Saturday, January 14, 2012

पाँच घण्टे नेपाल भ्रमण सकेर फर्किए वेन जिआबाओ


काठमाडौं,३० पुस - दुई पक्षीय सहयोगका ८ वटा समझदारी पत्रमा हस्ताक्षर गर्दै प्रधानमन्त्री वेन जियाबाओ नेतृत्वको चिनिया प्रतिनिधिमण्डल विदा भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले विमानस्थल पुगेरै विश्वको चौथो शक्तिशाली राष्ट्रका सरकार प्रमुखको स्वागत तथा विदाइ गरेका छन्।
पाँच घण्टे अत्यन्त व्यस्त काठमाडौं बसाइको अन्तिम समयमा उनले राष्ट्रपति रामवरण यादवसँग भेटघाट गरे। सिंहदरबारको दिवा भोज सकेर शीतल निवास पुगेका जियाबाओले राष्ट्रपति यादवसँग १५ मिनेटभन्दा बढी समय बिताएका थिए।
चिनिया प्रधानमन्त्रीको भ्रमण अवसरमा भएका सम्झौताअनुसार भौतिक पूर्वाधार विकासका लागि चीनले नेपाललाई ७५ करोड अमेरिकी डलर अनुदान दिनेछ। यसका अतिरिक्त चिनियाँ प्रधानमन्त्री जियाबाओले दिवा भोजका अवसरमा नेपाली पक्षलाई शान्ति प्रक्रियालाई सहयोग गर्न थप दुई करोड डलर सहित यो वर्ष नेपाललाई प्रदान गर्ने बजेटरी सहयोग २० करोड अमेरिकी डलर पुर्‍याउने आश्वसन दिएका छन्।

सुरक्षा व्यवस्था कडा
जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री वेन जिआबाओ काठमाडौं रहँदा उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिंहदरबारसम्मको सडकमा सार्वजनिक यातायात आवतजावतमा रोक लगाइएको थियो। सडकमा आवतजावत गर्ने पैदलयात्रुको पनि सुरक्षा जाँच गरिएको थियो। जियाबाओको सवारी हुने सडकमा २ सय मिटरको दूरीमा प्रहरी परिचालन गरिएको थियो भने चोक चोकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालित थिए। सिंहदरबारदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको सडकमा पनि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको थियो। प्रधानमन्त्री जिआबाओको भ्रमणका बेला तिब्बती शरणार्थीले प्रदर्शन गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सुरक्षा कडा पारिएको हो।
एक घण्टा विमानस्थल ठप्प
चिनयाँ प्रधानमन्त्री सवार चाइना एयरको विमान काठमाडौं विमानस्थलमा प्रस्थान गर्नु एक घण्टा अगाडिदेखि नै त्रिभुवन विमानस्थलबाट उड्ने-अवतरण गर्ने आन्तरिक तथा अन्तरार्ष्ट्रिय उडान रद्द गराइएको थियो। सुरक्षालाई ध्यानमा राख्दै एक घण्टा अगाडि नै विमानस्थलका अन्य उडान रद्द गरिएको हो। विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट जियाबाओ आउँदा समेत एक घण्टा अघिदेखि अन्य विमानहरुका उडान तथा अवतरणमा रोक लगाइएको थियो।

