Monday, November 25, 2013

दुई महिनाभित्र निगमलाई नयाँ जहाज

काठमाडौं, ८ मंसिर -  लामो समयदेखि जहाजविहीन भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी २ महिनाभित्रमा २ वटा नयाँ जहाज पाउने भएको छ । एउटामात्र जहाजका कारण ठप्पप्रायः भएको निगमको आन्तरिक सेवाको निरन्तरताका साथै विस्तार गर्ने उद्देश्यले सरकारले विगत ५ वर्षदेखि गरेको प्रयास सफल हुन लागेको हो ।
चीन र नेपालका वरिष्ठ सरकारी अधिकारीहरूबीच कैयौँ चरणमा काठमाडौँ र बेइजिङमा भएका उच्चस्तरीय वार्ताको फलस्वरूप चीनले २ वटा जहाज अनुदानस्वरूप सरकारलाई उपलब्ध गराउने विषयमा सहमति भएको हो । चीन–नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ ‘सिट’को हार्विन वाई–१२ र ५८ सिटयुक्त एमए ६० जहाज प्रदान गर्न लागेको छ ।
अनुदानमा जहाज उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा यसैसाता हस्ताक्षर हुँदैछ । उक्त सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्ने जनाइएको छ । दुवै देशका सरकारले उनीहरूलाई यो अख्तियारी दिइसकेका छन् ।
चीनबाट सरकारले थप ४ वटा जहाज खरिदसमेत गर्ने भएको छ । यसैसाता चिनियाँ एक्जिम बैंकसँग सहुलियतमा ऋण लिएर ती जहाज खरिद गरिने नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले जानकारी दिए । “अनुदान र ऋण सहायतासम्बन्धी २ बेग्लाबेग्लै सम्झौतामा एकैदिन अर्थमन्त्रालयमा हस्ताक्षर हुनेछ,” उनले भने ।
चीनको चालू आर्थिक वर्ष मंसिर १५ गते सकिने भएकाले चिनियाँ पक्षले यसै वर्षभित्र सम्झौता गर्न नेपाल सरकारलाई अनुरोध गरेको थियो । चिनियाँ अनुरोधअनुरूप सरकारले पनि मन्त्रिपरिषदबाट उक्त प्रस्ताव हालै अनुमोदन गरेको छ ।
अनुदानस्वरूप प्राप्त हुने २ वटा जहाजको मूल्य करिब २ अर्ब ९८ करोड रुपैयाँ छ भने एक्जिम बैंकबाट थप ३ अर्ब ६१ करोड ऋण लिई ४ वटा जहाज खरिद गरिने सदस्य अर्यालले बताए । साँवा र ब्याज गरी १३ वर्षमा निगमले एक्जिम बैंकको ऋण चुक्ता गर्नुपर्नेछ । उक्त बैंकले १.०५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ ।
गत कात्तिकमा चिनियाँ अधिकारीहरूसँग काठमाडौंमा भएको छलफलमा उक्त सहमति भएको थियो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयका साथै नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी थिए ।
चीनमा निर्मित जहाज नेपालको आकासमा उडाउन उपयुक्त भएको प्रमाणपत्र नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएपछि पर्यटन र अर्थमन्त्रालयले जहाज खरिद प्रक्रियालाई द्रुत गतिमा अघि बढाएका थिए ।
अनुदानमा जहाज प्राप्त गर्ने तथा ऋण लिनेसम्बन्धी सम्झौता यसै साता हुने जानकारी दिँदै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपाल वायुसेवा निगमको सेवा भरपर्दो बनाउन र उसको गुमेको साख फर्काउन अब सहज हुने बताए । “नागरिक उड्डयनको क्षेत्रमा प्रतिस्पर्धा हुनाका साथै निजी जहाज कम्पनीहरूलाई मौजुदा भाडादरमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना हुनेछ,” सरकारले निगमलाई नयाँ जहाज उपलब्ध गराएपछि बजारमा प्रतिस्पर्धा हुने बताउँदै उनले भने । आन्तरिक पर्यटनका साथै बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले थलिएको राष्ट्रिय ध्वजाबाहकले पुनः गति लिने बताए ।
चीनबाट खरिद गरिने जहाज आगामी ५ महिनासम्ममा ल्याउन मन्त्रालय लागिपरेको सहसचिव अर्यालले बताए । जहाज खरिद आदेश नदिएसम्म प्रक्रिया प्रारम्भ नहुने भन्दै उनले सम्झौता हुने वित्तिकै आवश्यक कार्य तत्काल अघि बढाइने दृढता व्यक्त गरे ।

No comments:

Post a Comment