Tuesday, August 6, 2013

प्राधिकरणले दोब्बर बढायो ल्याण्डिङ, पार्किङ, ग्राउण्ड ह्याण्डलिङ शुल्क, सेवा बन्द गर्ने एयरलाइन्स अपरेटरको धम्की

काठमाडौं,२२ साउन  – नेपालको अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ, ग्राउण्ड ह्याण्डलिङ र नेभिगेसन यसै महँगो छ, नेपाल नागरिक उडड्यन प्राधिकरणले त्यस्तो शुल्क कम गर्ने त परै जाओस्, अन्तराष्ट्रिय विमान कम्पनीलाई थप भार थप्ने गरी बढाउने निर्णय गरेको छ । भाडा बढाउने प्राधिकरणको निर्णयको नेपालमा उडान भर्ने अन्तराष्ट्रि«य विमान कम्पनीले कडा विरोध गरेका छन् ।
प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको रोयल्टी बढाउने सहित विभिन्न दुई दर्जन शीर्षकमा भाडा वृद्धि गरेको छ । नागरिक उडड्यन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ लगायतका शुल्क वृद्धिको प्रस्ताव नेपाल वायु सेवा निगम र अन्य एयरलाइन्सलाई पठाइसकेको छ । जसअनुसार प्राधिकरणले नेपाल वायु सेवा निगमसँग ग्राण्ड ह्याण्डलिङको आम्दानीमा १५ प्रतिशत रोयल्टी मागेको छ । यसअघि यस्तो आम्दानीको दश प्रतिशत रोयल्टी मात्रै बुझाए पुग्थ्यो । नेपालमा थाई एयर र एयर इण्डियाले आफै ग्राउण्ड ह्याण्डलिङ गर्छन भने अन्य विमानका लागि नेपाल वायु सेवा निगमले ह्याण्डलिङ गर्दै आएको छ ।
निगमले अहिले प्रति विमान २४ सयदेखि ३२ सय डलरसम्म ग्राउण्ड ह्याण्डलिङ शुल्क लिन्छ । यस्तो शुल्कको रोयल्टी वापत अहिले दश प्रतिशत नागरिक उडड्यन प्राधिकरणको खातामा जान्छ, अब त्यो हिस्सा नागरिक उडड्यन प्राधिकरणले १५ प्रतिशत पुर्याएको छ ।
बढेको रोयल्टी निगमले पक्कै पनि व्योहोर्ने छैन्, त्यो एयरलाइन्सलाई पास गर्नेछ, त्यसो हुँदा नेपालमा उडान भर्नु अन्तराष्ट्रिय विमान कम्पनीका लागि थप महँगो हुनेछ, एक एयरलाइन्स अपरेटरले भने । पाँच महिना अघि मात्रै पार्किङ, नेभिगेशन र ग्राउण्ड ह्याण्डलिङ लगायत शुल्क महँगो भएको भन्दै गल्फ एयरले आफ्नो नेपाल उडान बन्द गर्यो, प्राधिकरणको यस्तै रवैया रहने हो भने अन्य एयरलाइन्स पनि उडान बन्द गर्न बाध्य हुनुपर्दछ, एक एयरलाइन्सका नेपाल प्रतिनिधीले भने ।
अहिले नेपालमा २७ विमान कम्पनीले दैनिक औषत ४० उडान भर्ने गरेका छन्, यसबाट आर्थिक वर्ष २०६७÷६८ मा नागरिक उडड्यन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङको रोयल्टी मात्रै १८ करोड ५० लाख रुपैयाँ प्राप्त गर्यो । यसको अर्थ नेपाल वायु सेवा निगमले मात्रै ग्राउण्ड ह्याण्डलिङ गरेर एक अर्ब ८० करोड रुपैयाँको कारोवार गर्यो ।
प्राधिकरणले सिआईपी कोठा प्रतिव्याक्तिले प्रतिघण्टा प्रयोग गरेवापत दुई सय रुपैयाँबाट बढाएर चार सय रुपैयाँ पुर्याएको छ । त्यसैगरी विमानस्थलमा कार्यालय कोठाको भाडा प्रतिस्क्वायर मिटर पाँच सय रुपैयाँबाट ६० प्रतिशत बढाएर आठ सय रुपैयाँ बनाएको छ । एयरक्राफ्त पार्किङका गर्दा प्रति स्क्वायर मिटर प्रतिमहिनाको भाडा दुई सय रुपैयाँबाट तीन सय पुर्याएको छ, व्यापरिक उद्देश्यका लागि प्रतिस्क्वायर मिटर प्रतिवर्ष भाडा तीन सयबाट शतप्रतिशत बढाएर छ सय रुपैयाँ पुर्याएको छ ।