'चिनियाँ प्रधानमन्त्रीको भ्रमणः द्विपक्षीय दौत्य सम्बन्धमा कोशेढुङ्गा'
काठमाडौं,३० पुस - सरकारले चिनियाँ प्रधानमन्त्री वेन जिआबाओको औपचारिक सद्‍‍भावना भ्रमण नेपाल-चीन सम्बन्ध सुदृढीकरणमा कोशेढुङ्गा साबित भएको दाबी गरेको छ। चिनियाँ प्रधानमन्त्रीको भ्रमणपछि विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकका प्रधानमन्त्रीको नेतृत्वमा भएको द्विपक्षीय वार्ता तथा आर्थिक सहयोग प्रवर्द्धनलगायत आपसी हितका विषयमा भएका सहमतिले यो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको उल्लेख गरे। क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोको साझा विषयमा सहकार्य गर्ने प्रतिबद्धता चिनियाँ प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उल्लेख गर्दै पराष्ट्रमन्त्री क्षेष्ठले शान्ति र संविधानका निम्ति राजनीतिक दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रधानमन्त्री बाबुराम भट्टराईको प्रयासको चिनियाँ विशिष्ठ अतिथिले सराहना गर्नुभएको जानकारी दिए। 'शान्ति प्रक्रिया शीघ्र टुङि्गएर संविधान जारी भई आर्थिक विकासको पथमा नेपालअघि बढोस् जसलाई थप गति दिन चीन तयार रहनेछ'- चिनियाँ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने । शान्ति र संविधानलाई प्रमुख कार्यसूची बनाएर कार्य गरिरहेको जानकारी प्रधानमन्त्री भट्टराईले आफ्ना चिनियाँ समकक्षीलाई गराएको उनले उल्लेख गरे। त्यसैगरी प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको सामूहिक भेटवार्तामा एक चीन नीतिप्रति नेपाली नेताले आफ्ना अडान दोहोर्‍याउनुभएको थियो भने चिनियाँ प्रधानमन्त्रीको भ्रमणबाट नेपाल-चीनबीचमा मैत्री सम्बन्धमा नयाँ आयाम थपिएको बताएका थिए। नेपालका शीर्ष नेताहरूले साझा सहमतिका आधारमा शान्ति र संविधानका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस निम्ति चीनलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग एवं समर्थन अपरिहार्य हुने धारणा व्यक्त गर्नुभएको उपप्रधान तथा परराष्ट्रमन्त्रीले जानकारी दिए।चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षीलाई चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको तथा दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमणको मिति कूटनीतिक माध्यमबाट निर्धारण गरिने परराष्ट्रमन्त्रीले बताए।
उत्तर-दक्षिण सम्पर्क सडक निर्माण, विशेष आर्थिक क्षेत्र स्थापना, जलविद्युतको विकासका लागि सहुलियतपूर्ण ऋण, नेपालको सीमासम्म रेलसेवा विस्तारलगायत विषयमा चिनियाँ पक्ष सकारात्मक रहेको उनले उल्लेख गरे।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हुम्लाको यारी, रसुवाको जिलोङ र कोदारीको झाङमुमा अन्तर्राष्ट्रिय नाका खोल्ने सहमति भएको छ। त्यसैगरी द्विपक्षीय व्यापार प्रवर्द्धन, सवारीसाधनको एवं मानिसको आवागमनका लागि सङ्खुवासभाको रियु- ओलाङचुङगोला, मुस्ताङ-लिपि नाका शीघ्र सञ्चालन हुनेछ।
भ्रमणको अन्त्यमा जारी गरिएको ८ बुँदे संयुक्त वक्तव्यमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल- चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने, एकअर्काका सार्वभौमिकता, क्षेत्रीय अखण्डता, सामाजिक पद्धति तथा विकासको पथ अवलम्बनमा अहस्तक्षेपको नीति, संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्धता, चौतर्फी उन्नयनका लागि दुवै मुलुकले विकासका अनुभव तथा प्राविधिक प्रगति आदानप्रदान गर्न सहमति जनाएका छन्।
दुवै पक्ष उच्चस्तरीय भ्रमण, नेपाल-चीन संयुक्त आर्थिक तथा वाणिज्य समितिको बैठक नियमित गर्ने तथा कूटनीतिक परामर्श संयन्त्रलाई सदुपयोग गर्न सहमत भएका छन् भने समानता र आपसी लाभका आधारमा आर्थिक-सामाजिक विकासका साथै जलविद्युत्, व्यापार, पर्यटन प्रवर्द्धन, यातायातका पूर्वाधारको विकास गर्न राजी भएका छन्।
माथिल्लो त्रिशुली ३ ए जलविद्युत परियोजनाको निर्माणका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्ने तथा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, नेपालमा चिनियाँ संयुक्त लगानीका प्रतिष्ठान स्थापना गर्नेलगायत द्विपक्षीय हित र चासोका विषयमा सहकार्य गर्न नेपाल र चीनले सहमति जनाएका छन्।

No comments:

Post a Comment