Wednesday, January 4, 2012

निगमले तारा एयरलाई दुईवटा जहाज भाडामा दिने



- नेपाल वायुसेवा निगमले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी तारा एयरलाई दुईवटा जहाज भाडामा दिने निश्चित भएको छ।

निगमले १९ सिट क्षमताका दुई टि्वनअटर जहाज प्रतिस्पर्धा गराएर निजी कम्पनीलाई भाडामा दिन गत मंसिर २५ मा सार्वजनिक प्रस्ताव आह्वान गरेको थियो। १५ दिन म्याद दिइएको सूचनापछि ताराको मात्र प्रस्ताव परेको थियो। तारा यती एयरलाइन्सअन्तर्गतको कम्पनी हो।
'ताराको मात्र प्रस्ताव परेपछि यही कम्पनीलाई जहाज भाडामा दिने निश्चित भएको छ,' जहाज भाडा दिन निगम सञ्चालक समितिद्वारा गठित प्रस्ताव मूल्यांकन समितिका संयोजक रञ्जनकृष्ण अर्यालले  भने, 'एक/दुई दिनमै ताराको प्रस्ताव स्वीकृत हुन्छ।'
जहाज भाडामा लिन निगमले राखेका सबै प्रस्ताव ताराले स्वीकार गरेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दशकदेखि उड्न नसक्ने गरी 'ग्राउन्डेड' ती दुई जहाज जे-जस्तो अवस्थामा छन्, तिनको अनुमानित मूल्यांकन गरिएको रकम १३ लाख ४४ हजार ५ सय ८ अमेरिकी डलरबराबर रकम १० वर्षका लागि बैंक ग्यारेन्टी पेस गर्नुपर्ने थियो।
समितिले मूल्यांकन रकम बढाएर २० लाख डलर (१६ करोड ८० लाख रुपैयाँ) पुर्‍याएको अर्यालले जानकारी दिए। 'यो रकमलाई पनि ताराले स्वीकार गरेको छ,' उनले भने।
उनका अनुसार १० वर्षदेखि नउडेको जहाजलाई भाडामा लगाएर एउटाबाट मासिक २४ हजार डलर आम्दानी गर्नु निगमका लागि फाइदाजनक हो। आगामी १० वर्षपछि यी जहाजको मूल्य २ लाख डलर पनि आउँदैन। 'त्यही भएर जहाज भाडामा दिने निर्णय भएको हो,' उनले भने।
निगमका यिनै दुई जहाज भाडामा लिन ताराले एयरले मंसिर दोस्रो साता प्रस्ताव हालेको थियो। ताराको प्रस्ताव निगम सञ्चालक समितिमा पेस भएपछि एउटै कम्पनीलाई दिनुभन्दा प्रतिस्पर्धा गराउँदा राम्रो भाउ आउने भएपछि समितिले भाडामा दिने निर्णय गरेको थियो।
ताराका एक अधिकारीले दुर्गम भेगमा रहेको आफ्नो बजार जोगाइ राख्न निगमका जहाज भाडामा लिन प्रस्ताव हालेको बताए। बजारमा टि्वनअटर जहाज नपाएकाले प्रस्ताव हालेको उनले बताए।
उनका अनुसार निगमले प्रस्ताव स्वीकृत गरेपछि दुवै जहाजलाई पूर्णमर्मत गरेर दुर्गममा उडाउने योजना छ। दुइटै जहाज मर्मत गर्न करिब ४० लाख डलर खर्च लाग्ने अनुमान छ। हाल तारासँग तीनवटा टि्वनअटर जहाज सञ्चालनमा छन्।
निगमले भाडामा दिन लागेका जहाजका कलसाइन ९एन-एबिएम र ९एन-एबिक्यु हुन्। यी दुवै जहाज निगमले झन्डै ४० वर्षअघि क्यानडाबाट अनुदानमा पाएको थियो। अहिले भाडामा दिन लागेका जहाजमा इन्जिन छैनन्। जहाजका 'फ्रेम' मात्र भाडामा दिन लागिएको हो। ती सबै ताराले व्यवस्था गर्नुपर्ने छ।
त्यसै गरी न्यूनतम मासिक भाडा दर पहिलो सात वर्षसम्म प्रतिमहिना एक जहाजको २४ हजार डलर र त्यसपछि थप २ हजार डलर गरी २६ हजार डलर दिनुपर्ने छ। यो भाडा दरमध्ये ५० प्रतिशत जहाज मर्मत खर्चवापत् कटाएर बाँकी प्रतिमहिना प्रतिजहाज १२ हजार डलर दिनुपर्ने छ। सात वर्षपछि भाडामा प्रतिमहिना थप एक हजार डलर बुझाउनुपर्ने र जहाज मर्मत सम्भारको सबै खर्च बेहोर्नुपर्ने सर्त ताराले स्वीकार गरेको छ।
त्यसै गरी जहाजको 'हल र लायबिलिटिज' बिमाका लागि 'स्ट्यान्डर्ड एभिएसन इन्स्योरेन्स पोलिसी' अपनाइ प्रस्तावकले नै बेहोनुपर्ने र जहाजको बिमा रकम निर्धारण गर्दा कम्तिमा निगमले उडान गरिरहेको समान उमेरको जहाज सरह हुनुपर्ने, भविष्यमा जहाज दुर्घटना भए क्षतिपूर्ति पाइने बिमा रकम आधा-आधा निगम र ताराले पाउनेछन्।
ताराले १० वर्षपछि जहाज फिर्ता गर्दा उडानयोग्य अवस्थामै हुनुपर्ने र दुईमध्ये एउटा जहाज भाडा अवधिभर निगमले तोकेका दुर्गम भेगमा उडाउनुपर्ने सर्त पनि उसले मानेको छ।

No comments:

Post a Comment