Friday, November 15, 2013

बन्दको हल्लाले बजारमा ग्याँसको अभाव

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ कात्तिक
नेकपा– माओवादीसहितको ३३ दलले सोमबारदेखि गर्ने भनिएको बन्दको हल्लाकै कारण अहिले बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव हुन थालेको छ ।
लामो समयसम्म हुने भनिएको बन्द, हड्तालको त्रासले आक्रान्त उपभोक्ताले बढी संचिती गर्न थालेको र व्यवसायीले पनि सोही मौकाको फाइदा उठाउँदै कृत्रिम अभाव गरिरहेकाले अहिलेदेखि नै बजारमा ग्याँस पाउन छाडेको हो । घरमा खाना पकाउँदा पकाउँदै सकिएको रित्तो सिलिण्डर लिएर गएका उपभोक्तालाई राजधानीका केही ग्याँस डिपोले गत बिहीबारदेखि नै ग्याँस छैन भनेर त्यसै फर्काउन थालेपछि बजारमा ग्याँस अभाव भएको खुलासा भएको हो ।
काठमाडौको नयाँ बजार र बालाजुका केही ग्याँस डिपोमा शुक्रबार देखि नै खाना पकाउने ग्याँसको अभाव भईरहेको छ । बालाजु बोहोराटारका उपभोक्ता नरेन्द्र पाठकले माओवादीले गर्न लागेको नेपाल बन्दको हल्लाकै कारण विगत तीन दिनदेखि आफुले ग्याँस नपाएको बताए । उनले बोहोराटारदेखि बालाजु हुँदै ठमेलसम्मका सबै डिपोमा चहार्दा पनि अहिलेसम्म आफुलाई आवश्यक एचपी ग्याँस पाउन नसकिएको जानकारी दिए । उनले आफुकहाँ भएका दुईथरि सिलिण्डर मध्ये एचपी ग्याँस भर्न धेरै डिपोहरुमा चहार्दापनि अहिलेसम्म नपाएको बताए । उनले नेपाल ग्याँस उद्योग बालाजुमा नै रहेकाले सो ग्याँस पाउन अन्य भन्दा केही सहज भए पनि एचपी ग्याँस पाउन मुस्कील भईरहेको बताए ।
अर्का उपभोक्ता बिरेन्द्र लामाले पनि माओवादीले गर्ने भनिएको नेपाल बन्दको हल्लाकै कारण अहिलेदेखि नै बजारमा खाना पकाउने ग्याँस लगायत दैनिक उपभोग्य बस्तुहरुको समेत अभाव हुन थालेको बताए । उनले व्यवसायीले पनि कृत्रिम अभाव सृर्जना गरिरहेकाले बजारमा ग्याँस पाउन नसकिएको बताए । उनले बन्दको हल्लाकै कारण उपभोक्ता र व्यवसायीले आवस्यक भन्दा बढी संचिती गर्न थालेकाले बजारमा ग्याँस अभाव भएको दावी गरे ।  
नयाँबजारका ग्याँस विक्रेता प्रमोद मानन्धरले पनि अहिले माग अनुरुप आपूर्ति नभएकाले उपभोक्तालाई भनेको बेलामा ग्याँस उपलब्ध गराउन मुस्कील भईरहेको बताए । उनले बजारमा उपलब्ध विभिन्न कम्पनीका ग्याँस मध्ये अहिले सबैभन्दा बढी एचपी ब्राण्ड ग्याँसको अभाव धेरै रहेको बताए ।
ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले पनि १० दिने नेपाल बन्दको हल्लाले बजारमा ग्याँस अभाव भएको बताए । अहिलेसम्म त्यति अभाव नभएको जानकारी दिँदै अर्यालले भने, ‘बन्द हड्ताल भयो भने बजारमा ग्याँसको चरम अभाव हुने छ ’ । अहिले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दैलेखमा चरम अभाव रहेको जानकारी दिँदै उनले सो अभाव न्युनिकरणका लागि सरकारले ग्याँसको सहज अपुर्तिका लागि आयात कोटा थप्नुपर्ने बताए । उनले ग्याँस विक्रेता महासंघको शुक्रबार सम्पन्न बैठकले माओवादीको नेपाल बन्द फिर्ता लिन र सरकारलाई उनीहरुका राजनीतिक मुद्दा तत्काल सम्बोधन गर्न आग्रह गरेको बताए ।
महासंघ सचिवालयको सो बैठकले सोमबारदेखि हुने भनिएको १० दिने नेपाल बन्दले मुलुकको आर्थिक क्षेत्रमा गम्भिर असर पार्ने बताउँदै उनले ग्याँसको आयात कटौती भएको जानकारी दिए । उनले अहिले मासिक २५ हजार मेट्रिक टन ग्याँसको माग रहे पनि जम्मा १५÷१६ हजार मेट्रिक टन मात्रै आइरहेको बताए । केही महिना अघिसम्म मासिक १७ हजार मेट्रिक टन ग्याँस आयात भईरहेकोमा अहिले सो आयातमा केही  कटौती भईरहेकाले उनले सिलिण्डरको आयात कोटा बढाईनुपर्ने बताए । सिलिण्डरको आधारमा ग्याँस विक्री गर्नुपर्नेमा सो नभईरहेको भन्दै उनले बन्दको हल्लाले मात्र होइन, तत्काल ग्याँसको कोटा नबढाए जाडो मौसम भरी ग्याँस अभाव कायम रहने दावी गरे । 

No comments:

Post a Comment