Tuesday, September 20, 2011

पर्यटकको सख्या बढेपनि व्यापारिक कारोबार न्युन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ२ असोज
विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटक आगमनको संख्या बढेपनि अहिले राजधानीको पर्यटकीय बजार ठमेल लगायत मुलुकभरका अधिकाँश क्षेत्रको व्यापारिक कारोबार आशातित् रुपमा बढेको छैन छ । गत अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको देखिए पनि व्यापारिक कारोबार अपेक्षा गरे अनुरुप छैन । अगष्ट महिनामा ४३ हजार ४ सय ८७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन । सोही अनुपातले स्थलमागबाट आउनेहरुको संख्यापनि विगतका वर्षहरुको तुलनामा केही बढेको देखिन्छ । तर व्यापारिक कारोबार नबढेकामा व्यवसायी चिन्तित छन ।
विगत १५ दिन देखि नै वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम सुरु भएर राजधानीका होटल भरिए पनि अपेक्षाकृत रुपमा व्यापार नभएको अधिकाँश व्यवसायीको भनाई छ ।
उनीहरुले संख्यात्मक रुपमा पर्यटक आगमन बढेको देखिए पनि बढी खर्च गर्ने युरोपियन मुलुकबाट आउनेको संख्या न्युन भएकाले ठमेल लगायत मुलुकभरका पर्यटकीय बजारमा व्यापारिक कारोबार घटेको बताए ।
ठमेल स्थित वल्डवाइड टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक महेन्द्र खनालले गत एक सातादेखि ठमेलको व्यापारिक करोबारमा गिरावट आउन थालेको बताए । विगतका वर्षहरुको तुलनामा यसपाली बढी खर्च गर्ने खालका पर्यटक नआएको बताउँदै प्रवन्ध निर्देशक खनालले भने ु अहिले ठमेल क्षेत्रको व्यापारिक करोबार ४० प्रतिशतले घटेको छ ।
गत ५ सेप्टेम्वरसम्म आफ्नो ट्राभलबाट दैनिक विभिन्न एयरलाइनका दुई दर्जन भन्दाबढी टिकट विक्री हुने गरेको जानकारी गराउँदै उनले हाल दैनिक ४ओटा टिकट बनाउन समेत मुस्कील परेको बताए ।
यदि आइहाले पनि छिमेकी मुलुक भारतीयहरुको संख्या बढी रहेको जानकारी गराउँदै उनले अहिले विगतका वर्षहरुमा भन्दा न्युन कारोबार भएको बताए । पर्यटकीय मौसम सुरु भएर होटल एवं गेस्टहाउसको बुकिङ उच्च रहेपनि अहिले राजधानीको प्रमुख पर्यटकीय बजार ठमेल दरबारमार्ग बसन्तपुर भक्तपुर पाटन दरबार संरक्षण क्षेत्र र नगरकोटको व्यापारिक कारोबारमा गिरावट आएको उनको भनाई छ ।
होटल एसोसियसन अफ नेपाल हान ले भने अहिले आगामी अक्टोवर र नोयम्बरकालागि होटल बुकिङ उच्च रहेको जनाएको छ ।
हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले आगामी नोवेम्बरसम्मकालागि ९० प्रतिशत भन्दाबढी होटल बुकिङ भएको बताए । उनले अहिले ठुला तारे देखि स-साना पर्यटकीय होटलहरुमा युरोपियन मुलुकबाट आउने पर्यटकको संख्या भन्दा छिमेकी मुलुकहरु चीन र भारतबाट आउनेहरुको संख्या केही बढी भएकाले कारोबार घटेको बताए । दरवारमार्ग स्थित यती पश्मिना एवं ह्याण्डीक्राफ्टका प्रवन्धक राजाराम लामिछानेले पसलमा आउनेहरु सबै बढी खर्च गर्न नसक्ने खालका भएकाले व्यापारिक कारोबार न्यन रहेको बताए ।
ठमेल पर्यटन विकास परिषदका एक सदस्यले पनि विगतको वर्षहरुको तुलनामा यसपाली ठमेल लगायत मुलुकभरको व्यापारिक कारोबार घट्न थालेको बताए ।
विगतका वर्षहरुको तुलनामा अहिले ठमेल घुम्न आउने पर्यटकमा सबैभन्दा बढी भारतीय र चीनियाँ भएकाले कारोबाट नभएको जानकारी गराउँदै उनले युरोपियन पर्यटकले झैं यिनीहरुले खर्च नगर्ने भएकाले कारोबारमा गिरावट आएको बताए ।
त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले गत अगष्ट महिनामा हवाइ मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या २६ दशमलब ४ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

No comments:

Post a Comment