Tuesday, February 18, 2014

बेपत्ता विमान दुर्घटनाग्रस्त फेला, सबै यात्रुको निधन, शव पहिचानमा समस्या

काठमाडौं, ६ फागुन  –आइतबार दिउँसोदेखि बेपत्ता भएको नेपाल वायुसेवा निगमको ‘९ एन एबीबी–डीएचसी ६’ ट्विनअटर विमान सोमबार बिहान अर्घाखाँचीको ढिकुरा–८ मसिने लेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
बेपत्ता भएको करिब २० घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सो विमानमा सवार सबै १८ जनाकै मृत्यु भएको छ । विमानमा चालक दलका ३ र यात्रु १५ गरी १८ जना थिए । सो विमान नेपाल टेलिकम र एनसेलको टावर नजिकैको खोंचमा टुक्रा–टुक्रा अवस्थामा फेला परेको हो । दुर्घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट ३० किलोमिटर दक्षिण–पश्चिममा पर्छ । दुर्घटना स्थल अग्लो डाँडाको खोंचमा रहेको छ ।
सुरुमा अर्घाखाँची सदरमुकाम सन्धिखर्कदेखि पूर्व ४० किलोमिटर खिदिम क्षेत्रमा विमान दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको थियो । सोही अनुमानका कारण नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणको टोलीले त्यस क्षेत्रमा आइतबार राति अबेरसम्म विमानको खोजी गरेको थियो । तर, विमानमा सवार सेनानी दीपक श्रेष्ठको मोबाइल फोनलाई पछ्याउँदै सेनाले दुर्घटनास्थल पत्ता लगाएको हो ।
मसिने लेकको एनसेल टावरदेखि १ सय मिटरको दूरीमा सेनानी श्रेष्ठले बोकेको मोबाइलको लोकेसन पत्ता लागेपछि नेपाली सेनाले एमआई—१७ हेलिकोप्टरबाट खोजी गरेको थियो । सो हेलिकोप्टरले दुर्घटना क्षेत्र पत्ता लगाएको हो । मसिने लेकको एनसेल टावरदेखि १ सय मिटरको दूरीमा विमान दुर्घटना भए पनि टावर सुरक्षार्थ खटिएका कर्मचारीले त्यसको सुइँकोसमेत पाउन सकेनन् । असिनापानी परेको र बाक्लो कुहिरो लागेकाले टावरका कर्मचारीले दुर्घटनाबारे थाहा पाउन नसकेको बताइएको छ ।
दुर्घटना स्थल खोंचमा रहेकाले उद्धारकार्यमा कठिनाइ आएको थियो । सुरक्षाकर्मीले करिब दुई घन्टा लगाएर शव संकलन गरेको थियो । दुर्घटना स्थलमा सेनाको एमआई–१७ हेलिकोप्टर बस्न नसकेपछि सिम्रिक एयरको सानो हेलिकोप्टरबाट शव ल्याइएको थियो । शव सुरुमा अर्घाखाँची सदरमुकामस्थित चन्दननाथ गणमा लगिएको थियो । त्यसपछि सेनाको हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
सबै शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । निगमका प्रवक्ता रामहरि शर्माले शव पोस्टमार्टमपछि मृतकका आफन्तलाई बुझाइने जानकारी दिए । अधिकांश शव डढेर पहिचानमा समस्या आएको उनले बताए । उनले सबैको शव मंगलबारदेखि मात्र आफन्तलाई बुझाइने जानकारी दिए । दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स र लगबुक दुवै फेला परेको छ । ब्ल्याक बक्स र लकबुक फेला परेकाले सो जहाज दुघर्टनाको कारण पत्ता लगाउन सजिलो हुनेछ । 
दुर्घटना जाँच आयोग गठन
अर्घाखाँचीको मसिने लेकमा आइतबार दिउँसो भएको नेपाल वायुसेवा निगमको ९एन एबीबी डिएचसी-६ ट्विनअटर जहाज दुर्घटनाको वास्तविकता पत्ता लगाउन सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठिन चार सदस्यीय दुर्घटना जाँच आयोगका अन्य सदस्यमा तारा एयरका सिनियर चालक प्रभाकरप्रसाद घिमिरे, फिस्टेल एयरका सिनियर एरोनटिकल इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
यसैगरी, आयोगका सदस्य–सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । सो आयोगले ६० दिनभित्र निगमको जहाज दुर्घटना हुनुको वास्तविक कारणसहित सबै छानबिन गरी हवाई सुरक्षा सिफारिससहितको प्रतिवेदन पेस गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । दुर्घटना स्थल निरीक्षणपछि गरिएको प्रारम्भिक अध्ययनमा सो जहाज खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete