Monday, August 12, 2013

फेरि उप्कियो विमानस्थलको कालोपत्रे,उडान १ घन्टा ठप्प



मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २७ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिग्रिएका कारण विमानस्थलबाट सञ्चालन हुने सबै हवाई उडान प्रभावित भएको छ । धावनमार्गको कालोपत्रे (पिच) उप्किएका कारण आइतबार दिउँसो करिब एक घन्टा आन्तरिक र बाह्य हवाई उडान ठप्प भएको थियो । दिउँसो २.४० देखि पौने ४ बजेसम्म विमानस्थलबाट सञ्चालन हुने आन्तरिक र बाह्य दुवै हवाई उडान ठप्प भएको थियो । जहाज गुड्नै नसक्ने गरी धावन मार्गको ठाउँ–ठाउँमा उप्किएपछि तत्काल टालेर ३.४५ बजेदेखि बल्ल सबै उडान सुरु भएको थियो ।
सो समय विमानस्थलमा अवतरण हुन आएका केही अन्तर्राष्ट्रिय विमानबीच आकासबाटै अन्यत्र डाइभर्ट भएका थिए भने अधिकांश विमान धेरै समय आकासमै होल्ड गर्न बाध्य भएका थिए । यसैगरी त्यस बेला आन्तरिक उडानतर्फका सबै विमानलाई नजिकैको विमानस्थलमा अवतरण गर्न निर्देशन गरिएको थियो । त्यसबेला एयर इन्डिया, एयर अरेबिया, जेट एयरबेजलगायत करिब आधा दर्जन अन्तर्राष्ट्रिय विमान काठमाडौंमा अवतरण गर्न नपाएपछि अन्यत्र डाइभर्ट भएका थिए । केहीले भने धेरैबेर आकासमै जहाज होल्ड गरेका थिए । सो समय आन्तरिक उडानतर्फ बुद्ध, यतीलगायत विभिन्न कम्पनीका हेलिकोप्टर गरी करिब एक दर्जन उडान प्रभावित भएको थियो ।
शनिबार रातभर परेको भारी वर्षाका कारण अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थलभित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किएपछि मर्मत गर्ने क्रममा केही समय हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेश श्रेष्ठले भारी वर्षाका कारण धावनमार्ग बिग्रिएर मर्मत गर्ने क्रममा एक घन्डा उडान प्रभावित भएको बताए । उनले विमानस्थल भित्रको एक मात्र धावनमार्गको एक मिटर लम्बाईको माथिल्लो एक पत्र पिच उप्किएको देखेपछि सुरक्षाको दृष्टिले एक घन्टा सबै उडान बन्द गरी तत्काल मर्मत कार्य सम्पन्न गरेको बताए ।
हरेक वर्ष वर्षात्को समयमा यस्तै समस्या आइपर्ने जानकारी गराउँदै महाप्रबन्धक श्रेष्ठले राजधानीसँग भने, ‘अहिले हामीसँग अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने एउटा मात्र धावनमार्ग भएकाले बिग्रिएको समय कुनै अर्को विकल्प नभएपछि बाध्यवस केही समय उडान रोक्नु परेको हो ।’ उनले अवतरण र उडान गर्ने क्रममा जहाज धावनमार्गमा गुड्दा केही अप्ठ्यारो पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आपूmहरूले सुरक्षाको दृष्टिले केहीबेर नियमित उडान बन्द गरेर बिग्रिएको धावनमार्ग मर्मत गरेको बताए । उनले मर्मतका बेला अन्य कुनै विकल्प भइदिएको भए नियमित उडान प्रभावित नहुने दाबी गरे । 
आइतबार विमानस्थलको अन्तर्राष्ट्रियतर्फको दक्षिणी भागको धावनमार्गको पिच उप्किएको थियो । त्यसबेला आन्तरिक उडानबाट काठमाडौंतर्फ आउँदै गरेका विभिन्न कम्पनीका जहाजलाई पोखरा र विराटनगर डाइभर्ट गरिएको थियो । एक घन्टाको मर्मत कार्य सकिएपछि विमानस्थलका सबै उडान पूर्ण रूपले सञ्चालनमा आएको उनले जानकारी गराए ।
यसअघि पनि धेरै पटक विमानस्थलमा धावनमार्ग भासिने र राडार मेसिन बिग्रिने समस्या थियो । सोही समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन सकेको छैन ।
 यसअघि गत १८ र २१ साउनमा पनि धावनमार्गको पिज उप्किएर करिब एक घन्टासम्म उडान प्रभावित भएको थियो । भारी वर्षा र त्यसपछि चर्को घामसँगै जहाजको घर्षण एवं भार थेग्न नसकेर धावन मार्गको पिच उप्किएको विमानस्थल कार्यालयले बताउँदै आएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक श्रेष्ठले अहिले दैनिक साढे २ सय जहाज अवतरण र उडान हुने बताए । उनले पर्यटकीय मौसममा साना ठूला गरी दैनिक करिब ४ सय उडान अवतरण हुने जानकारी दिए ।

No comments:

Post a Comment