Wednesday, November 6, 2013

बोझ बन्यो संशोधित मापदण्ड तारे होटललाई

काठमाडौं,२० कात्तिक–  नेपालका विभिन्न स्थानमा सञ्चालनमा रहेका तारे होटलहरुमध्ये ३१ वटा होटलहरु मापदण्ड बाहिर परेका छन् । सरकारले संशोधनसहितको नयाँ मापदण्ड लागु गरेपछि उक्त होटलहरु मापदण्ड बाहिर परेका हुन् । डेढ दशकपछि सरकारले होटल मापदण्ड संशोधन गरी लागु गरेको छ ।

हाल नेपालमा १ सय ५ वटा तारे होटलहरु सञ्चालनमा रहेका छन् । नयाँ मापदण्डअनुसार अधिकांश तारे होटलहरुले सेवा-सुविधाहरु विस्तार गर्नुपर्ने भएपनि ३१ वटा होटलहरुले कोठाहरु समेत थप गर्नुपर्ने भएको छ । मापदण्डअनुसार मुलुकभित्र रहेका १० वटा पाँचतारे होटलमध्ये काठमाडौंमा रहेको होटल मल्ल र पोखरामा रहेको होटल ग्रान्डले कोठासहित सेवा-सुविधाहरु थप्नुपर्ने छ ।
त्यसैगरी, २७ वटा तीनतारे होटलमध्ये १३ वटा, ३५ वटा दुईतारे होटलमध्ये १४ वटा र ३१ वटा एकतारे होटलमध्ये २ वटा मापदण्डबाहिर परेका छन् । मापदण्ड बाहिर परेका यी होटलहरुले पहिलो चरणमा कोठाहरु थप्नुपर्ने भएको छ भने अन्य सेवा सुविधाहरु पनि थप्नुपर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको मापदण्डअनुसार एकतारेमा २०, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा १ सय र पाँचतारे डिलक्समा २ सयवटा सुत्ने कोठा अनिवार्य हुनुपर्नेछ । यसअघि, ०५५ सालमा तोकिएको मादपण्डअनुसार एकतारेमा १५ कोठा, दुईतारेमा २०, तीनतारेमा ३०, चारतारेमा ५० र पाँचतारेमा ७० कोठा भए पुग्थ्यो ।
पाँचतारे होटल हृयात रिजेन्सी, र्‍याडिसन र सोल्टी होटलले नयाँ मापदण्डले तोकेका अधिकांश सर्त पालना गरेका छन् । २ सयभन्दा बढी कोठा भएकाले यी होटलले डिलक्समा स्तरोन्नति पाउने सम्भावना समेत रहेको छ ।

यस्ता हुनुपर्छ सुविधाहरू
नयाँ मापदण्डअनुसार होटलहरुले भौतिक सुविधा, सार्वजनिक क्षेत्र, खाद्यपदार्थ, हाउस किपिङ, सेवाको स्तर, सुत्ने कोठा, पार्किङ, लबी, सुरक्षालगायतमा थप सुविधा दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, सबै तारे होटलमा सुरक्षाका लागि सीसीटीभी हुनुपर्ने, ढोका बन्द विद्युतीय माध्यमबाट हुनुपर्ने, पाँचतारे र डिलक्समा स्पा सुविधा अनिवार्य हुनुपर्ने, डिलक्समा ५ वटासम्म रेस्टुराँ हुनुपर्नेलगायतका सुविधाहरु थप गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । मापदण्डअनुसार एकतारे होटलका कोठा १ सय ६९ वर्ग फिटको हुनुपर्छ । एकतारे होटलमा कम्तीमा २५ वटा गाडी अटाउने पार्किङस्थल हुनुपर्नेछ । पाँचतारे डिलक्समा २ सय ५० वर्गफिट क्षेेत्रफलका कोठा हुनुपर्नेछ । त्यस्तै, जम्मा कोठा क्षमताको २५ प्रतिशतभन्दा बढी सवारी पार्किङ स्थल हुनुपर्नेछ ।

No comments:

Post a Comment