त्यसैगरी प्राधिकरणले ह्यांगर निर्माण क्षेत्र प्रतिस्क्वायर मिटर प्रति महिना १७५ बाट २५० रुपैयाँ, पार्किङ यार्डमा ग्राउण्ड ह्याण्डलिङ साधनको प्रतिस्क्वायर मिटर प्रतिवर्ष तीन सय रुपैयाँबाट दश हजार प्रतिशत बढाएर तीस हजार रुपैयाँ पुर्याएको छ ।
निगमले व्यागेज स्क्रिनिङमा १५ प्रतिशत रोयल्टी, विमान कम्पनीको अतिरिक्त व्यागेज आम्दानीमा १५ प्रतिशत रोयल्टी, एक विमान कम्पनीले अन्य विमान कम्पनीलाई प्रदान गरेको सेवावापतको आम्दानीमा १५ प्रतिशत रोयल्टी, मेट्रोलोजीका लागि प्रति विमान १५ अमेरिकी डलरको शुल्क लगाउने नयाँ प्रावधान पनि थपेको छ ।
इन्टर्नमा आउने विद्यार्थीसँग शुल्क लिने, सेमिनार हल प्रयोग गरेवापत प्रति छ घण्टाको तीन हजार शुल्क लिने निर्णय पनि गरेको छ । त्यसैगरी विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रतिपासको शुल्क पनि ५६५ रुपैयाँबाट बढाएर ११३० रुपैयाँ पुर्याउने निर्णय प्राधिकरणले गरेको छ ।
बहाल शुल्क पनि बढ्यो
प्राधिकरणले अन्तराष्ट्रिय विमान कम्पनीलाई पत्राचार गर्दै टर्मिनल भवनको प्रस्थानतर्फको चेक इन एरियामा विभिन्न प्रयोजनका लागि लिएको कोठाको बहाल प्रतिवर्गमिटर आठ सय रुपैयाँबाट बढाएर १८ सय रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
प्राधिकरणले भाडा १२५ प्रतिशतले बढाएको हो । अहिले औषतमा एक विमान कम्पनीले सय वर्गफिट स्थान प्रयोग गर्छन्, त्यसका लागि कम्पनीले प्रतिवर्ष नेपाल नागरिक उडड्यन प्राधिकरणलाई २१ लाख ६० हजार रुपैयाँ बुझाउनुपर्दछ । यस्तो शुल्क पनि प्राधिकरणलाई अग्रिम बुझाउन पत्राचार गरिएको छ ।
बढेको शुल्कपछि नेपालमा विमान सञ्चालन गर्न नसकिने भन्दै सोमवार बोर्ड अफ एयरलाइन्सको टोली नागरिक उडड्यन प्राधिकरण पुगेको थियो । नेपालमा सेवा सञ्चालन गर्ने २७ वटै विमान कम्पनीका नेपाल प्रमुखले भाडाको वृद्धि पाँच÷दश प्रतिशतले गर्न सुझाएका थिए तर विमानस्थल सञ्चालन गर्ने प्राधिकरणले दश वर्षपछि भाडा बढेको भन्दै त्यसमा पुर्नविचार हुन नसक्ने अडान राखेका थिए ।
६५ लाखको गलपासो
विमान कम्पनीलाई नागरिक उडड्यन प्राधिकरणले ६५ लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने अर्को गलपासो पनि थपिदिएको छ । नेपालमा सेवा सञ्चालन गर्ने किंगफिशर एयरलाइन्सले अनपेक्षित सेवा बन्द गरेर ल्याण्डिङ, पार्किङ र नेभिगेसनको शुल्क नबुझाएपछि प्राधिकरणले सबै अन्तराष्ट्रिय विमान कम्पनीलाई ६५ लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको हो ।
यस अघि कम्पनीहरुले हरेक १५ दिनमा प्राधिकरणमा उठेको शुल्क बुझाउँदै आएका थिए, अहिले नगद धरौटीबाट रकम काटिंदै जाने र १५ दिनपछि फेरी ६५ लाख रुपैयाँ नगद धरौटी पुर्याउनुपर्ने व्यवस्था गरिएको हो । यो व्यवस्थाको समेत विमान कम्पनीले विरोध गर्दै आएका छन् ।


No comments:

Post a Comment