Sunday, January 1, 2012

खराव मौसमले अन्तर्राष्ट्रिय उडान ठप्प


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १७ पुस
खराव मौसमका कारण आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । बिहानैदेखि काठमाडौको आकासमा लागेको बाक्लो तुवाँलोले भिजिविलीटीको मात्रा एकदम न्युन रहेका कारण अन्तर्राष्ट्रिय उडान पूर्ण रुपले ठप्प भएको थियो । खराव मौसमका कारण विभिन्न मुलुकबाट काठमाडौ आउँदै गरेका दर्जनौ जहाज अकस्मात बीचआकासबाटै अन्यत्र डाइभर्ट भएका थिए भने नेपालबाट बाहिरिने यात्रुहरु दिनभर विमानस्थलमा अलपत्र परेका थिए । आइतबार साँझसम्म आकास नखुलेकाले विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले बिहानैदेखि विग्रिएको खराव मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनले हाल अन्तर्राष्ट्रिय उडानमा रहेका २८ ओटा कम्पनीका करिब ५०  बढी जहाज मध्ये दिनभर बैंककबाट आएको थाइ एयरवेज र ओमान एयरको दुई ओटा जहाज मात्र विमानस्थलमा अवतरण गर्न सफल भएको बताए । ओमानबाट आएको ओमान एयरको एउटा  र थाइ एयरको एक गरि जम्मा दुईओटा जहाज नियमित सयमभन्दा केही समय ढिलो बिहान साढे ११ देखि १ बजे विमानस्थलमा अवतरण गरेको जानकारी गराउँदै उनले अरु सबै काठमाडौमा अवतरण गर्न नसकेर अन्यत्र डाइभर्ट भएको बताए ।
उनले आइतबार दिनभर विभिन्न मुलुकबाट काठमाडौ आउँदै गरेका करिब डेढ दर्जन भन्दाबढी जहाज बीचआकासबाटै अन्यन्त्र डाइभर्ट भएको बताए । खराव मौसमका कारण दिल्ली तर्फबाट आउँदै गरेका एयर इण्डिया लगायत सबै जहाज पूनः दिल्ली तर्फ नै डाइभर्ट भएको बताउँदै महाप्रवन्धक सुमनले भने , ‘ दिनभर अनेक प्रयास गर्दापनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिएन’ ।  उनले चीनबाट आउँदै गरेको एयर चाइनाको उडान नम्बर ४०७ र चाइना स्र्टन जहाज लासा तर्फ डाइभर्ट भएको बताए । यसैगरि जेट एइरको उडान नम्बर २६६ र २६७ जहाज लखनउ तर्फ डाइभर्ट भएको  जानकारी दिँदै उनले विमान बंगलादेशको जहाज ढाका तर्फ र किङफिसर एयरको जहाज काठमाडौमा अवतरण हुन नसकि दिल्ली तर्फ डाइभर्ट भएको बताए ।  खराव मौसमका बावजुत पनि आन्तरिक उडान भने दिनभर सञ्चालन भएका थिए । साँझ मौसम थप विग्रिएकाले मात्र उडान रोकिएको थियो ।       
दिनभर आकास नखुलेको र हिमाली क्षेत्रमा हिउँ पर्न थालेकाले विमानस्थलबाट सञ्चालन हुने आन्तरिक उडानमा भने सामान्य प्रभाव परेको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तराष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रमिलन शाखाका प्रमुख  पुर्णप्रसाद चुडालले  बढ्दो जाडोसँगै उपत्यकाको आकासमा लागेको बाक्लो तुवाँलोका कारण आइतबार दिनभार आइएफआरबाट आन्तरीक उडान सञ्चालन गर्न सफल भएको बताए । उनले विहानैदेखि अपरान्ह साढे ४ बजेसम्म काठमाडौको आकासमा भिजिविलीटीको मात्रा २ हजार रहेकाले आइएफआरबाट आन्तरिक उडान सञ्चालन गरेको बताए । आन्तरिक उडानमा सञ्चालिन जहाज आकासमा उड्न न्युनतम एक हजार ६ सय भिजिवीलिटी हुनुपर्नेमा साँझ भिजिवीलिटीको मात्रा एक्कासी झरेर जम्मा १ हजारमा आएकाले उडान रोकिएको बताए । खराव मौसमले आन्तरिक उडानमा केही समय ढिलो मात्र भएको उनले जानकारी दिए । 

No comments:

Post a Comment