Wednesday, September 7, 2011

जहाज चढेर मुसाले घुम्यो मलेसिया र हङकङ


काठमाडौ, २१ भाद्र  - जहाज होस् त नेपाल वायुसेवा निगमको जस्तो ! जसमा यात्रुले मात्र होइन, मुसाले समेत उडान गर्न पाउँछन् । कहिले मलेसिया पुग्छन् त कहिले हङकङ ।सोमबार गुँडसहित मुसा देखिएको जहाजलाई निगमले राति मलेसिया पुर्‍यायो । मंगलबार बिहान काठमाडौं आएर फेरि त्यही जहाज अपराह्न १२ बजे हङकङका लागि उड्यो । जहाजभित्र मुसा देखिएपछि साँझ ६ बजे त्यहाँबाट फकिर्नुपर्ने विमान हङकङमै ग्राउन्डेड गरिएको छ ।
अघिल्लो दिन सोमबार जहाजमा मुसा देखिएपछि निगमको बैंकक उडान क्याप्टेन युवराज भट्टराईले रद्द गरे । तर राति साढे १० बजे मुसा भेटिएको दाबी गर्दै निगमले क्याप्टेन भट्टराईलाई नै राति क्वालालम्पुर उडान भर्न लगायो । मलेसियाबाट मंगलबार बिहान फर्केपछि क्याप्टेन शिशिर शर्माले हङकङको उडान भर्नुपर्ने भए पनि 'विशेष कारणवश' भन्दै उनी बिदामा बसे र क्याप्टेन भट्टराईलाई नै जहाज लिएर हङकङ उड्न लगाइयो ।'हङकङमा जहाजभित्र फेरि मुसा देखिएको सूचना पायौं,' साँझ निगमका प्रवक्ता राजु केसीले भने, 'जहाजको ककपिटमा देखियो रे ।'
हङकङ विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको हेको (एचएईकेओ) कम्पनीलाई मुसाको खोजी गर्न आग्रह गरिएको उनले बताए । हेकोले मुसा पाए पनि थप चेकजाँचको प्रक्रिया पूरा गरेर मात्र जहाज छोड्ने जानकारी निगमलाई गराएको छ ।
सोमबार काठमाडौं विमानस्थलमा जहाजमा भित्र 'हार्ड' कागजमा गम पोतेर खानेकुरा राखिएको र त्यसमा मुसा टाँसिएपछि मलेसिया उडान गरिएको दाबी केसीले गरे । मुसा समातिएको भन्दै प्रमाणित गर्ने काम इन्जिनियर शंकरबहादुर थापाले गरेको तर्क पनि केसीको थियो ।
नियमअनुसार मुसा फेला नपारी उडान गर्न मिल्दैन । मुसा मार्न नमिल्ने भएकाले पासोमा पार्नु पर्छ । त्यस्तै जहाज उडिरहेको समयमा मुसा देखिए तत्काल नजिकको विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियम छ ।
चालकले भने 'मोबाइलमा फोटो देखाएर उडाउन दबाब दिइयो'
हङकङ- काठमाडौंबाट उडेको जहाज हङकङ अवतरण गर्नुभन्दा करिब १५ मिनेटअघि ककपिटमै मुसा देखिएपछि उडान दल निकै तनावमा परेको थियो । केहीबेरमै विमानलाई सकुशल अवतरण गराउन सफल चालक दलको नेतृत्व गरेका क्याप्टेन युवराज भट्टराईले 'अघिल्लो दिन नै मुसा नभेटी विमान चलाएर ठूलो जोखिम लिनु गम्भीर गल्ती' भएको कान्तिपुरलाई बताए ।
'सोमबार बिहान मुसा देखेपछि मैले उडान क्यान्सिल गरेको थिएँ, तर राति मोबाइलमा मुसाको तस्बिर देखाएर पासोमा पारिसकेको भन्दै मलाई उडान भर्न लगाइयो,' उनले आफूमाथि विमान चलाउन दबाब परेको उल्लेख गर्दै भने, 'यो निगम व्यवस्थापनको ठूलो लापरबाही र अपारदर्शिता हो, आवश्यक छानबिन र कारबाही हुनुपर्छ ।'
'इन्जिनियरहरूले मुसा समातिएको बताएपछि म उडान गर्न तयार भएको हुँ,' उनले भने, 'नागरिक उड्डयनमा यति ठूलो जोखिम लिन मिल्दैमिल्दैन । शतप्रतिशत निश्चित नभई भाग्यो होला भनेर अनुमान गरी कसरी जहाज उडाउन दबाब दिन मिल्छ ?''जहाजभित्र मुसा पसे तार काटिदिने वा अन्य किसिमका हानि पुर्‍याउन सक्ने ठूलो जोखिम हुन्छ,' भट्टराईले भने, 'उडिरहेका बेला मुसा भेटिए नजिकको विमानस्थलमा आकस्मिक अवतरण गराउनुपर्ने नियम नै छ ।' भट्टराई ३० वर्षदेखि निगममा कार्यरत छन् । 
निगमको हङकङस्थित कार्यालयले मुसा नियन्त्रणमा नलिएसम्म उडान नगरिने जनाएको छ । 'हङकङ विमानस्थल सुरक्षा विभागले उडिरहेको जहाजमा मुसा देखिनुलाई अत्यन्तै संवेदनशील मानेको छ,' निगममा हङकङ स्टेसन म्यानेजर गौरीलाल डाँगीले भने, 'अर्को जहाजमा पस्न नपाओस् भनेर सबै ढोका बन्द गरिएका छन् ।' मुसा नपक्री जहाज उडाउनु अत्यन्तै जोखिम हुने बताउँदै विमानस्थल सुरक्षा विभागले उडान रोकेको हो ।'विमानस्थल लगबुक (जहाजको स्थितिबारे जानकारी गराइने पुस्तिका) मा जहाजभित्र मुसा छ भनेर हाम्रा पाइलटले लेखिसके,' उनले भने, 'अब मुसा नपक्री जहाज उडाउन मिल्दैन ।' मुसा समात्न हङकङ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत विज्ञहरूको टोली मंगलबार साँझदेखि नै खटिइसकेको छ । टोलीले मुसा पक्रन न्यूनतम छ घन्टाको समय मागे पनि नसमातिएसम्म उडान गरिने छैन ।
उडान रद्द भएपछि निगमले हङकङमा मात्र मुसाकै कारण करिब दस लाख रुपैयाँको आर्थिक भार बेहोरेको उनले बताए । हङकङ-काठमाडांै उडानमा मंगलबार १५ विदेशीसहित ८४ यात्रु थिए । बोडिङ पास उपलब्ध गराइसकिएकाले तीमध्ये ७५ जना यात्रुलाई होटल उपलब्ध गराउनु परेको निगमले जनाएको छ । यात्रु र चालक दललाई छुट्टाछुट्टै तीन होटलमा राखिएको छ । बैंकक रद्द उडानसमेत जोड्दा मुसाकै कारण निगमले करिब ४० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । काठमाडौंबाट उडेको आरए ४०९ नम्बरको उडान दलका विमान चालकहरूमा युवराज भट्टराई, शुक्रशमशेर जबरा, दिपायल शेरचन र इच्छाराज गुरुङ थिए ।

No comments:

Post a Comment