Monday, January 30, 2012

पर्यटकको सख्या बढेपनि कारोवार घट्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ माघ
विगतका वर्षहरुको तुलनामा यसपाली पर्यटकीय बजार ठमेल र दरबारमार्ग क्षेत्रमा सख्यात्मक रुपमा पर्यटक आउने क्रम बढे पनि व्यापारिक कारोबार घटेको व्यवसायीहरुले बताएका छन ।
घुम्नका लागि मात्र नभएर विभिन्न कामले ठमेल, दरबारमार्ग बसन्तपुर, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्र पस्ने पर्यटकको संख्या विगतका वर्षहरुमा भन्दा अहिले  धेरै भए पनि व्यापारिक कारोबार भने न्युन रहेको उनीहरुले बताएका छन ।
ठमेलमा विगत डेढ दशक देखि पस्मिना लगायत तयारी पोशाखको व्यापार गर्दै आएका टिका प्रसाद नेपालले यसपाली पर्यटकको आगमन धेरै भएपनि व्यापारिक कारोबार घटेको बताए ।
पहिलेको भन्दा हाल आइपुगेका पर्यटक कम खर्च गर्ने भएकाले यस्तो स्थिती देखिएको जानकारी गराउँदै पश्मिना व्यवसायी नेपालले राजधानीसित भने, ‘अहिले बढी डलर खर्च गर्ने पर्यटक आएकै छैनन’। पसलमा आइपुग्ने मध्ये सबै न्युन रकम खर्च गर्नेमात्र आएको बताउँदै उनले भने, ‘ दिनमा ५० जना छिरेभने  जम्मा ५ जनाले मात्र समान खरिद गर्दछन’ ।
विगत लामो समयदेखि युरोपमा देखिएको आर्थिक मन्दीको चपेटामा परेर न्युन खर्चमा आरामकासाथ भ्रमण गर्न आउनेहरुको संख्या बढी भएकाले कारोबार नभएको उनको भनाई छ ।
यसैगरि ठमेलस्थित नरसिँह चोकमा तयारी पोसाकको कारोबार गर्दै आएका केशवप्रसाद पाण्डेले विदेशी पर्यटक आउनेक्रम बढेपनि पहिलेको बर्ष भन्दा यसपाली खासै व्यापार नभएको बताए ।
डिप्लोम्याटिक र लामो समयसम्म नेपाल बस्न चाहने पर्यटकको संख्या कम भएकाले र  विभिन्न क्षेत्रमा पर्यटकीय सामानको व्यापार गर्ने क्रम बृद्धि भएकाले ठमेलको व्यापारिक कारोबार न्युन भएको बताए ।
ठमेल पर्यटन परिषदका उपाध्यक्ष रामशरण थपलियाले पनि अहिले ठमेलको भ्रमणमा आउने अधिकाँश पर्यटक मध्ये बस्तु तथा सामान खरिद गर्नेहरुको संख्या केही घटेको बताए । उनले हाल सस्तो खाना खाने र सामान खरिद गर्दापनि धेरैबेर बार्गेनिङ गर्ने खालका पर्यटक बढी  आइरहेको बताए ।
यस्तो स्थितीमा अब व्यापारीले बिक्री गर्दै आएका बस्तुहरुको गुणस्तर सुधार हुनुपर्नेमा जोड दिँदै उनले समुहमा आउने पर्यटकलाई व्यवसायीले नयाँ उत्पादन देखाउन सकेमा मात्र कारोबार बढ्ने बताए ।
 अहिले नै हतोत्साही हुनुपर्ने स्थिती नभएको दावी गर्दै उनले आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको बताए ।
अहिले ठमेल बाहेक मुलुकभरका विभिन्न क्षेत्रमा पर्यटकीय वजार बिस्तार हुने क्रम बढेकाले पनि यस्तो भएको हुने सक्ने उनले बताए ।
ठमेल पर्यटन परिषदका अनुसार हाल दैनिक विभिन्न मुलुकबाट आउने करिब ८ सयभन्दा बढी पर्यटकले ठमेलको भ्रमण गर्दछन । जसमा छिमेकी मुलुक भारत,चीन  र युरोपियन मुलुकबाट आउनेहरुको सख्या बढी छ ।
हाल अन्तर्राष्ट्रिय विमानस्थल र व्यापारिक कारोबार स्थलमा भईरहेको हकरद्धारा पर्यटकलाई गरिने दुव्यर्वहार एवं जबर्जस्ती ठगिको वातावरणलाई न्युनिकरण गर्दै जान सकिएमा पनि पर्यटकीय बजार ठमेल लगायत अन्य पर्यटकीय गन्तब्यस्थलको कारोबार बढ्ने अधिकाँश व्यवसायीको भनाई छ ।
 उनीहरुले अबैध तरिकाले व्यवसाय गर्दै आएका केही व्यवत्तिहरुले पर्यटकलाई दिएको हैरानीले पनि राम्रो कारोबार हुने क्षेत्र प्रभावित हुने गरेको बताए । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट ( नाट्टा) का पुर्व अध्यक्ष अर्जुन प्रसाद शर्माले विभिन्न उदेस्यले नेपालको भ्रमणमा आएका पर्यटकलाई आफुले दिँदै आएका सेवा र उत्पादन बिस्तार गर्न सकिएमा कारोबार स्वतः बढ्दै जाने बताए ।
कारोबार बृद्धि गर्नकालागि स्वयंम व्यवसायीले नै नयाँ नयाँ उत्पादन दिएर पर्यटकको मन जीत्न सक्नुपर्ने उनको भनाई छ । बिश्वमा देखिएको आर्थिक मन्दिको प्रभावका कारण हाल संख्यात्मक रुपमा पर्यटक आउनेक्रम बढेपनि करोबार घटेको बताउँदै शर्माले भने, ‘ बढी खर्च गराउँनकालागि व्यवसायीले नै नयाँ उत्पादन दिएर पर्यटकको मन जित्न सक्नुपर्छ’ ।   
अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई हुने दुव्यवहारले मुलुकको पर्यटकीय छबिमा नै असर पार्ने काम भईरहेको बताउँदै उनले यस्ता प्रवृद्धिलाई नियन्त्रण गर्न अब व्यवसायी एकजुट हुनुपर्ने बेला आएको दावी गरे ।

No comments:

Post a Comment