Tuesday, September 27, 2011

नेपालमा ६५ वटा विमान दुर्घटना , वर्ष दिनभित्रै चारवटा


काठमाडौं ८ असोज
नेपालमा हालसम्म ६५ वटा विमान दुर्घटना भएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । आइतबार बिहान भएको बुद्ध एयरको विमान दुर्घटनासँगै नेपालमा विमान दुर्घटनाको संख्या ६५ वटा पुगेको हो ।
मन्त्रालयको तथ्यांकमा ती दुर्घटनामा ज्यान गुमाउने नेपाली र विदेशी नागरिकको संख्या ५ सय ८८ जना रहेको छ । १३ महिनाअघि ८ भदौमै अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । अमादब्लम हिमालमा फिस्टेल एअरको जहाज दुर्घटना र ओखलढुंगामा तारा एअरको विमान दुर्घटनासँंगै एक वर्षको अवधिमा नेपाली आकाशमा हवाई दुर्घटनाको संख्या चार पुगेको छ । फिस्टेलको दुर्घटनामा चालक दलका दुई सदस्य र तारा एयर दुर्घटनामा सवार १४ जनाकै मृत्यु भएको थियो ।
नेपालमा हालसम्म सबैभन्दा ठूलो हवाई दुर्घटना ललितपुरको भट्टेडाँडामा भएको थियो । सो ठाउँमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक सय ६७ जनाको मृत्यु भएको थियो । सन् १९५५ मार्च ८ मा पहिलोपटक बाराको सिमरामा डकोटा जहाज दुर्घटना भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसयता सन् १९९० सम्म १६ वटा हवाई दुर्घटना भएका थिए । सन् १९९० अघिको १६ वटा दुर्घटनामा १ सय ५४ र त्यसपछिका हवाई दुर्घटनामा ४ सय ३९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
२८ असारं २०२६ मा नेपाल वायुसेवा निगमको जहाज हेटौंंडामा दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । सोही वर्ष १६ फागुनमा नेपाली सेनाको जहाज काभ्रेको पाँचखालमा दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।
२०४९ सालमा नेपालमा लगातार दुई ठूला हवाइजहाज दुर्घटना भएका थिए । सोही वर्षको २६ साउनमा नुवाकोटको घोप्टेभीरमा भएको थाई एयरलाइन्स दुर्घटनामा १ सय १३ जना र १२ असोजमा ललितपुरको भट्टेडाँडामा भएको पाकिस्तानी एयरलाइन्स दुर्घटनामा १ सय ६७ जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटना नै नेपाली आकाशमा भएको सबैभन्दा ठूला हवाईजहाज दुर्घटना भएको मन्त्रालयले जनाएको छ । नेपालमा सबैभन्दा धेरै दुर्घटना भएको जहाज ट्विनअटर हो यो अहिलेसम्म १७ पटक दुर्घटनामा परिसकेको छ । पर्यटन मन्त्रालयका अनुसार अधिकांश हवाई दुर्घटना पहाडी क्षेत्रमै भएका छन् ।


No comments:

Post a Comment