Monday, January 16, 2012

खराव मौसमले अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित, कतार र ओमानका जहाज अन्यत्र डाइभर्ट, २८ आन्तरिक उडान रद्ध


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ माघ
खराव मौसमका कारण सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । जसका कारण विभिन्न मुलुकबाट काठमाडौ आउँदै गरेका केही विमान अकस्मात बीच आकसबाटै अन्यत्र डाइभर्ट गर्न बाध्य भएका थिए भने हजारौं यात्रु लामोसमयसम्म विमानस्थलमा अलपत्र परेका थिए ।
बढ्दो चिसोसँगै उपत्यकाको आकासमा बिहानैदेखि लागेको बाक्लो तुँवालोले आकासमा उडेको जहाज अवतरण गर्न आवस्यक भिजिविलिटीको मात्रा न्युन भएका कारण विमानस्थलको हवाई उडान प्रभावित भएको हो ।
खराव मौसमका कारण सोमबार विहान ११.१० मा काठमाडौ अवतरण गर्न दोहाबाट आउँदैगरेको कतार एयरवेजको नियमित उडान नम्बर–३५२ जहाज अवतरण गर्न नसकि बीचआकासबाटै कोलकता डाइभर्ट भएको थियो । त्यसको केही समयपछि मस्कटबाट आएको ओमान एयरको उडान नम्बर ‘डब्लुवाई–३३५’ जहाज लखनउ विमानस्थल डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले खराव मौसमका कारण  सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान प्रभावित भएको बताए । बिहानैदेखि मौसम विग्रिएकाले कतार एयरवेज र ओमान एयरका २ ओटा जहाज भारत तर्फ डाइभर्ट भएको र अन्य जहाज केहीसमय आकासमा होल्ड गर्न बाध्य भएको जानकारी गराउँदै महाप्रवन्धक सुमनले राजधानीसँग भने, ‘ जाडो मौसममा अन्तर्राष्ट्रिय विमानस्थलले हरेक वर्ष यस्तो समस्या भोग्दै आएको छ’ ।
खराव मौसमले आन्तरिक उडान पनि प्रभावित भएको बताउँदै उनले सोमबार विहान २८ ओटा आन्तरिक उडान रद्ध भएको जानकारी गराए । विमानस्थल कार्यालयका अनुसार क्वालम्पुरबाट आएको नेपाल वायुसेवा निगमको एउटा जहाज, गल्फ, सिल्क र बहराइन एयरका जहाज डेढदेखि करिब २ घन्टासम्म आकासमा होल्ड गर्न बाध्य भएका थिए ।  आकासमा धुम्मिएको बाक्लो तुँवालो विस्तारै खुलेर भिजिविलिटीको मात्रा बढेपछि दिउँसो पौने १ बजे मात्र नेपाली आकासमा लामोसमय होल्ड गर्न बाध्य सबै जहाज विमानस्थलमा अवतरण भएका थिए । सामान्य अवस्थामा विमानस्थल बिहान ६ बजे देखि राती १२ बजेसम्म सुचारु रहन्छ । अवतरणमा प्रभाव परेपनि विमानस्थलबाट विभिन्न मुलुकतर्फ जाने सबै उडान सुचारु रहेको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भर्ने मध्यम खालका जहाजलाई २ हजार ८ सय भिजिविलीटी आवस्यक पर्छ । यसैगरि ठुला विमानलाई भने भिजिविलीटीको न्युनतम मात्रा ३२ सय मिटर आवस्यक पर्छ । तर, सोमबार विहान काठमाडौ उपत्यकाको आकासमा भिजिविलिटीको मात्रा जम्मा एक हजार ६ सय मिटर मात्र थियो । विमानस्थलस्थित मौसम मापन केन्द्रले अपरान्ह १२ बजे पछि काठमाडौ उपत्यकाभित्र भिजिविलिटीको मात्रा जम्मा २ हजार मिटर मात्र मापन गरेको थियो ।  हाल अन्तर्राष्ट्रिय उडानमा सञ्चालित नेपाल वयुसेवा निगम र बुद्ध एयरका जहाज बाहेक २८ ओटा कम्पनीका करिब ५० बढी जहाज विभिन्न मुलुकमा ओहोर–दोहोर गरिरहेका छन । यसअघि खराव मौसमकै कारण गत १७ पुसमा पनि दिनभर अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।   

No comments:

Post a Comment