Tuesday, August 6, 2013

विदेशी लगानीकर्तालाई मजदुरको धम्की

नागरिकका अनुसार
काठमाडौं,२२ साउन  –  एमाले मजदुर संगठनले पार्टीका उपल्लो तहका नेताको हवाला दिँदै  राजधानीको लाजिम्पाटस्थित क्यासिनो सांग्रिलाका विदेशी लगानीकर्तालाई 'जे पनि हुन सक्ने' धम्की दिएका छन्। एमाले मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत क्यासिनो सांग्रिलास्थित नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन इकाईले मुख्य लगानीकर्ता डेनियल कङलाई इमेल गरी धम्की दिएको हो। क्यासिनो स्रोतका अनुसार ट्रान्सपोर्ट विभागका कर्मचारी नवराज कार्कीले क्यासिनो गाडीको पेट्रोल चोरी गरेको प्रमाणित भएपछि व्यवस्थापनले उनको वार्षिक पारिश्रमिक वृद्धि (ग्रेड) रोक्न आदेश दिएको थियो। त्यसैको विरुद्ध उत्रिएका कर्मचारी युनियनका अध्यक्ष दिनेश घिमिरेले कार्कीमािथ लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै लगानीकर्तालाई धम्की दिएका हुन्। उनले युनियनसम्बद्ध मजदुर कार्कीलाई गरिएको कारबाही तत्काल फिर्ता गर्न पनि माग गरेका छन्। 
नेपालको राजनीतिक पार्टीहरूलाई दबाउन खोजे कुनै पनि समयमा जे पनि हुन सक्ने भन्दै युनियन अध्यक्ष घिमिरेले क्यासिनोका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका मुख्य लगानीकर्ता कङलाई उनको नेपालभरिको लगानी प्रभावित हुने चेतावनी दिएको उक्त इमेलमा उल्लेख छ।
'अहिले तपाईं के चाहनुहुन्छ? क्यसिनोका निर्देशक बोधविक्रम पाण्डे वा तपाईंको लगानी?,' घिमिरेले धम्कीयुक्त इमेलमा लेखेका छन्, 'तपाईंको प्रतिबद्धता र निर्णयलाई १५ दिन कुर्छु, होइन भने मेरो उपल्लो तहका वरिष्ठ नेताको आदेश पालना गरी उनीहरूको सुझावअनुसार अगाडि बढ्नुपर्छ। सम्भवतः त्यो निर्देशन उपयुक्त हुँदैन।'
क्यासिनोका मलेसियाली लगानीकर्ता कङलाई इमेल गरेर धम्क्याएपछि घटनाले उग्ररूप लिएको हो। इमेलमा घिमिरेले क्यासिनोका निर्देशक पाण्डेलाई १५ दिनभित्र नहटाए 'क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोड इत्यादीलाई बेवास्ता गर्न' उल्लेख गर्दै धम्क्याएका छन्।
'कार्कीलाई कारबाही गरेर तपाईंले निकै ठूलो गल्ती गर्नुभएको छ र त्यसलाई सुधार गर्नुस्,' युनियन अध्यक्ष घिमिरेले प्रमुख कार्यकारी अधिकृत कङलाई लेखेको इमेलमा उल्लेख छ, 'तपाईंसँग अब केवल एकमात्र विकल्प छ। कि क्यासिनोभित्रका सबै परिस्थिति, विवाद, तोडफोडलाई बेवास्ता गर्नुस् वा निर्देशक पाण्डेलाई कामबाट हटाउनुस्।' आफ्नै मजदुरबाट धम्की आएपछि विदेशी लगानीकर्ताले क्यासिनो सांग्रिला नै  बन्द गर्ने चेतावनी दिएका छन्। प्रमुख कार्यकारी अधिकृत कङले क्यासिनो व्यवस्थापनलाई इमेल गरी आवश्यक सावधानी अपनाई धम्कीविरुद्ध प्रहरीमा उजुरी गर्न निर्देशन दिएका छन्।
'हामी धम्कीबाट डराउँदैनौं,' कङले व्यवस्थापनलाई पठाएको इमेलमा उल्लेख छ, 'यदि आवश्यक पर्‍यो भने क्यासिनो नै बन्द गर्छौं।' कङको निर्देशनपछि क्यासिनो व्यवस्थापनले काठमाडौं जिल्ला प्रशासन कार्यालय, बागमती अञ्चल श्रम कार्यालय र श्रम विभागमा धम्कीयुक्त इमेलसहित उजुरी हालेको छ। उक्त धम्कीयुक्त इमेल र कङको निर्देशनको इमेल कपी नागरिकसँग सुरक्षित छ।
'अनियमितता गरेका मजदुरलाई कारबाही गरिएको हो र यो फिर्ता पनि हुँदैन,' क्यासिनो व्यवस्थापनका एक अधिकारीले  भने, 'यदि फिर्ता गर्नैपर्ने अवस्था आयो भने क्यासिनो नै बन्द गर्छौं।'
उता मजदुर युनियनले पनि 'कङलाई पठाएको इमेल र त्यसमा क्यासिनो बन्द गरिदिन्छु भनी फैलाइएको हल्ला झुठो हो र अनावश्यक हल्लाको पछाडि नलाग्न' सम्पूर्ण कर्मचारी–मजदुरलाई आग्रह गरेको सूचना प्रकाशित गरेको थियो।
यसअघि २०६८ पुस दोस्रो साता पनि माओवादी मजदुरको विवादपछि क्यासिनो सांग्रिला बन्द भएको थियो। यो क्यासिनोमा मलेसियाली कम्पनी गोल्ड सोरको सतप्रतिशत (३० करोड रुपैयाँ) लगानी रहेको छ।
काम गरिरहेका मजदुरहरूको 'अनुशासनहीन व्यवहार तथा विकृति र विसंगति झेल्न नसक्ने' भन्दै मलेसियाली कम्पनीले क्यासिनो औपचारिक रूपमा बन्द गर्ने घोषणा गरेको थियो। माओवादी र एमाले निकट मजदुर विवादका कारण बन्द रहेको क्यासिनो सांग्रिला माघ दोस्रो साताबाट पुनः सञ्चालनमा आएको थियो। माओवादी, एमाले र कांग्रेस निकट मजदुरले व्यवस्थापनद्वारा प्रस्तुत सबै १४ सर्त मान्न तयार रहेको भन्दै हस्ताक्षर गरेपछि क्यासिनो पुनः खुलेको थियो।

No comments:

Post a Comment