Monday, January 16, 2012

खराब मौसमले उडान प्रभावित, दुई अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट

काठमाडौ,२ माघ  - काठमाडौंको खराब मौसमका कारण सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने  अन्तर्राष्ट्रिय  उडान प्रभावित भएको छ  । पौने १ बजेपछि मात्र अन्तर्राष्ट्रिय विमान अवतरण भएका  छन्  । यसबीचमा दुई वटा विमान डाइभर्ट भएका छन् । आवश्यक भिजिविलिटी नहुँदा काठमाडौंको आकाशमा एक घण्टा 'होल्डिङ' मा रहेर ओमान एअर लखनउ तथा कतार एअर कलकत्ता डाइभर्ट भएको विमानस्थल अन्तर्राष्ट्रिय टिडिओ(उडान सूचना शाखा)ले जनाएको छ ।
'होल्डिङ' मै रहेको बहराइन एअर पौने १ बजे  अवतरण गरेको छ । त्यस्तै गल्फ तथा सिल्क एअरले पनि अवतरण गरेको टिडिओका कर्मचरीले जानकारी दिए । विमानस्थलमा तीन किलोमिटरको भिजिविलिटी भएपछि विमानहरु अवतरण गरेको टिडिओले जनाएको छ । त्यसअघि दुई किलोमिटर मात्र भिजिविलिटी रहेकाले अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिएको थियो ।
'विमानस्थल तुँवालेले छोपिएकाले आवश्यक भिजिविलिटी नहुँदा विमानहरु समयमा अवतरण गर्न पाएनन्,' टिडिओका कर्मचारीले भने-'केही बेरको प्रतिक्षापछि पनि आवश्यक भिजिविलिटी नपाएपछि दुई वटा विमान डाइभर्ट भए ।' अन्तरदेशीय तर्फ भने बिहान १० बजेपछि उडानहरु भएका छन् । बुद्ध एअरले आफ्ना सबै उडानहरु १० बजेपछि नियमित भएको जनाएको छ ।

No comments:

Post a Comment