Tuesday, August 20, 2013

अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरणमा रोक

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३ भदौ
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज (वाइड बडी) अवतरणमा रोक लगाएको छ । विमानस्थल धावनमार्गको पिच धमाधम उप्किएर विमान अवतरण नै प्रभावित हुन थालेपछि प्राधिकरणले आन्तरिक सुरक्षाको कारण देखाउँदै अवतरणमा रोक लगाएको हो । विमानस्थलको धावन मार्ग अति जीर्ण भएपछि प्राधिकरणले अन्तिम विकल्प भन्दै अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई ठूला जहाज नल्याउन पत्राचार गरिसकेको छ । प्राधिकरणका अनुसार यसै सातादेखि सबै ठूला जहाज धावन मार्ग पूर्ण रूपमा नबनेसम्म अवतरण र उडानमा रोक लगाइने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बुकिङ भइसकेकाको उडान भरिसकेपछि सञ्चालनमा पूर्ण रोक लगाइने बताए । ‘बुकिङ भइसकेकाबाहेक आगामी १५ सेप्टेम्बरसम्मका लागि बढी भार भएका बोइङ ७७७ र एयरबस ३३० जस्ता ठूला जहाज नल्याइदिन विदेशी कम्पनीलाई आग्रह गरेका छौं,’ उनले भने । उनका अनुसार नेपाल उडान भर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई गत शुक्रबार नै पत्र पठाएर यस्तो आग्रह गरिएको हो ।
विदेशी कम्पनीहरूलाई केही समयसम्म साना र मध्यम खालका जहाजबाट मात्र उडान भर्न आग्रह गरेको बताउँदै उनले भने, ‘प्राधिकरणले हाल सञ्चालित बोइङतर्फ ७३७ र एयरबस ३२० सम्मका जहाजबाट मात्र यात्रु ओसार्न सबै विमान कम्पनीलाई निर्देशन गरेको छ ।’ उनले धावन मार्गमा समस्या देखिएकाले मात्र विदेशी विमान कम्पनीलाई सकेसम्म ठूला जहाज अवतरण नगरिदिन आग्रह गरेको बताए । वर्षात्को मौसममा धेरै पटक धावन मार्गको कालोपत्रे (पिच) उप्किने समस्याबाट मुक्त हुनका लागि प्राधिकरणले केही समयका लागि यस्तो उपाय अपनाएको हो ।
यसबीचमा विमानस्थल व्यवस्थापनले धावन मार्ग मर्मत गर्नेछ । सातामै पाँच पटकसम्म धावन मार्गको पिच उप्किएर हैरानी खेप्दै आएको प्राधिकरणले अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ठूला जहाज अवतरण नगरिदिन पत्राचार गरेपछि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल केही समय ठूला जहाजविहीन हुनेछ । धावन मार्गको भारभन्दा विमानको भार बढी भएका कारण धावन मार्गमा बारम्बार समस्या आएको प्राधिकरणको दाबी छ ।
प्राधिकरणका अनुसार हाल त्रिवि विमानस्थलमा २ सय ९९ टन सम्मका विमान अवतरण गरिरहेका छन् । जबकि, धावन मार्ग र ट्याक्सी वे (क्षणिक पार्किङ) को कुल क्षमताले भने १ सय ९६ टन मात्र धान्न सक्छ । प्राधिकरणको सो निर्णयले हाल नेपालको उडान भर्दै आएका विभिन्न २७ ओटा विमान कम्पनीमध्ये एयर एसिया, कतार एयरलाइन्स, थाई एयरवेज, कोरियन एयर र ड्रागन एयरलगायतका जहाजको उडानलाई असर पर्न सक्ने सरोकारवालाहरू बताउँछन् । धावन मार्ग जीर्ण भई मर्मत गर्ने बहानामा एक्कासि गरिएको प्राधिकरणको सो निर्णयले अब काठमाडौंबाट वैदेशिक रोजगारीमा जानेहरूलाई समेत असर पुग्नेछ । विमानस्थलको धावन मार्ग सन् १९६७ मा निर्माण भएपछि हालसम्म टालटुलमै चल्दै आएको छ । सन् २०१० मा २७ करोड रूपैयाँको लगानीमा पुनर्निर्माण भएकोमा तीन वर्ष पनि टिक्न सकेन ।
विमानस्थल कार्यालयका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठ धावन मार्गमा पानीको बहाव बढी भएका कारण पटक–पटक समस्या आउने गरेको बताउछन् । करिब ४ दशक पुरानो धावन मार्ग बोइङ ७५७ सम्मको जहाजका लागि बनाइएको थियो । त्यति बेला अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको उडान र अवतरण दैनिक सात÷आठ मात्र हुन्थ्यो । अहिले यस विमानस्थलमा दैनिक करिब ३ सय जहाज ओहोरदोहोर गर्छन्, त्यसैले यस्तो समस्या देखिएको विमानस्थल कार्यालयको भनाइ छ ।

No comments:

Post a Comment