उनले थाइल्याण्डकै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एडभान्स इन्फो सर्भिस स्थापना गरे ।
बहिनी यिङ्गलकले सिनावात्रा डाइरोक्टि्रज कम्पनीमा सेल्स इन्टर्नका रुपमा क्यारिअर सुरु गरिन । सन् १९९४ मा यिङ्गलक रेनवो मेडियाको महाप्रवन्धक बनिन । सन् २००२ मा दाजुले खडा गरेको एडभान्स इन्फो सर्भिसका सिइओ बनिन् । यो कम्पनी थाइल्याण्डको सबैभन्दा ठूलो मोवाइल सेवा कमपनी हो । एडभान्स इन्फो सर्भिसको मातृ कम्पनी सिन कर्पोरेशन सिंगापुरको कम्पनीलाई विक्री गरे पछि यिङ्गलकले सिईओबाट राजिनामा गरे पनि जग्गा सम्वन्धी कारोवार गर्ने पारिवारिक कम्पनी एससि एसेटको प्रवन्ध निर्देशक बनिरहिन । सिन कम्पनीलाई सिंगापुरको टेमासेक होल्डिङ कम्पनीलाई विक्री गर्दा भ्रष्ट्राचार गरेको आरोपमा यिङ्गलक माथि छानविन भएको थियो तर उनी माथि कुनै पनि मुद्धा भने चलाइएन । जुलाई ३ मा भएको निर्वाचनको परिणाम घोषणा भए पनि यही पुरानो मुद्धाका कारण उनी अहिलेसम्म प्रधानमन्त्रीको सपथग्रहण गर्न सकिरहेकी छैनन् । व्यापारी अनुर्सोम अमोरनचटसँग वैवाहिक जीवनमा बाँधिएकी यिङ्गलकका एउटा छोरा सुपासेक छन ।
यिङ्गलक सिनावात्रा
- जन्म २१ जुन १९६७
- नौ छोराछोरीमा कान्छी
- राजनीति र व्यापार प्रशासनमा केन्टुकी विश्वविद्यालयबाट स्नाकोत्तर
- व्यापारी अनुर्सोम अर्मोचटसँग विवाह, एक छोरा
- थाइल्याण्डको सबैभन्दा ठूलो मोवाइल कम्पनी एआईएसको पूर्व अधयक्ष तथा सिईओ
- पारिवारिक कम्पनी एससि एसेटको अध्यक्ष
- प्यु थाइ पाटीको वित्त व्यवस्थापक
- थाइल्याण्डको पहिलो महिला प्रधानमन्त्री

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete