Tuesday, August 13, 2013

४५ मिनेट जहाज होल्ड गर्दा एकपटकमा ४ लाख ९० हजार घाटा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २९ साउन
विभिन्न कम्पनीका वायुसेवा सञ्चालकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नपाएको जहाज ४५ मिनेट आकासमा होल्ड गर्नुपर्दा एकपटकमा ४ लाख ९० हजार रुपैयाँसम्मको अनावस्यक घाटा बेहोर्नुपरेको बताएका छन । उनीहरुले अहिले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिग्रिएका कारण दैनिकजसो मर्मत गर्न भन्दै गरिएको उडान अवरोधले ४५ मिनेटसम्म जहाज आकसमै होल्ड गर्नुपर्दा एकपटकमा नै यतिधेरै अनावस्यक घाटा बेहोर्नुपरेको बताएका हुन ।
हरेक वर्ष बर्षाद्को समय अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थल भित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किने र भासिने क्रम बढेपछि मर्मत गर्ने क्रममा आन्तरिक र बाह्य उडान ठप्प हुनुकासाथै विभिन्न गन्तब्यबाट आउँदै गरेका जहाजलाई धेरै समय आकासमै होल्ड गर्नुपरेकाले आफुहरुले अनावस्यक ठुलो घाटा बेहोर्नुपरेको उनीहरुको गुनासो छ ।
वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) का महासचिव एवं फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले विभिन्न गन्तव्यबाट विमानस्थलमा ल्याण्ड गर्न आउँदैगरेको ठुला बोइङ जहाजलाई ४५ मिनेट आकासमा होल्ड गर्दा ४ लाख ९० हजार रुपैयाँ (५ हजार डलर) को थप इन्धन खर्च हुने बताए । यसैगरि आन्तरिक उडानमा सञ्चालित १६ र १७ सिट क्षमताको डोर्नियर जहाज ४५ मिनेटसम्म आकासमा होल्ड गर्नुपर्दा १ लाख १७ हजार ६ सय रुपैयाँ ( १२ सय डलर) बढी खर्च हुने जानकारी गराउँदै पाण्डेले भने, ‘ डाइभर्ट गर्नुपर्दाको खर्च धेरै बढी छ ’ । उनले सो बढी खर्च तोकिएको नियमित समय भन्दा धेरै समय उड्दा इन्धन र अप्रेशन कस्टबापतको भएको बताए । लामो समयसम्म विमानस्थलमा समस्या भएको बेला आन्तरिक उडानमा सञ्चालित अधिकाँश जहाज जुन ठाउँबाट आएको हो सोही तर्फ डाइभर्ट हुने गरेको बताउँदै उनले ठुलो जहाज एकपटक डाइभर्ट हुँदा सास्ती निकै गम्भिर प्रकृतिको हुने जानकारी दिए । अवतरण गर्न आएको जहाज एक्कासी धेरैबेर आकासमै होल्ड गर्नु पर्दाको अवस्था र अन्य ठाउँमा अवतरण गर्न फर्किनुपर्दा बेहोनुपर्ने आर्थिक घाटा भन्दा विमानभित्रका यात्रुले भोग्नुपरेको त्रास थप जटिल हुने उनले बताए ।  उनले विमानस्थलभित्र बारम्बार भइरहने यस्ता उडान प्रभावित हुने घटनाप्रति सम्बन्धीत निकाएले बेलैमा  दिर्घकालिन सुधारको उपाए नअपनाए विभिन्न मुलुकबाट नेपाल उडान भर्न आएका जहाज पुनः उतै जानसक्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलभित्रको यस्ता गतिविधीले आन्तरिक उडान भर्दै आएका विभिन्न कम्पनीका विमानले पनि अनावस्यक धेरै घाटा बेहोदै आइरहेको बताए । 
मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्स को नेपाल स्थित आधिकारीक जिएसए इन्सेन्टीभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यÔ हरिमान लामाले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विग्रिएर पटक पटक जहाज अकासमा होल्ड गर्नु र अन्य ठाउँमा डाइभर्ट गर्नुपर्ने बाध्यात्मक अवस्था एकदमै दुःखद भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानमा सञ्चालित जहाजको उड्ने र अवतरण गर्ने समय निश्चित हुन्छ । जस्तोसुकै परिस्थितीमा पनि उनीहरुले आफ्नो नियमित उडान समय तलमाथी गर्न चाँहदैनन भन्दै उनले विमानस्थलको धावनमार्ग बिग्रिनुसँग मुलुककै प्रतिष्ठा गाँसिएको बताए ।  आइतबार र सोमबार धावन मार्गको कालोपत्रे (पिच) मर्मत गर्ने समय एयर एसियाको विमानलाई कुनै असर नपरेपनि अन्यले भोग्नुपरेको सास्ती एकदमै जटिल भएको बताए । सो समस्या समाधानको  दिर्घकालिन उपाए अपनाउन नागरिक उड्डयन प्राधिकरण र सरकारले तत्काल प्रयास थाल्नुपर्ने उनको भनाई छ । अहिलेसम्म धेरै पटक विमानस्थलमा धावनमार्ग भासिने, कालोपत्रे उप्कीने र राडार मेसिन बिग्रिने लगायतका समस्या समाधान हुनुको सट्टा झन थपिने क्रम जारी छ । त्यस्ता समस्यालाई तत्काल सुधार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए पनि अझैसम्म विमानस्थलमा सुधार हुन नसकेको उनीहरुको भनाई छ । विमानस्थल कार्यालयले वर्षाका कारण अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण गर्ने विमानस्थलभित्रको एक मात्र धावनमार्गको कालोपत्रे उप्किएपछि मर्मत गर्ने क्रममा केही समय हवाई उडान प्रभावित भएको बताउँदै आएको छ ।

No comments:

Post a Comment